गण्डकको साँचो भारतबाट फिर्ता

पर्सा — गण्डक नहरमा नेपालतर्फ छाडिने पानीको गेट प्रणालीको साँचो ४ वर्षपछि भारतीय पक्षले फिर्ता गरेको छ ।

गण्डकको साँचो भारतबाट फिर्ता

गण्डक नहर हेर्ने पश्चिम चम्पारण रामनगरस्थित दोन शाखा नहरका अधिकारीले २ साताअघि साँचो फिर्ता गरेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले जनाए । दोन शाखा नहरका अधिकारीले आफ्नो कार्यालयका अधिकारीलाई उक्त साँचो हस्तान्तरण गरेको उनले बताए ।


नहरको गेटको मर्मत सम्भार प्रयोजनका लागि भन्दै भारतीय पक्षले ४ वर्षअघि साँचो लगेपछि नेपाली पक्षलाई फिर्ता गरेको थिएन । पर्साको जानकीटोलाभन्दा पश्चिम भारतीय गाउँ इनर्वास्थित नेपाल–भारत सीमामा गण्डक नहरको नियन्त्रण प्रणालीको गेटको साँचो भारतीय पक्षले यसरी राखेको थियो ।


‘त्यो साँचो वास्तवमा नहरको गेट उठाउने ह्यान्डल हो, जुन हाम्रो कार्यालयमा हुने गरेको थियो, हामीले आफ्नो आवश्यकताअनुसार उक्त ह्यान्डलको प्रयोग गथ्र्यौ,’ इन्जिनियर साहले भने,’ इन्जिनियर साहले भने, ‘त्यो हाम्रो हातमा नहुँदा हामीलाई चाहिएका बेला र चाहिए जति पानी लिन सक्थेनौं, अब सहज भएको छ ।’


यस अघि डिभिजन कार्यालय आफैंले उक्त साँचो राख्दै आएको थियो । भारतीय पक्षले उक्त साँचो लगेपछि नेपालतर्फ आफूअनुकूल पानी दिने गरेको थियो । जसले नेपाली किसानलाई मर्का पर्दै आएको थियो । सीमामा रहेको नहरको गेट नेपालका लागि अत्यन्त महत्त्वपूर्ण छ । उक्त गेटमा नहरमा बग्ने पानीको मात्रा नाप्ने प्रणालीका साथै भारतबाट नेपालतर्फ छाडिने पानीको मात्रा थपघट गर्न सकिने प्रणाली पनि छ ।

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । ९२ किमि लामो यो नहरले पर्सा, बारा र रौतहटको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिंचित गर्ने लक्ष्य थियो । तर भारतबाटै पर्याप्त पानी नछोडिने भएकाले पर्सा र बाराका पूर्वी भेग सम्म मात्र पानी पुगिरहेको छ ।

प्रकाशित : माघ ५, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?