कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहाडका स्याउ सुन्तला आउन छाडे

लक्ष्मी साह

बारा — पहाडमा उत्पादित स्याउ र सुन्तला वर्षौंदेखि तराईमधेसको बजारमा आउन छाडेको छ । यसको विकल्पमा भारतीय र चिनियाँ फलफूल बजारमा याप्छयाप्ती पाइने गरेको छ । नेपाली उत्पादन नै तराई मधेसका बजार पुग्दैनन् ।

फलफूल खरिदमा दैनिक करोडौं रकम भारत जाने गरेको छ । तराईमधेसको एउटा जिल्लामा कम्तीमा २० देखि २५ जना व्यापारी छन् । तिनीहरूबाट दैनिक लाखौं रकम फलफूल खरिदमा भारत जाने गरेको हो ।


कलैयाका व्यापारी कुन्दन साहका अनुसार कलैयामा रहेका २० देखि २५ जना व्यापारीबाट मात्र दैनिक २ लाख रुपैयाँ भारत जाने गरेको छ । जति धेरै रकम भारत जाने गरेको छ, उति धेरै सीमावर्ती मधेसका सदरमुकाम, सहरोन्मुख तथा ग्रामीण बजारहरूमा भारतीय फलफूल आउने गरेको उनको भनाइ छ । फलफूल व्यवसायी संघ पर्सा जिल्लाका अध्यक्ष सुनिल साहका अनुसार वीरगन्जबाट मात्र दैनिक करिब ३ लाख नेपाली रुपैयाँ भारत जाने गरेको छ ।


‘नेपाली स्याउ सुन्तला तराई मधेसको बजारमा ल्याउन ‘ट्रान्सपोर्टिङ र क्यारिङको राम्रो व्यवस्था छैन्, त्यसैले भारतबाट ल्याउँछौं,’ उनले भने, ‘सुविधा राम्रो भए स्वदेशी उत्पादन नै बिक्री गर्छांै ।’ भारत नागापुर, गंगापुरलगायतका ठाउँहरूबाट केनु, जुनार र कश्मीरबाट चकलेटी र कश्मीरी डेलिसी जातका स्याउ तराई मधेसको बजारहरूमा फालाफाल पाइन्छ ।


यसैगरी हाजिपुर तथा नौगछियाको केरा र नासिकबाट आयातित अत्यधिक अंगुर तथा अनार तराई मधेसका बजारहरूमा पाउने गरेको छ । यसबाहेक चिनियाँ डेलिसी जातको स्याउ पनि यी बजारहरूमा पाउने गरेको छ । तर तनहुँ र गोरखाको सिमानामा पर्ने आबुखैरनी र गोरखाको मनकामनालगायतका ठाउँबाट उत्पादित सुन्तला वर्षौंदेखि पाइन छाडेको छ ।


सिन्धुलीको जुनारसमेत तराईमधेसको बजारमा पाइँदैन । हुम्ला र जुम्लाको स्याउ पनि बजारमा भेटिंदैन । ‘बजारमा माग भए पनि महँगो पर्ने भएकोले ल्याउँदैनौं,’ कलैया बजारमा २५ वर्षदेखि फलफूल पसल थापेर बसेका व्यवसायी कुन्दनले भने, ‘स्वदेशीभन्दा भारतको स्याउ र सुन्तला आधा सस्तो मूल्यमा पर्छ ।


उनका अनुसार भारतमा प्रतिकेजी ५० रुपैयाँमा पाइने केनु जुनारभन्दा गोरखाको सुन्तला प्रतिकेजी १ सयदेखि १ सय १० रुपैयाँसम्म पर्छ । ढुवानी, मजदुरीखर्च सहित प्रतिकेजी १० देखि २० रुपैयाँ थपेर बिक्री गर्दा भारतीय जुनार प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री हुन्छ, तर नेपाली सुन्तलामा १० रुपैयाँ मात्र थप्दा महँगो पर्ने भएकाले भारतीय सुन्तला र स्याउ बिक्री हुने गरेको उनको भनाइ छ ।


‘भारतीय जुनार हेर्नमा आकर्षक, चिटिक्क र ठूलो आकारको हुन्छ, त्यसैले स्वदेशीको विकल्पमा धेरै उपभोक्ताले यही मन पराउँछन्, कोहीकोही नेपाली सुन्तला र स्याउ किन्नसमेत आउँछन् । तर नपाएपछि बाध्य भएर भारतीय सुन्तला र स्याउ किन्छन्,’ उनले भने, ‘गत चार/पाँच वर्षदेखि स्वदेशी उत्पादित सुन्तला मधेसको बजारमा आउँदैनन् ।’


वर्षौदेखि वीरगन्जस्थित माईस्थान र मीना बजारमा फलफूल पसल थापेका अर्का थोक फलफूल बिक्रेता वीरेन्द्रकुमार साहका अनुसार ग्राहक र व्यवसायीलाई भारतीय स्याउ, सुन्तला सस्तो पर्ने र व्यवसायीलाई नाफासँगै उपभोक्तालाई सस्तो पर्ने भएकाले स्वदेशीभन्दा भारतीय नै ल्याइने गरिएको छ । ‘नेपाली स्याउ, सुन्तला ल्याउँदा बाटोमा हैरानी हुन्छ, प्रहरी ठाउँ ठाउँमा पैसा माग्छन्, नदिए जाँचको नाममा झार्न लगाउँछन्, नेपाली उत्पादन ल्याउँदैनौं,’ उनले भने ।

प्रकाशित : माघ २, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?