२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सुरु भो शिशु बिमा योजना

जनकपुर — प्रदेश नं. २ का ८ वटा जिल्लामा माघ १ गतेदेखि नवजात शिशुको बिमा योजना सुरु भएको छ । मंगलबारदेखि जन्मिने नवजात बालिकाको नाममा शिक्षा बिमा गरिदिन लागिएको हो । 

शिशु हुर्केपछि नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेपछि उनले बिमाबापतको रकम एकमुष्ठ पाउने गरी नवजात बालिकाको नाममा बिमा गर्न लागेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यस वर्ष प्रदेश २ को सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका ५ हजार बालिकालाई शिक्षा बिमाबापत एक लाख २५ हजार रुपैयाँ बराबरको बिमा योजना रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रदेश सरकारले बेटी बचाऊ बेटी पढाऊ अभियानअन्तर्गत ५ वर्षमुनिका बालिकाको नाममा बिमा गरी पठनपाठन सुनिश्चित गर्न लागेको हो । बिमा योजनाबाट लक्षित समुदाय कोही पनि नछुटून् भन्ने उद्देश्यले बिमा योजनाबारे सरोकारवालासित ८ वटा जिल्लामा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ ।


बिमा योजनाका लागि पहिलो चरणमा जिल्लाको नमुना स्थानीय तहको रूपमा पर्साको वीरगञ्ज महानगरपालिका, बाराको सुवर्णपुर गाउँपालिका, रौतहटको यमुनामाई नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको कमला नगरपालिका, सिरहाको औरही गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिका छनौट गरिएको छ ।


प्रदेश सरकारले पहिलो चरणमा गरिब, दलित, मुस्लिम तथा विपन्न परिवारका बालिकाको बिमा गरिने मुख्यमन्त्री लालबाबु राउतले बताए । उनले शिक्षाको माध्यमबाट मात्र सामाजिक रूपान्तरण गर्न सकिने भएकाले महिलालाई बढी शिक्षित बनाउन जरुरी रहेको बताए । तराई मधेसमा बेटी बचाऊ बेटी पढाऊ अभियानअन्तर्गत बालिकाहरूलाई विद्यालय जान सजिलोका लागि एक हजार जनालाई साइकल वितरण सुरु भएको जनाए ।


प्रदेश २ मा मुस्लिम समुदायको अवस्था दलितभन्दा पनि पछाडि रहेकाले महिला र पुरुषलाई बराबर शिक्षा दिन जरुरी रहेकोले सबै अभिभावकले छोरीलाई विद्यालय पठाउन अनुरोध गरेका छन् । हाम्रो सोचमा अझै परिवर्तन आएको छैन, छोराछोरीलाई समाजमा समान व्यवहार गर्न नसकेकै कारण पछाडि परेका छौं, मुख्यमन्त्री राउतले भने– अब प्रत्येक अभिभावकले समान शिक्षाका निम्ति छोराछोरीलाई स्कुल पठाउनुपर्दछ ।


महिला र पुरुष बराबर भए मात्रै समाज अघि बढ्न सक्ने भएकोले तराई मधेसमा बेटी बचाऊ बेटी पढाऊ अभियानको थालनी गरिएको हो । राउतले यो अभियानलाई स्थानीय तहले साथ दिन जरुरी रहेको बताए । बिमाले छोरीलाई शिक्षाको ग्यारेन्टी, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य सुरक्षा, लैङ्गिक विभेदको अन्त्य, बालिकाको भ्रूणहत्या न्यून हुनेछ ।


बिमाको लागि शिशुको जन्मदर्ता प्रमाणपत्र, आमाबाबुको नागरिकता प्रमाणपत्र प्रतिलिपि, वडा कार्यालयको सिफारिस, स्वास्थ्य संस्थामा जन्मिएको प्रमाण पत्र पेस गर्नुपर्नेछ ।

प्रकाशित : माघ २, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?