अटोरिक्सा चलाउँदै मधेसी महिला

शाहीमान राई

जनकपुर — घरधन्दा, चुलाचौका, घरायसी काम, बालबच्चाको हेरचाह र घर परिवारको सेवामा तल्लीन हुने मधेसी महिला व्यावसायिक बन्न थालेका छन् । प्रदेश नं. २ को राजधानी सहर जनकपुरमा मधेसी महिलाहरू सवारी चलाउन थालेका छन् ।

अटोरिक्सा चलाउँदै मधेसी महिला

काठमाडौं, धरान, इटहरी, झापालगायत विभिन्न सहरमा पहाडेमूलका महिलाहरूले सवारी चलाएको देखिए पनि मधेसी महिला सवारी चालक बनेको नौलो जस्तै हो । श्रीमानले कमाएर स्वास्नी छोराछोरी पाल्नुपर्ने, पति पुरुषको कमाइप्रति निर्भर रहनुपर्ने मान्यताबाट मुक्त हुँदै पुरुषले जस्तै व्यवसाय गर्न तम्सिएका छन् । यसको उदाहरण हुन् एक वर्षदेखि अटोरिक्सा सफारी चलाउँदै आएकी २६ वर्षीया सरिताकुमारी सहनी ।


बिहान घरधन्दा, बालबच्चालाई खानपिन गराएर जनकपुरका सडकमा अटोरिक्सा चलाउँछिन् । जनकपुरधाम उपमहानगरपालिका–१० कुवाकी २६ वर्षीया सरिताकुमारी सहनी अटोरिक्सा सफारी चलाएर घरपरिवारको खर्च धान्दै आएकी छन् । कत्ति श्रीमानको कमाइमा भर पर्नु ? आफ्नै परिश्रममा बाँचौं भनेर सफारी चलाउन थालें, सफारीमै भेटिएकी सरिताकुमारी सहनीले भनिन्– एक महिना तालिम गरेर सफारी चलाउन थालेपछि कमाउन थालेकी छु ।


परिक्रमा सडकको मुरलीचोकदेखि जिरोमाइलसम्म करिब ५ मिनेटको यात्रामा नौलो मान्छे देखेर पंक्तिकारसित बोल्न

अप्ठ्यारो मान्दै उनको विगत सुनाइन् । सामाजिक परम्पराअनुसार सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी उनकी एक छोरी छन् । दैनिक ५ सय रुपैयाँ भाडाको अटोरिक्सा चलाएर दैनिक ५ सयदेखि एक हजार रुपैयाँसम्म कमाउँछिन् । उनले सफारीबाट कमाएर घरखर्च धान्दै आएको बताइन् । उनका श्रीमान् पनि मजदुरी गर्छन् ।


सफारी चलाएर कमाउन थालेपछि ड्राइभिङ पेसामा उत्साहित भएको बताइन् । एक वर्षअघि एक गैरसरकारी संस्थाले ६ जना महिलालाई सफारी चालक (ड्राइभिङ) तालिम गराएकोमध्येकी एक हुन् सरिताकुमारी । उनका अन्य साथीहरू पनि बेलाबेलामा सफारी चलाउने गर्छन् । सडकमा दैनिक जसो अटोरिक्सा चलाएको देखिने सहनी विगतमा भन्दा निकै बोल्ने भएकी छन् ।


विभिन्न ठाउँका विभिन्न किसिमका यात्रुसित कुराकानी गर्दा बानी पर्न थालेको बताउँछिन् । रुढीवादी समाजको परम्परागत मान्यताका कारण शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित मधेसी समुदायका महिला आयआर्जनका लागि व्यावसायिक बन्नु सकारात्मक भएको जनकपुर उपमहानगरपालिका–५ जिरोमाइलका सञ्जय मिश्र बताउँछन् ।


यहाँ आर्थिक सम्पन्न परिवारका महिला मात्रै शिक्षित छन्, विपन्न वर्गले पढ्नै पाउँदैनन्, मिश्रले भने– कुरीति, कुसंस्कार, कुप्रथाका कारण धेरै महिला अशिक्षित छन्, पेसा व्यवसाय गर्दैनन् । अभिभावकले सानैमा विवाह गरिदिने, स्कुल नपठाउने र घरायसी काममा दबाएर राख्ने चलन छ । तराईमा गरिब, दलित विपन्न समुदायका महिला सबभन्दा बढी पीडित छन् ।


प्रकाशित : माघ २, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?