१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थारू संस्कृति जोगाउन महोत्सव

पवन यादव

सिमरा — लोप हुँदै गएको थारू जातिको लोक संस्कृति जोगाउन थारू कल्याणकारिणी सभाले बाराको कोल्हवी नगरपालिका–५ बलुवा खेलकुद मैदानमा मंगलबारदेखि ३ दिने थारू माघी साँस्कृतिक महोत्सव आयोजना गरेको छ । 

थारू संस्कृति जोगाउन महोत्सव

थारू समुदायको कला, संस्कृति, आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक विकास गर्न महोत्सवको माध्यमबाट एकताको सन्देश दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको थारू कल्याणकारिणी सभा बाराका सचिव यादवकृष्ण चौधरीले बताए ।


जिल्लाभरमा छरिएर रहेका थारूलाई एकढिक्का बनाउन प्रयास गर्दैछौं,’ उनले भने, ‘थारू युवा जमातले जातीय कला संस्कृति बिर्संदै गएका छन् ।’ उनीहरूलाई आफ्नो जातीय रहनसहन, खानाको परिकार लगायतको बारेमा महोत्सवको माध्यमबाट जानकारी गराउन लागेका छौं । विगत ३ वर्षदेखि महोत्सवलाई निरन्तरता दिन थालिएको उनले जानकारी दिए । महोत्सव स्थलमा थारू संस्कृति झल्किने ५० वटा स्टल राखिएको उनले जानकारी दिए ।


माघ १ गतेलाई थारू समुदायले आफ्नो नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । यही नयाँ वर्षलाई व्यवस्थित तरिकाले मनाउन र

आफ्नो जातीय कला, संस्कृतिको जगेर्ना गर्न महोत्सवमा रूपान्तरण गरिएको थारू कल्याणकारिणी सभा बाराका अध्यक्ष रामप्रसाद चौधरीले बताए ।


‘छरिएर बसेका जिल्लाका सबै थारूलाई एकढिक्का बनाउन थालेका छौं,’ उनले भने, ‘माघीको मुख्य परिकार बन्हुई लाई, तिलुवा, सथौरा (केसार) लगायतले पनि एकताको सन्देश दिन्छ ।’ यसले विवाह गरेर ससुराल गएकी छोरी बेटीलाई पनि आफ्नो घरपरिवारलाई एकढिक्का राख्न सुझाव दिन्छ । कोहीसँग झैझगडा नगर्नु, घरपरिवारलाई सधैं मिलाएर लाई जस्तै एकढिक्का बनाएर राख्नु भनी सन्देश दिने गरेको उनले जानकारी दिए ।


झन्डै २५ लाखको अनुमानित लागतमा आयोजना गरिएको महोत्सवको खर्च धान्न मुठीदान संकलन, स्थानीय नगरपालिका लगायतबाट आर्थिक सहयोग संकलन गरिएको उनले जानकारी दिए । परम्परागत खाना, खाजा खाएर थारू पहिला स्वस्थ रहने गरेका थिए । अहिले खानपानकै कारण थारू युवा युवती रोगी बन्न थालेको नेपाल आदिवासी जनजाति महासंघ बाराका सचिव संजयकुमार चौधरीले बताए ।


‘पहिला थारूलाई मलेरिया लाग्दैनथ्यो,’ उनले भने, ‘परम्परागत पौष्टिक खाना छाड्न थालेपछि यो रोगले सताउन थालेको हो ।’ थारूको परम्परागत खानामा घोंगी, अ‍ैठा, माछा, हाँस, कुखुरा, परेवाको मासु, चिचर लगायतका परिकार पर्दछन् । विस्तारै सहर छिरेका थारू जमातले थारू संस्कृति बिर्सनुका साथै थारूको परम्परागत खाना पनि बिर्सन थालेको उनले जिकिर गरे ।


युवा जमात बिर्सन थालेको थारू संस्कृति र परिकारलाई जगेर्ना गर्न महोत्सवको आयोजना गरिएको हो । बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) उमाकान्त चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई, पूर्वसभासद दिलमाया धामी, थारू अगुवाहरू गिरधारी चौधरी, वीरेन्द्र चौधरी, शोभालाल चौधरी, रवीन्द्र चौधरी लगायतले महोत्सवको सफलताको कामना गरे ।

प्रकाशित : माघ २, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?