बढ्न थाले बैंकिङ कसुर

महोत्तरी — केही समययता महोत्तरीमा बैंकिङ कसुरका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार यस्ता कसुरको प्रकृति र प्रकार फरक फरक पाइएको छ । कतै बाउन्स चेक दिएर ठगी गरेको पाइएको छ भने कतै किर्ते हस्ताक्षर र खाता ट्रान्सफर गरेर लाखौंको रकम हिनामिनाका घटना भएको जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक खड्गबहादुर खडकाका अनुसार बैकिङ कसुरको यही श्रृङ्खलामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मनरा सिसवा नपा १० मरुवाहीका ३० वर्षीय सत्येन्द्र यादवलाई सोमबार साँझ पक्राउ गरी न्यायिक हिरासतमा लिएको हो । बाउन्स चेक दिएर उनले गरेको ठगीको घटना पनि छ ।


यसको रहस्य एकडारा गाउँपालिका–४ हलखोरीकी २४ वर्षीया सविता यादवले उजुरी दिएपछि खुलेको हो । पीडित सविताका पति केदारकुमार केही समय वैदशिक रोजगारीमा खाडी मुलुक गएका छन् । उनले त्यहाँबाट पैसा पठाउने गरेको सत्यन्द्रले सुइको पाएपछि सवितासँग निकटता बढाउन थाले ।


निकटता बढाउँदै पीडित सवितालाई विश्वासमा लिएर सत्यन्द्रले सापटी भनेर ३ लाख ७० हजार नगद लिए । पीडित सविताले प्रहरीमा दिएको जानकारी अनुसार पैसा हात पारेपछि सत्यन्द्र टाढिंदै गए । छिटै फिर्ता गर्छु भनेको उक्त रकम सत्यन्द्रले आलटाल गर्दै टार्न थाले ।


सविताका पति वैदेशिक रोजगारीबाट फर्कने खबर आएपछि उनले गाउँमा सत्यन्द्रमाथि पञ्चेती राखिन् । पञ्चेतीमा उनले छिट्टै फिर्ता गर्ने बाचा गरे । पीडित सविताले उजुरीसाथ प्रहरीमा पेस गरेको प्रमाणअनुसार सत्यन्द्रले कात्तिक १६ गते ३ लाख रुपैयाँको चेक दिए । उनले दिएको चेक नं ४४८१३५१० हो । उक्त चेक लिएर भुक्तानीका लागि लक्ष्मी बैंकमा जाँदा खातामा पैसा नभएको जानकारीले उनलाई झस्कायो ।


सत्यन्द्रले ‘चेकको महिना दिन समय हुन्छ किन हतारिएको साता दिनभित्र खातामा पैसा हालिदिहाल्छु’ भनी ढाँट्दै गरेको उनले बताइन् । विश्वासमा परेर उनी पटक पटक बैंक धाउँदै गइन् । मंसिर पनि लाग्यो । अब त पैसा खातामा हाल्यो होला भनेर पछिल्लोपटक जाँदा त उनी छाँगाबाट खसे जस्तो भइन् । त्यतिन्जेल सत्यन्द्रले आफ्नो ०४५२४००१३४३ नं.को खाता बन्द गरिसकेका थिए ।


‘बैंकले यो खाता त मंसिर १० गते नै बन्द भएको जनाएपछि म त मर्नु न बाँच्नु भएँ’ उजुरी लिएर गएकी सविताले प्रहरीसमक्ष आँसु झार्दै सुनाइन् । उजुरीपछि सत्यन्द्रविरुद्ध जिल्ला प्रहरीले पुस १५ गते बैकिङ कसुरमा मुद्दा दर्ता गर्‍यो । लगत्तै उच्च अदालत जनकपुरको आदेशले निजको नाममा पक्राउ पुर्जी जारी भएपछि हिरासतमा लिएको डीएसपी खड्काले जनाए ।


जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका सई सुखाडी साहका अनुसार बैंकिङ कसुर तथा सजाय ऐन ०६४ को ३ (ग) अनुसार आफ्नो खातामा रकम मौज्दात नभएको जानीजानी चेक काट्नेलाई बंैकिङ कसुर मानेको छ ।

प्रकाशित : माघ २, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?