३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ओभरलोड गाडीमा कडाइ

पवन यादव

सिमरा — प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश २ पथलैयाले ओभरलोड (अत्यधिक भार) बोकेर हिँड्ने सवारी साधनलाई कडाइ गरेको छ ।

ओभरलोड गाडीमा कडाइ

तोकिएको क्षमताभन्दा अत्याधिक भार बोकेर नेपाल भित्रिएको सवारी साधनले सडक बिगार्ने क्रम बढेपछि कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


अत्यधिक भार बोक्ने सवारीले सडक बिगार्ने काम मात्र गर्दैनन् तीव्र गतिमा गुडाउँदा सवारी दुर्घटनाको जोखिम समेत बढाउँछन् । उनीहरूबाट प्रभावित सेवाग्राहीको गुनासो बढेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ पथलैयाका सूचना अधिकारी ट्राफिक प्रहरी निरीक्षक रिपेन्द्र सिंहले बताए ।


‘क्षमताभन्दा बढी भार नबोक्न उनीहरूलाई सुरुमा सचेत गराएका थियौं,’ उनले भने, ‘सचेत गराउँदा पनि अटेरी गर्न थालेपछि बाध्य भएर कारबाही गर्न थालेका हौं ।’ ट्राफिक नियमलाई कार्यान्वयन गराउन आफूहरू सक्रिय भएको उनले जानकारी दिए । कडाइ गरेपछि सवारी साधनको ब्लुबुकमा उल्लेखित भार क्षमताभन्दा बढी सामान बोकेर गुड्ने नेपाली र भारतीय नम्बर प्लेट भएका ढुवानीका साधनहरू कारबाहीमा पर्न थालेको उनले जानकारी दिए । बढी भार बोकेर नेपाल भित्रिएका भारतीय नम्बर प्लेटका ढुवानीका साधानहरू भारतकै विभिन्न भागहरूबाट वीरगन्ज–पथलैया, हेटौंडा लगायतका औद्योगिक करिडोरका उद्योगका लागि औद्योगिक कच्चा पदार्थ ढुवानी गर्ने गरेका छन् ।


देशको एक भागबाट बढी भार बोकेर ढुवानीका साधनहरू पनि अर्को भागमा जाने गरेको उनको भनाइ छ । बढी भार बोकेर ओहोरदोहोर गर्ने ढुवानीका साधनहरूबाट सडक र पुलहरू जोखिमपूर्ण बन्दै गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय, प्रदेश २ पथलैयाकी प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताइन् ।


‘बढी भार बोक्ने ढुवानीका साधनहरूलाई राजमार्गमा रोक्न खोज्दा हत्तपत्त रोक्दैनन्,’ उनले भनिन्, ‘यसको कारण दुर्घटना बढेको देखिन्छ ।’ निर्धारण गरिएको भार क्षमताभन्दा दुई गुणासम्म बढी भार बोक्ने गरेकाले बाध्य भएर कारबाही गर्नुपरेको उनले जानकारी दिइन् ।


उनका अनुसार वीरगन्जबाट सिमरा जाँदै गरेको भारतीय नम्बर प्लेट भएको एनएल ०१ एबी ०१९६ नम्बरको १४ चक्के ट्रकलाई रोकेर चेकजाँच गर्दा त्यसले ९५ टनसम्म भार बोकेको पाइयो । ‘१४ चक्के ट्रकलाई नियम अनुसार बढीमा ३० टनसम्म मात्रै मालसमान लोड गर्न पाइन्छ,’ उनले भनिन्, ‘अधिकांश सवारीले क्षमताभन्दा बाहिर गएर ३५ टन बढी लोड गरेको भेटियो ।’ वीरगन्ज आईसीपी भन्सारबाट छुटिएका प्रायजसो मालवाहक सवारी साधनले अत्यधिक मात्रामा भारवहन गर्ने गरेको उनले जानकारी दिइन् ।


चेकजाँचको क्रममा बढी लोड गरेको भेटिएपछि ती सवारीलाई थप कारबाहीका लागि वीरगन्जस्थित नारायणी यातायात कार्यालयमार्फत साउन यता ८ सय ८४ मालवाहक सवारी साधनलाई कारबाही गरिएको र त्यसबाट ५३ लाख २८ हजार ३ सय २३ रुपैयाँ जरिवाना असुल उपर गरिएको ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।


डडेलधुराबाट जनकपुर जाँदै गरेको ना४ख ८९४० नम्बरको ट्रकलाई चेकजाँच गर्दा २१ टन भार बोक्ने सवारीले ३० टन लोड गरेको भेटिएपछि उक्त सवारीलाई यातायात कार्यालयमार्फत ३३ हजार नौ सय रुपैयाँ जरिवाना गरिएको थियो । वीरगन्ज भन्सार कार्यालयबाट सिमेन्ट बनाउने क्लिंकर लोड गरी सिमरा जाँदै गरेका बीआर ०६ जेडी ९१८६ नम्बरको १४ चक्के भारतीय टिपरलाई चेकजाँच गर्दा २५ टन लोड गर्नुपर्नेमा त्यसले ५८ टन लोड गरेको भेटियो ।


ट्राफिक प्रहरी कार्यालयले, प्रदेश २ पथलैयाले नियमभन्दा बढी भार बोक्ने ढुवानीका साधनहरूलाई कारबाही गर्न सुरु गरेपछि यस क्षेत्रका उद्योगी व्यवसायीहरूले यसको विरोध गरेका छन् ।

प्रकाशित : माघ १, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?