भारतीय सहयोगका आयोजना अधुरै

अवधेशकुमार झा

राजविराज — भारतीय दूतावासको सहयोगका आयोजना ठेकेदार र उपभोक्ता समितिको लापारबाहीका कारण वर्षौदेखि अलपत्र छन् । निर्माणाधीन आयोजनाको निर्माण कार्य पूरा गर्न सरकारी निकायले चासो देखाएका छन् । 

भारतीय सहयोगका आयोजना अधुरै

सङ्घीय सरकार र स्थानीय सरकारले भारतीय सहयोगमा निर्माणाधीन आयोजना पूरा गर्न वातावरण तयार गर्न चासो देखाएका हुन् । सप्तरीमा करोडौं रुपैयाँ लगानीका ५ वटा आयोजना अलपत्र छन् । निर्माण थालिएको दस वर्ष बितिसक्दा पनि आयोजना पूरा नभएपछि सरोकारवालाहरू अचम्मित भएका छन् ।


महेन्द्र विन्देशवरी बहुमुखी क्याम्पसको कन्या छात्राबास भवन, कुनौली फत्तेपुर सडक, जनता रामेश्वर मेमोरियल स्कुल ब्रह्मपुर, नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियाको भवन र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसूतिगृह निर्माण योजनाको काम अलपत्र परेको हो । आयोजनाको निर्माण कार्य विलम्ब भएपछि भारतीय दूतावासले सप्तरीमा भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न छोडेको छ ।


यी ५ वटा योजनामध्ये संघीय सरकार र स्थानीय सरकारले प्रसूतिगृह निर्माणमा चासो देखाएका छन् । भारतीय दूतावासको सहयोगमा निर्माणाधीन अलपत्र प्रसूतिगृह भवन नगरपालिकाले निर्माण गर्ने निर्णय भएको राजविराज नगरपालिकाका मेयर शम्भुपसाद यादवले जानकारी दिए । उनले पुरानो ठेकेदारलाई तिर्नुपर्ने बाँकी रकम स्थानीय सरकारले बेहोर्ने तथा नयाँ टेण्डरका लागि स्वास्थ्य मन्त्रालयबाट रकमसमेत आइसकेको जानकारी दिए ।


मेयर यादवका अनुसार पुरानो ठेक्का रद्द गर्नका लागि भारतीय दूतावासमा पत्राचार समेत गरिसकिएको छ । भवन निर्माण कार्यालय राजविराजका प्रमुख रमेश थिङका अनुसार स्वास्थ्य मन्त्रालयबाट यस वर्ष प्रसूतिगृह निर्माणका लागि डेढ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


अहिलेको अवस्थावाट निर्माण सुरु गरेर प्रसूतिगृहको निर्माण सक्न ३ करोड रुपैयाँ लाग्ने र यस वर्ष डेढ करोड रुपैयाँ आएको तथा केही दिनभित्रै आवश्यक प्रक्रियापछि टेण्डर गरिने थिङले बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका लागि प्रसूति तथा आकस्मिक कक्ष निर्माणका लागि दूतावासले करिब ३ करोड रुपैयाँ विनियोजन गरेको थियो ।


सन् २००७ मा निर्माण थालिएको उक्त कक्ष निर्माणका लागि अन्तिम म्याद जनवरी २०१० निर्धारण गरिएको थियो । यद्यपि हालसम्म प्रसूति कक्ष भने अलपत्र नै रहेको छ । उक्त कार्यका लागि २ करोड ९७ लाख ६ हजार १ सय ३० रुपैयाँ बराबरको कुल रकम विनियोजन भएकोमा दिवा नरेन्द्र यदाय दास जेभीले २ करोड २३ लाख ४४ हजार ७ सय १९ रुपैयाँमा टेन्डर कबुल गरेका थिए ।


अन्य योजना पनि अलपत्र

भारतीय दूतावासद्वारा संचालित प्रसूतिगृह नेपाल सरकारकै बजेटबाट निर्माण गर्ने तयारी गरिए पनि अन्य योजनाहरू भने अझै अलपत्र नै रहेको छ । दूतावासको झन्डै तीन करोड लागतमा निर्माण भएको सप्तरीको फत्तेपुर–कुनौली सडक खण्ड हस्तान्तरणसमेत नहुँदै भत्किएको छ । ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेका कारण थोरै समयमा सडक भत्किएको स्थानीयहरूको आरोप छ ।


यस्तै वर्षौंदेखि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्राबास पनि अलपत्र छ । छात्राबासका लागि निर्माण गरिएको भवनमा अहिले घाँसहरू उम्रिसकेको अवस्था छ ।


प्रकाशित : माघ २, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?