बचत सिक्दै बालबालिका

बाल बचत खुत्रुके योजनाअन्तर्गत सहकारीले यस क्षेत्रका ३ सय अभिभावकलाई खुत्रुके प्रदान
कान्तिपुर संवाददाता

रौतहट — दस वर्षीया यी बालिका विद्यालयबाट घर आउनासाथ खुत्रुकेमा पैसा जम्मा गरेको छ/छैन सोध्छन् । छैन भने बुवालाई सम्झाउँछिन् । बचत गर्न लगाउँछिन् । यही बानीले १० वर्षीया निकिशा पुलामी नियमित बचतकर्ताका रूपमा सम्मानित भइन् ।

रौतहटको चन्द्रपुर २ स्थित जुडिबेलाकी १० वर्षीया निकिशा पुलामी चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दसौं साधारणसभामा सम्मानित हुँदै । तस्बिर : शिव/कान्तिपुर 

चन्द्रपुर २ जुडिबेलाकी पुलामीले दुई वर्षदेखि नियमित खुत्रुकेमा बचत गरिरहेकी छन् । बुवा छविले खाजा र अन्य कामका लागि दिने खर्च बचाएर उनले बचत गर्दै आएकी हुन् । उनी स्थानीय चन्द्रोदय बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत छन् । अहिले उनको खुत्रुकेमा ३५ हजार बढी जम्मा भइसकेको छ । यो रकम उनकै नामको बचत खातामा जम्मागरिएको छ ।

चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले प्रदान गरेको बाल बचत खुत्रुके योजनाअन्तर्गत निकिसाले रकम जम्मा गर्न थालेकी हुन् । दसैं तिहार पर्वमा उनले अभिभावकबाट पाएको ३ सय रुपैयाँ पनि खुत्रुकेमै हालिन् । ‘छोरीको बचत गर्ने शैली देखेर अचम्म लाग्छ,’ बुवा छवि भन्छन्, ‘सानैदेखि बचत गर्ने बानी बसेको छ । यसले अभिभावकलाई प्रेरणा मिलेको छ ।’

बाल बचत खुत्रुके योजनाअन्तर्गत सहकारीले यस क्षेत्रका ३ सय अभिभावकलाई खुत्रुके प्रदान गरेको छ । तीमध्ये उत्कृष्ट बचतकर्ताका रूपमा निकिशा सम्मानित भएकी हुन् । सहकारी संस्थाको दसौं वार्षिक साधारणसभामा निकिशालाई सम्मान गरिएको हो । बालिका सम्मानित भएको देखेर कार्यक्रममा सबै चकित भए । सानै उमेरमा बचत गर्ने शैलीको सबैले प्रशंसा गरे ।

उनका बुवा छविले दिनको ५० रुपैयाँका दरले छोरीलाई पैसा दिन्छन् । त्यही पैसा निकिशाले खुत्रुकेमा बचत गर्छिन् । यसको अलावा खाजा र अन्य खर्चका लागि दिइने रकम समेत उनले खुत्रुकेमा हाल्छिन् । संस्थाले प्रत्येक महिनाको अन्तिम दिन खुत्रुके मगाएर अभिभावककै रोहबरमा फुटाउँछन् । त्यही रकम खातामा जम्मा गरिदिन्छन् ।

दस हजार पुगेपछि बचतकर्तालाई उपहार स्वरूप जन्मदिनमा केक वा अन्य सामान दिने गरेको संहकारी संस्थाका उपाध्यक्ष बसन्त आचार्यले बताए । ‘बचत गर्ने बानीले धेरै परिवर्तन ल्याएको छ,’ उनले भने, ‘बालबालीकाहरूमा फाजुल खर्च कम गराई बचत गर्ने बानी हुँदै गएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

प्रकाशित : पुस २८, २०७५ ०८:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

व्यवस्था फेरियो, अवस्था उस्तै

कार्यालयमा कर्मचारी बस्दैनन्, जनप्रतिनिधि भेट्न गाह्रो
स्थानीय निराश हुँदै बसाइँ सर्ने मनस्थितिमा
डिल्लीराम खतिवडा

