कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उखु काट्न किसान व्यस्त

चाँडोभन्दा चाँडो उखु चिनी मिललाई बिक्री गर्न अहिले किसान हतारिएका छन्
पवन यादव

सिमरा — लामो समयदेखि उखुको मूल्य निर्धारण विवादका कारण सञ्चालन हुन नसकेका चिनी मिल सञ्चालनमा आएपछि यहाँका किसान अहिले उखु कटान गर्नमा व्यस्त भएका छन् । 

चाँडोभन्दा चाँडो आ आफ्नो खेतको उखु चिनी मिलसँग बिक्री गर्न किसान अहिले हतार गरिरहेका छन् । चाँडो उखु नचलाए बजन घटेर घाटा लाग्ने, गर्मीका बेला मजदुर नपाउने लगायतका समस्या हुने चिन्ताले किसानहरू हतार गर्न थालेका हुन् ।


बाराको श्रीपुरस्थित रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि (चिनी मिल) आइतबारदेखि सञ्चालनमा आएको छ । विवाद टुंगिएपछि चिनी मिल सञ्चालन गरिएको रिलायन्स सुगर एन्ड केमिकल इन्डास्ट्रिज प्रालिका एमडी (सञ्चालक) राजकुमार अग्रवालले जानकारी दिए । ‘हामी पहिलादेखि नै तयारी अवस्थामा थियौं,’ उनले भने, ‘मूल्य विवादका कारण चिनी मिल सञ्चालन हुन सकेको थिएन ।’


विवाद समाधान भएपछि चिनी मिल सञ्चालन गरिएको उनले जानकारी दिए । किसानले बिक्रीका लागि ल्याएको उखुबाट यार्ड भरीभराउ देखिएको छ । हालै भएको सहमतिअनुसार ४ सय ७१ रुपैयाँ २८ पैसा उद्योगले तिर्नुपर्ने र ६५ रुपैयाँ २८ पैसा सरकारले अनुदानस्वरूप रकम किसानलाई उपलब्ध गराउनुपर्ने छ ।


उद्योगले दिने उखुको मूल्य र सरकारी अनुदान रकम जोडेर यसपालि ५ सय ३६ रुपैयाँ ५६ पैसा उखुको मूल्य निर्धारण गरिएको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाले जाकारी दिए । नयाँ र पुराना गरी साढे १४ हजार विगाहामा बारा र पर्सामा उखु खेती गरिएको चिनी मिलले जनाएको छ ।


गत वर्ष १० हजार ५१ किसानले उखु खेती गरेका थिए भने अहिले त्यो तथ्यांक बढेर १३ हजार ३ सय २४ मा पुगेको चिनी मिलले जनाएको छ । ‘अहिले नयाँ २ हजार ८ सय ९१ विगाहा क्षेत्रफलमा उखु खेती थपिएको छ,’ केन शाखाका कर्मचारी नन्दलाल कुशवाहाले भने, ‘३ हजार २ सय ९१ नयाँ किसान उखु खेती गर्ने सूचीमा सामेल भएका छन् ।’


उद्योगले गएको सिजनमा बारा र पर्साका गरी १० हजार ५१ जना किसानबाट उखु खरिद गरेको थियो । किसानले गत वर्ष १० हजार ७ सय ७७ विगाहा क्षेत्रफलमा उखु खेती गरेका थिए । उखु उत्पादनमा राम्रो हुन थालेपछि यहाँका किसान उखु खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।


गत वर्ष प्रतिदिन २ हजार ५ सय टन क्षमतामा उखु क्रसिङ गरेको उद्योगले यसपालि १ हजार टन क्षमता थपेर ३ हजार ५ सय टनमा पुर्‍याएको जनाएको छ ।


अब यसले ३ हजार ५ सयदेखि ४ हजार मेट्रक टनसम्म प्रतिदिन उखु पेल्ने उद्योग प्रशासनले जनाएको छ । यो सिजनमा ३८ हजारदेखि ४० हजार मेट्रिक टन उखु पेल्ने लक्ष्य उद्योगले लिएको छ । गएको सिजनमा चिनी मिलले २९ लाख १ हजार ७ सय क्विन्टल उखु क्रसिङ गर्दा २ लाख ५५ हजार ८ सय ६० क्विन्टल चिनी उत्पादन भएको उद्योग प्रशासनले जनाएको छ ।

प्रकाशित : माघ ४, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?