कटानले ठोरी बजार संकटमा 

‘बर्सेनि वर्षायाममा हामी सुत्दैनौं, दक्षिणतर्फबाट खोलाले बजारको माटो कटान गरी धकेल्दै आउँछ’
शंकर आचार्य

पर्सा — बर्सेनि दुईतर्फबाट खोलाले कटान गर्न थालेपछि ठोरी बजारको अस्तित्व नै संकटमा परेको छ । ठोरी प्रवेश बिन्दुमै रहेको तथा ठोरी भन्सार कार्यालय, सशस्त्र प्रहरीको बीओपी समेत रहेको यो क्षेत्रमा वर्षेनी पूर्वबाट ठुटे र दक्षिण/पश्चिमबाट सरस्वती खोलाले कटान गर्दैछ । पछिल्लो डेढ दशकयता सरस्वती खोला बढी विनाशकारी भएकाले ठूलो क्षति हुँदै आएको छ । 

कटानले ठोरी बजार संकटमा 

स्थानीय होटल व्यवसायी रामशरण लामिछाने वर्षेनी वर्षायाममा आफूहरूका लागि पीडा बोकेर आउने गरेको बताउँछन् । सन् २००५ यता दुबै खोलाले ठोरी बजारको ५ सय मिटर भूभाग कटान गरिसकेको उनले बताए । वीरगन्ज ठोरी हुलाकी सडक पनि खोलाले कटान गरिसकेकाले हाल निर्माणाधीन यो सडक निर्माणको क्रममा समस्या पर्ने छ । यसका लागि ड्याम बनाएर बाटो कायम गरी त्यहाँबाट नयाँ बाटो निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।


भारतसँगको सीमामा रहेको बजारमा दैनिक भारतीयहरू पनि ठूलो संख्यामा आउने गरेका छन् । समयमै जोगाउने प्रयास नगरिए आउँदो ५ वर्षमा ठोरी बजारको अस्तित्व नै समाप्त हुने स्थानीय बताउँछन् ।


आफूहरू जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला विकास समिति समेतमा डेलिगेसन दिएर थाकिसकेको उनले बताए । ‘वर्षेनी वर्षायाममा हामी सुत्दैनौं, दक्षिणतर्फबाट खोलाले बजारको माटो कटान गरी धकेल्दै आउँछ,’ उनले भने, ‘हामी रातभरि जाग्राम बस्छौं, कुन बेला भत्काएर बगाउँछ ठेकान हुँदैन ।’


स्थानीय स्तरबाट नभई केन्द्रीय स्तरबाटै राष्ट्रिय योजनामा पारेर यो समस्या समाधानको प्रयास गर्नु जरुरी भइसकेको उनले बताए । होटल व्यवसायी चित्रबहादुर न्यौपानेले खोलाले कटान गर्दा आफूले १३ वर्षयता ३ पटक होटल सारिसकेको बताए । ‘यहाँ वर्षेनी झारा टार्ने गरी तटबन्ध लगाइन्छ,’ उनले भने, ‘खोलामा आउने पहिलो बाढीले नै त्यो तटबन्ध बगाएर लग्छ ।’


ठोरी गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठ गत वर्ष मात्रै सरस्वती खोलाले ठोरी बजारको ५० मिटर क्षेत्र कटान गरेको बताउँछन् । ‘त्यति बेला १५/१६ टहरा र भारु सटही काउन्टर भवन समेत बगाएर लगेको थियो,’ उनले भने, ‘गत वर्ष १० लाख लागतमा तटबन्ध

निर्माण गरिए पनि त्यो पर्याप्त हुन सकेन ।’ गाउँपालिकामा यस्ता सानाठूला गरी ३० बढी खोलानाला रहेको र तिनले वर्षेनी कटानको समस्या गरिरहेकाले गाउँपालिकाको एक्लो बजेटले सबै खोलानालामा तटबन्ध निर्माण सम्भव नरहेको उनले बताए ।


दुबै खोलामा गरी ठूलाठूला तटबन्ध निर्माण आवश्यक रहेको र त्यसका लागि कम्तीमा ५/५ करोड रुपैयाँ लागत पर्ने भएकाले यो योजनालाई केन्द्रीय वा प्रादेशिक सरकारको स्तरबाटै पूरा गर्न सम्भव रहेको उनले बताए ।

प्रकाशित : पुस २९, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?