च्याउमा भ्याइनभ्याइ

शिव पुरी

रौतहट — बिहान ६ बज्न नपाउँदै उनि हस्याङफस्याङ गर्दै च्याउको बीउमा पानी हाल्न पुग्छिन् । टनेलभित्र झुन्ड्याइएको प्लास्टिकको पोकामा सधैं पानी पटाउनुपर्छ । त्यही पोका उनको आर्थिक सहारा बनेको छ ।

च्याउमा भ्याइनभ्याइ

पोकाभित्र राखिएको च्याउको बीउ उम्रन अब केही दिन मात्र बाँकी छ । बजारमा पुगेपछि हातमा पैसै पैसा । च्याउ खेतीबाट उनको करौडपति बन्ने सपना छ । उनको हिम्मत देखेर गाउँका सबै छक्क परेका छन् । परिवारका सबै सदस्यले सघाएका छन् ।


चन्द्रपुर ५ चिडियादहका ४६ वर्षीय दिलमाया राईले हिम्मतकासाथ गाउँमा उद्योग खोलेकी छन् । उनले गाउँमा ठूलै लगानीमा दिलमाया च्याउ उद्योग सञ्चालन गरेकी हुन् । च्याउमा उनको लगनशिलता बढ्दो छ । २०७० सालबाट च्याउ खेतीप्रति आकर्षित बनेकी हुन् । गाउँमा उनलाई नचिन्ने कोही छैन । राईको जात त्यसमा पनि आर्थिक अवस्था कमजोरले उद्योग सञ्चालन गर्न यति ठूलो हिम्मत र आँट गरेकी छिन् । सुरुमा सानो टनेलबाट व्यवसाय सुरु गरेकी हुन् ।


अहिले ठूलो ४ वटा टनेल धमाधम बन्दै छ । दुईवटा तयार भई बीउ राखेकी छन् । अहिले १ हजार ९ सय बीउको पोका टनेलभित्र छ । उद्योगका लागि संरचनाहरू निर्माणको क्रममा छ । लघु उद्यम विकासबाट च्याउ खेती गर्न हौसिएको दिलमायाले सुनाइन् । ‘सुरुका दिनमा सानो छाप्रोमा बीउ राखेर सुरु गरे । अहिले आँट गरेर ठूलै उत्पादन गर्ने अठोटकासाथ अघि बढेको छु,’ उनले भनिन्, ‘मेहनत गर्‍यो भने नहुने केही छैन । हिजो र आजको घरको अवस्थामा धेरै परिवर्तन भएको छ ।’


च्याउबाट आर्थिक अवस्था सबल हुँदै गएकोमा राई परिवार खुसी छन् । उनको टनेलमा किने च्याउ (अमेरिकन बैस्टर्ड) र कने अमेरिकन जातको बीउ झुन्ड्याइएको छ । थुप्रै प्रजातिका च्याउ आए पनि उनले कने उत्पादन गर्दै आएका छन् । बजारमा यसको माग बढी छ । उनका श्रीमान ईन्द्रबहादुर राई , छोरा सुनिल, श्रीमती रेखा र कान्छो छोरा सदिन पनि आमासँगै उद्योगमा खट्ने गर्छन् ।


पाँच जनाको राई परिवार सबैलाई भ्याइनभ्याइ छ । परिवारका सबै सदस्य लागेकाले उद्योग सञ्चालनमा कुनै समस्या नरहेको उनले सुनाइन् । छोरा सुनिल पनि आमाको प्रेरणा पाएर साथ दिँदै आएको बताउँछन् । नौ महिना दुबई बसेर फर्केका सुनिल यहाँ आएपछि आमासितै च्याउ खेतीमा सघाउन थालेका छन् । च्याउ उत्पादन गर्न पहिला पराललाई मेसिनद्वारा सानो टुक्रा आकारमा कटिङ गरिन्छ । त्यसपछि पानीमा भिजाएर २ घण्टासम्म उमाल्नुपर्छ । पराललाई प्लास्टिकभित्र राखेर बीउसहित पोका बनाइन्छ । भित्र कीटनाशक औषधि राखेर झुन्ड्याइन्छ । ३ महिनासम्म च्याउन उम्रने गर्छ । त्यही बिक्री गर्छन् ।


एउटा पोकाको च्याउ २४/२५ दिनमा बिक्री गर्न लायकको हुन्छ । यो ९० दिनसम्म उम्रन्छ । त्यसपछि पोकाको पराल फालेर अर्को राख्नुपर्ने सुनिलले बताए । ‘कहिलेकाहीँ रोग लागेर उम्रदैन,’ उनले भने, ‘त्यस्तो बेला विशेष ध्यान दिनुपर्छ ।’ च्याउको बीउ राखेपछि दिनको एकपटक पानी पटाउनुपर्छ । यसले पोका सुख्खा हुँदैन र चाँडै उम्रन मद्दत पुग्छ । सानो टनेलबाट उनले महिनाको ३०/४० हजारसम्म कमाउथे । ठूलो बनेपछि १ देखि १ लाख ५० हजारसम्म आम्दानी गर्ने दिलमायाले सुनाइन् ।


यति धेरै रकम आम्दानी हुनेमा उनी ढुक्क छिन् । उनको उद्योगको च्याउ चन्द्रनिगाहपुर बजारमा पुग्न नपाउँदै बिक्री हुन्छ । ‘बजारको मागअनुसार पुगाउन सकिएको छैन,’ उनले भनिन्, ‘ठूलो टनेल बनेपछि बजारमा उपभोक्ता रित्तो हात फर्कनु पर्दैन ।’ उनले ५ हजार पोका राख्ने योजना अघि सारेकी छन् । अहिले बारा र सर्लाहीका व्यापारी उनको उद्योगमै च्याउ खरिद गर्छन् । बजारमा प्रतिकेजी २ सयसम्ममा बिक्री हुन्छ । थोक किन्न आए १ सय ८० मा दिने गर्छन् ।

प्रकाशित : पुस २९, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?