उदयपुर — बिजुली, बाटो, खानेपानी अभाव छ । गाउँपालिकामा विषयगत कर्मचारी छैनन् । सानो कामका लागि पनि कर्मचारी र जनप्रतिनिधि भेट्न गाउँलेलाई हम्मे पर्ने गरेको छ । कर्मचारी भेटिए, जनप्रतिनिधि भेटिँदैनन् । जनप्रतिनिधिलाई भेटे कर्मचारीको पत्तो हुँदैन ।

उदयपुरगढी गाउँपालिकाको केन्द्र उदयपुरगढी ।तस्बिर : डिल्लीराम/कान्तिपुर 

गाउँमा विकासका काम होला कि भन्ने सर्वसाधारण निराश हुन थालेका छन् । विकास गर्लान् कि भनेर चुनेका जनप्रतिनिधि समेत कार्यालय नबस्दा उदयपुरगढी गाउँपालिकामा यस्तो अवस्था देखिएको हो ।

गाउँपालिकको केन्द्र ऐतिहासिक स्थान उदयपुरगढी हो । गाउँपालिकको नाम पनि केन्द्र रहेको स्थानसँगै मिल्ने गरी राखिएको छ । जिल्लाकै पुरानो सदरमुकामसमेत रहेको सेन वंशीय राजाले राज्य गरेको गढीमा रहेको केन्द्रमा खानेपानी छ । व्यवस्थित भने छैन । वितरण लाइनमा समस्या आएर एकपटक बिग्रियो भने साता दिनसम्म पानी आउँदैन ।

निर्माणाधीन धरान–चतरा–हेटौंडा सडक योजना (मदन भण्डारी लोकमार्ग) बाट ८ किलोमिटर दूरीमा रहेको गाउँपालिका केन्द्र उदपुरगढीको सडक अव्यवस्थित छ । ८ किलोमिटर सडक छिचोल्न झन्डै डेढ घण्टा लाग्ने गरेको छ । केन्द्रमा बैक नहुँदा गाउँपालिका कार्यालयमा हुने आर्थिक कारोबारका लागि नेपालटार बजार पुग्नुपर्छ । ग्रामीण विद्युतीकरणका लागि भन्दै सर्वसाधारणले समेत करिव २ करोड रुपैयाँ जम्मा गरेको वर्ष दिन बितिसक्यो । गाँउपालिकाले सवै वडाका सबै घरमा बिजुली पुर्‍याउने लक्ष्यसाथ ६० करोड रुपैयाँको योजना अघि सारिएको छ ।

यसको काम भइरहे पनि विभिन्न बहानामा काम ठेकेदारले काममा ढिलाइ गरिरहेको स्थानीयको भनाइ छ । वडा कार्यालयमा वडाध्यक्ष बस्दैनन् । गाउँपालिकामा विषयगत कार्यालयका कर्मचारी बस्दैनन् । कर्मचारी र जनप्रतिनिधि नबस्दा कुनै काम गर्नुपरे समस्या पर्ने गरेको स्थानीय नन्दीमाया मगरले बताइन् । ‘कर्मचारी हुँदा वडाध्यक्ष हँुदैनन्,’ नन्दिमायाले भनिन्, ‘नागरिकताको सिफारिस लिन पनि ५ दिन कुर्नुपर्छ ।’

