सडकबाट १३ को उद्धार

पर्सा — सडक जीवन बिताइरहेका १३ जनाको मंगलबार राति वीरगन्ज महानगरको विभिन्न स्थानबाट उद्धार गरिएको छ । उनीहरूलाई मानव सेवा आश्रम वीरगन्ज शाखामा आश्रय दिइएको छ ।

मानसिक सन्तुलन गुमाएका, परिवारबाट बिछोडिएका र विभिन्न कारणले एकल जीवन बिताएर सडकमा सुत्नेहरूको उद्धार गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, प्रहरी निरीक्षकहरू निशान थापा, चक्रबहादुर मल्ल, राजकुमार सिंह, आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी, संस्था वीरगन्ज शाखाका संयोजक देवेश गुप्ता, सामाजिक अभियन्ताहरू प्रकाश थारु, अनिशकान्त कुशवाहा, राजन श्रीवास्तव, मनिष कादमिया, श्याम सर्राफलगायतको टोलीले उनीहरूको उद्धार गरेको हो ।


अभियन्ता थारुका अनुसार, माइस्थान मन्दिर परिसरबाट २ महिला र पुरुष, महावीर मन्दिर पछाडिबाट १ वृद्ध र एक मानसिक रोगी पुरुष, अलखिया मन्दिर अगाडिबाट १ महिला, एक पुरुष र १ दुधे बालक, एडभान्स अस्पताल क्षेत्रबाट एक मानसिक रोगी, एक वृद्ध र एक छारेरोगीलाई उद्धार गरिएको छ ।


नारायणी अस्पताल परिसरबाट २ वृद्धा महिला, बसपार्कबाट १ वृद्ध र अर्का दृष्टिविहीनको उद्धार गरिएको हो । सडक जीवन बिताइरहेकाहरूको खोजी अभियान चलाइएपछि एकै दिनमा यति धेरै जनाको उद्धार गर्न सफलता मिलेको उनले बताए । ‘उद्धार गरिएका अधिकांशको जीवन कष्टकर थियो,’ उनले भने, ‘केहीलाई आफू कहा र कुन हालतमा छु भन्ने सम्म होस थिएन, खान र

न्यानो लगाउन नपाएर उनीहरू काँपिरहेका थिए ।’


२०७४ जेठ १५ बाट सेवा सुरु गरेको आश्रम वीरगन्ज शाखाले यसरीनै सडकमा बेवारिसे अवस्थामा फेला परेकाहरूलाई उद्धार गरेर नि:शुल्क बसोबास, उपचार र परिवारसँग पुनर्मिलन गराउने गर्दै आएको छ । यसअघि नै वीरगन्ज शाखामा ३ दर्जन यस्ता बेसहाराले आश्रय लिइरहेका छन् । वीरगन्ज लगायतका मुलुकका सबै जिल्लामा सेवा दिने लक्ष्यका साथ सञ्चालित आश्रमको मुख्यालय हेटौंडामा छ ।

प्रकाशित : माघ ३, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?