कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मिल चल्ने भएपछि किसान खुसी

ओमप्रकाश ठाकुर

सर्लाही — चिनी उद्योगी र किसानका प्रतिनिधिबीच दुई दिनभित्र चिनी उद्योग सञ्चालन गर्ने सहमतिपछि सर्लाहीका किसान खुसी भएका छन् ।

बुधबार साँझ महोत्तरीको बर्दिबासमा भएको वार्तामा सरकारले यस वर्षका लागि तोकेको न्यूनतम मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसामा उखु क्रसिङ सुरु गर्ने सहमति भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।


उद्योगीहरूले यसभन्दा अघि सरकारले निर्धारण गरेको मूल्यमा उखु खरिद गर्न नसक्ने भन्दै उद्योग चलाउन मानेका थिएनन् ।

वार्तामा उद्योगको गोदाममा थन्केर रहेको चिनी नेपाल सरकारलाई खरिद गर्न आग्रह गर्न सहमति समेत भएको महासंघका अध्यक्ष मैनालीले बताए । ‘सरकारले तोकेको मूल्यमा उद्योगपतिले असहमति जनाउँदै आएको थियो । जसका कारण समयमा मिल सञ्चालन हुन सकेको थिएन, मिल सञ्चालन नहुँदा किसानको उखु सुक्दै गएको थियो,’ मैनालीले भने, ‘उद्योगपतिको विभिन्न बहानाका बीच हाम्रो निरन्तरको प्रयासले उद्योग सञ्चालनका लागि उद्योगपति सहमत भएका छन्, उद्योगमा थन्केको चिनी पनि बिक्रीका लागि सरकारसँग आग्रह गर्ने सहमति भएको छ ।’


समयमा उद्योग नचल्दा किसानको उखु खेतमै सुक्न थालेको थियो । मेहनत गरेर हुर्काएको उखु खेतमै सुक्न थाल्दा किसान चिन्तित बन्दै आएका थिए । कतिपय किसान उखु सुक्न थालेको भन्दै सरकारले तोकेको मूल्यको आधाभन्दा कम मूल्यमै सक्खर बनाउने क्रसर उद्योगमा उखु बेच्दै आएका छन् । ‘ढिलै भए पनि चिनी उद्योगीले उद्योग सञ्चालन गर्न सहमत भएका छन्, यो हाम्रा लागि खुसीको कुरो हो, पिपरियाका किसान कृष्णकान्त झाले भने, ‘यस वर्ष समयमा उद्योग नचल्दा हाम्रो करिव चालीस प्रतिशतभन्दा बढी उखु सुकेर खेर गइसकेको छ ।’


पुस सकिन लाग्दा समेत उद्योग सञ्चालनमा नआउँदा उखु सुक्न लागेकाले किसान अतालिन थालेका किसान नेताहरूले बताउँदै आएका छन् । उद्योगीहरूको विभिन्न बहानाबाजीका कारण यो अवस्था आएको किसानहरूको दु:खेसो छ । उनीहरूले सरकारी अनुदान पनि पाउन नसकेको गुनासो गरिरहेका छन् ।


सर्लाहीका उखु किसानले अझै पनि गत वर्ष उद्योगमा उखु बिक्री गरेबापत सरकारले दिने अनुदान करिव २६ करोड पाउन सकेका छैनन् । किसानका लागि आएको रकम केलेनिकाको खातामा थन्केको छ । दु:ख गरेर उत्पादन गरेको उखुको मूल्य तय गर्न, बिक्री भएको मूल्य उद्योगसँग लिन पछिल्लो समय किसानले धर्ना बस्नुपर्ने, सडक अवरुद्ध गर्नुपर्ने र बारम्बार सरकारलाई घच्घच्याउनुपर्ने अवस्था आएको किसानको गुनासो छ ।

प्रकाशित : पुस २७, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?