गाउँपालिकाको बजेट बल्ल सार्वजनिक

पूर्वकार्यकारी प्रमुखका कारण बजेट ल्याउन ढिला भएको दाबी 

जनकपुर — धनुषाको सीमावर्ती मुखियापटी मुसरनिया गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ सालको नीति, कार्यक्रम तथा बजेट सात महिना ढिलो सार्वजनिक गरेको छ ।

पूर्वकार्यकारी अधिकृत हरिशंकर यादव गत आर्थिक वर्षको बिल, विजक तथा माइनुटसहितका आधिकारिक कागजपत्र हस्तान्तरण नै नगरी अन्त सरुवा गराएर गएका कारण बजेट ल्याउन ढिलो भएको अध्यक्ष मनोजकुमार यादवले बताए । मुखियापटी मुसरनिया गापाले चालु आर्थिक वर्षका लागि २५ करोड ९५ लाख ८१ हजार बजेट प्रस्ताव गरेको छ ।


सोमध्ये चालुतर्फ १८ करोड ३३ लाख ७० हजार तथा पुँजीगततर्फ ८ करोड ६२ लाख ११ हजार बजेट प्रस्ताव गरेको छ । कार्यकारी अधिकृत सत्यनारायण साहका अनुसार चालु आर्थिक वर्षको बजेटमा कृषि विद्युतीकरण,लामखुटे नियन्त्रण,बेटी बचाऊ अभियान, विद्यालय भर्ना तथा जेहेन्दार विद्यार्थीका लागि विशेष योजना प्रस्ताव गरेको छ ।


यसैगरी क्यान्सर लगायतका असाध्य बिरामी, बर्थिक सेन्टरमा प्रसूति गराउने महिलाहरूलाई विशेष भत्ता दिने प्रस्ताव पनि गरिएको छ । पूर्व,पश्चिम र दक्षिण गरी तीनतर्फबाट भारतले घेरिएको मुखियामटी मुसरनिया गाउँपालिकासँग भारतको मधुवनी र सीतामढी जिल्ला तथा नेपालको धनुषा र महोत्तरी जिल्लाको सिमाना पनि छोएको छ ।


जमुनी, विगही, घाघर र विगही–जमुनी नदीबाट चारैतिरबाट घेरिएको यो गापा नेपालकै होचोमा पर्छ । बाढीको उच्च जोखिममा रहेको यसलाई आदर्श गाउँपालिकाका रूपमा विकसित गर्ने प्रतिबद्धता वडाध्यक्षहरूले व्यक्त गरेका छन् ।


‘हाम्रो गाउँपालिका मुलुककै सबभन्दा होचो स्थान हो । नेपाल र भारतको सीमामा अवस्थित यस गापालाई भारतका दुई तथा नेपालका दुई जिल्लाले छोएको छ । हामी यस भौगोलिक विशेषतालाई अवसरका रूपमा सदुपयोग गर्न चाहन्छौं,’ अध्यक्ष यादवले भने ।


सरकारले असहयोग गरे

आर्थिक वर्ष २०७४/०७५ को बजेट परिचालन गरी यसको बिल,विजक तथा माइनुट पुस्तीका समेत बुझ बुझारथ नगरी सरुवा गराएर अन्त गएको पूर्वकार्यकारी अधिकृत हरिशंकर यादवमाथि कार्यवाही हुनुपर्ने माग गापाका पदाधिकारीहरूले गरेका छन् ।


पूर्व काका अधिकृत यादव गाउँपालिकाका अध्यक्षलाई जानकारी नै नदिई सिरहाको औरही गाउँपालिकामा सरुवा गराएका थिए । अन्त सरुवा भएपछि गापा मातहातको कागजपत्र तथा हर हिसाव हस्तान्तरण गर्नुपर्ने तथा रबवाना पत्र लिनुपर्ने प्रावधान भए पनि उनले बिनासूचना अन्त हाजिर भएको अध्यक्ष यादवले बताए ।


गाउँपालिकाको कागजपत्र बुझ बुझारत गर्न आफूले सिरहाको औरही गापा तथा सरोकारवाला मन्त्रालयलाई समेत पत्राचार गरेको अध्यक्ष यादवले जानकारी दिए । ‘मन लागेको कर्मचारीलाई पठाउने अनि सूचना नै नदिई सरुवा गर्ने प्रवृत्तिले स्थानीय तहमा काम गर्ने वातावरण बिथोलिएको छ । पालिकाको कागजपत्र बुझ बुझारथ नगर्ने अधिकृतमाथि कसले कारवाही गर्ने ?’ अध्यक्ष यादव भने ।

प्रकाशित : माघ ४, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?