कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडक अतिक्रमण गरी गोठ

शिव पुरी

रौतहट — गौर–चन्द्रनिगाहपुर सडक खण्डको पडोरिया क्षेत्रमा सडककै आडमा स्थानीयले पशु गोठ बनाएका छन् । पहिला त्यतिकै बाँधेर राख्थे । अहिले छाप्रो हालेर गोठ नै निर्माण गरेका छन् ।

सडक अतिक्रमण गरी गोठ

चन्द्रपुर १० को पडोरिया राजमार्गको सडक पेटीमै स्थानीयले पशु बाँध्न गोठ बनाएका हुन् । उनीहरूले त्यही पशुलाई बाँधेर घाँस खुवाउँछन् । केहीले परालको टाली राखेका छन् । स्थानीय झगरु चौधरीले पशु बाँध्ने गोठ बनाएका हुन् । उनको घर सडक छेउमा छ । घर अगाडि सडकको आडमा उनले निर्वाध रूपमा गोठ बनाएका हुन् । यसले सवारी आवागमनलाई समस्या हुँदै आएको छ ।


लामो समयदेखि गौर खण्डको सडक अतिक्रमण बढेको छ । यो खण्डको दुबैतर्फ स्थानीयले पशु बाँध्ने, परालका टाल राख्ने र पसलका सामान राख्ने गरेका छन् । यसले दुर्घटना निम्त्याउने भन्दै स्थानीय प्रशासनले २ वर्षअघि हटाएको थियो । उनीहरू निर्वाध रूपमा सडक पेटी प्रयोग गर्छन् । डिभिजन सडकका कर्मचारी आएको थाहा पाएपछि घर पछाडि लगेर पशु बाँध्छन् । गाउँघरमा अझै पनि चेतनाको विकास हुन नसकेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले बताए ।


‘अब जागरुक कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘जानाजानी गल्ती गर्नेलाई के भन्न सकिन्छ । स्थानीयले सडक पेटी निजी प्रयोग गर्न हुन्छ हुँदैन भन्ने ज्ञान नभएको हो वा जबरजस्ती गरेको हो ।’ सडकका कर्मचारी अनुगमनमा जाँदा हतारमा घर पछाडि पशु लैजाने गरेको उनले सुनाए । सडकको दायाँबायाँ अतिक्रमण हटाउने तत्काल कुनै योजना नरहेको प्रमुख दरोगाले जानकारी दिए ।


चन्द्रनिगाहपुरदेखि ४२ किमि गौरसम्मका दायाँबायाँ सडककै केही स्थानका पोखरी खनिएका छन् । कतै चिम्नि उद्योगले माटो खनेर इँटा उत्पादन गरिरहेको छ । केही स्थानमा मोटरसाइकलका ग्यारेज राखिएको छ । एउटा सवारी आउँदा र जाँदा साइड दिन समेत ठाउँ पुग्दैन ।


यो मार्गमा सबैभन्दा बढी बालचनपुर पडोरिया क्षेत्रमा अतिक्रमण भएको छ । यहाँ सडकमै पशु बाँध्ने गरिन्छ । पशुलाई खुवाउन परालका टालहरू सडककै छेउमा राखिएका छन् । राष्ट्रिय राजमार्गमा २५ र सहायक मार्गमा १५ मिटर छाड्नुपर्छ । सडक क्षेत्र छाडेर मात्र व्यक्तिगत उपभोग गर्न पाइन्छ ।


नियम मिचेर कतिपय सडक छेउमा घर टहरा बनाइएको छ । चन्द्रनिगाहपुर चोकदेखि दक्षिण भेगका अधिकांश बजार गाउँका घरटहरा सडककै जमिनमा बनाइएको पाइएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी मदन भुजेलको पहलमा दुई वर्षअघि दुबै राजमार्गका अतिक्रमण हटाइएको थियो । पछिल्लो एक वर्षयता फेरि सुरु गरेका छन् । अहिले झनै अतिक्रमण बढेको पाइएको छ । अतिक्रमणबारे नगरपालिकाले बेवास्ता गरेको पाइएको छ ।


सडकमै पसल

पूर्वपश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकको दुबै साइडमा फलफूल व्यापारीले सडकमै पसल थापेका छन् । केही समयअघि ठेलामा फलफूल राखेर बेच्थे । स्थानीय प्रहरीले हटाएपछि अहिले सडकमै थापेका छन् । यस्तो पसल हटाउन चन्द्रपुर नगरपालिकाले सरोकारवालालाई बोलाएर निर्णय गरेको थियो ।


निर्णय कार्यान्वयन नगरेको सरोकारवालाले आरोप लगाए । नगरप्रमुख रामचन्द्र चौधरीले सडक अतिक्रमण गरी राखिएका पसलहरू हटाइने बताउँदै आएका छन् । दुबै मार्गमा नगरपालिका, जिल्ला ट्राफिक, प्रहरी र दलहरू मिलेर पटकपटक अतिक्रमण हटाउने प्रयास गरिए पनि असफल हुँदै आएको छ । सडक विभागले समेत अतिक्रमण हटाउन सकेको छैन ।

प्रकाशित : पुस २८, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?