आधारभूत आवश्यकताका कुरामा लगानी भए पनि भरपर्दो सेवा पाउन नसकेको स्थानीयको भनाइ छ । ‘बिजुली, पानी, बैंक, बाटोका लागि वर्षौंदेखि लगानी भइरहेको छ,’ स्थानीय दीपक रोक्काले भने, ‘अहिलेसम्म केही भएको छैन, वर्षौंदेखि अवस्था ज्यूँकात्युँ छ ।’ बाटोको ट्रयाक खुल्यो, पानी पनि ल्याइयो, बिजुली खम्बा गाढेर तार लगाइएको छ तर व्यवस्थित हुन नसकेको उनले बताए ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासमा सहज होला भन्ने सर्वसाधारणमा आस लागेको थियो । तर डेढ वर्ष वितिसक्दा पनि सोचे जस्तो नहुँदा सर्वासाधारण निरास भएको रोक्काले बताए । ‘गाँउपालिको केन्द्रमै सुविधा छैन, अन्यत्रको अवस्था कस्तो हो ?’ रोक्काले भने, ‘स्थानीय अभावै अभावमा जिउने बानी परेकाले अहिले पनि अभावमै गुज्रिरहेका छन् ।’

सेवा सुविधाका र विकासका दृष्टिकोणले गाविसभन्दा खासै केही परिर्वतन भएन,’ अर्का स्थानीय दिनेश धमलाले भने, ‘अभावमै बाँच्ने बानी परेकाले होल अहिले पनि स्थानीय त्यसैमा रमाइरहेका छन् ।’ भएन गरेनन् भनेर छटपटाए पनि नहुँदो रहेछ, त्यसैले स्वच्छ पिउने पानी नहुँदा पनि सन्तोस गरेर बाँच्नु शिवाय केही छैन उदयपुरगढीका सर्वसाधारणको उनले बताए ।

गाउँपालिकाले भने काम भइरहेको बिजुली, बाटो र पानीका लागि काम भइरहेको जनाएको छ । सडकको स्तरोन्नतिका लागि ग्रामीण सडक सुदृढीकरण परियोजनाले काम गरिहेको छ । खानेपानीका लागि स्थानीय तह हुनुु अगावै सुरु भएको ४ करोड लागतको योजनाको काम भइरहेको छ ।

खानेपानीकै लागि लिफट खानेपानीका लागि २१ लाख बजेट विनियोज गरिएको । बिजुलीका लागि गाउँपालिकाभरि नै विस्तार गर्ने गरी ठेक्का बन्दोबस्ती गरेर काम भइरहेको छ । ‘सवै कुरा भइरहेको छ,’ गाउँपालिका प्रमुख मानबहादुर केप्छाकीमगरले भने, ‘जादुको छडी त होइन नि विकास हुँदैछ ।’ तर पनि समस्या आइरहेको उनले बताए ।

गाउँपालिकामा विषयगत कार्यालयका कर्मचारी बसिरहेका प्रमुख केप्छाकीमगरले दाबी गरे । ‘तर समस्या भने छ,’ प्रमुख केप्छाकीमगरले भने, ‘वडाध्यक्ष घरमा बसेका छैनन्, काम गरिहरेका छन् ।’ कार्यालयमा नभेटनु भनेको जनाताका लागि विभिन्न काम गरिहरेको उनले बताए ।

गाउँपलिका केन्द्र रहेको उदयपुरगढी ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले जिल्लाको धेरैमध्ये राम्रो स्थान हो । गढीबाट हिमालदेखि तराईको फाँट अवलोलक गर्न सकिन्छ । तर तराईको फाँटमा बगेको पानी हेरेर प्यास मेटाउनु र हिमाल हेरेर गुजारा गर्न नसकिने सर्वसाधारण बताउँछन् ।

‘सप्तकोसीमा बगेको पानी रसुनसरीमा बलेको बिजुली हेरेर गढीवासीलाई राहत हुँदो रहेनछ,’ स्थानीयले एकै स्वारमा भने, ‘बाटो, बिजुली र पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहले समयमै काम गर्दिने हो भने स्थानीयले थातथाले छोडनु पर्ने थिएन ।’ यस्तै अवस्था रहे र अभाव थपिँदै गएको हिमाल र तराईको समथर भूभाग हेरेर गुजारा गर्न नसकिने भएकाले बसाइँसराइको विकल्प नरहेकोस्थानीयले बताए ।

प्रकाशित : पुस २८, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT