१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उखु बन्यो नगदे आम्दानी

‘उखु खेती हाम्रा लागि नगद आम्दानी हुने बरदान सावित भएको छ, २/३ दिनको फरकमा ज्याला पाउँछौं’
पवन यादव

सिमरा — उखु यहाँका किसानका लागि मात्र नभई महिला मजदुरका लागि पनि फलदायी सावित भएको छ । घरको काममा साँघुरिएकी गृहणी महिलाका लागि फराकिलो रोजगारीको सिर्जना गरेको छ । 

उखु बन्यो नगदे आम्दानी

घरमै समय बिताइरहेका यहाँका गृहणीलाई पनि नगद आम्दानीको मुख्य सेत उखु बनेको छ । उखुको सुकेको पात, झारपात, हरियो पगार सफा गरेबापत महिलाले नगद आम्दानी गर्न थालेका हुन् । उखुको कटान सिजन खेतीपाती गर्ने महिलाका लागि नगदे आम्दानीको स्रोत बनेको महिला मजदुरले बताएका छन् ।


केही महिना पुग्ने गरी अन्न धान भित्र्याउने सिजनमा कमाइसकेका महिला मजदुर नगदे आम्दानी गर्न अहिले काटिएको उखु सफा गर्न र सम्याउन व्यस्त देखिएका छन् । घुँघटे प्रथालाई चिर्दै यहाँका महिलाहरू घर बाहिरको रोजगारीमा खटिन थालेका हुन् ।


नगद आम्दानी हात पार्न कलैया उपमहानगरपालिका २ पकडी निवासी फुलपती देवी रामले गाउँलेको खेतमा कटान गरिएको उखुको झारपात सफा गर्न घरबाट २ किलोमिटर टाढा रहेको खेतमा आईपुगेकी थिइन् । ‘घरमा खाली बस्नुभन्दा काम गरी रहे राम्रो हुन्छ,’ उनले भनिन्, ‘उखु अहिले हाम्रा लागि नगद आम्दानीको स्रोत बनेको छ ।’ गाउँमा काम गरेबापत उखु छिलेपछि मात्र नगद मजदुरी पाउँछ । बाँकी सबै किसानी काम गर्दा अन्न ज्याला पाउने गरेको उनले बताइन् ।


बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्म दिनभरी उखु सफा गरेवापत दिनको २ सय रुपैयाँ नगद ज्याला पाउने गरिएको उनले सुनाइन् । यो काममा खासै मेहनत पनि गर्नु पर्दैन । पुरुष मजदुरले उखुको बोट काटेर पलउर (काटिएको उखुको एक ठाउँमा राख्नु) लगाइदिन्छन् । त्यही पलउरमा राखिएको उखुको झारपात सफा गरिदिन्छौं । घरबाट खाएर गाउँघरमै नगद आम्दानी हुन थालेपछि केही महिना नगदका लागि पतिलाई गुहार्ने समस्या समेत टरेको महिला मजदुरले बताएका छन् ।


कलैया उपमहानगरपालिका २ दोहरीकी ६५ वर्षीया दुखनी देवी राम पनि उखु छिल्न उखु खेतमा आइपुगेकी थिइन् । ‘उखु खेती हाम्रो लागि नगद आम्दानी हुने बरदान सावित भएको छ,’ उनले भनिन्, ‘२/३ दिनको फरकमा ज्याला पाउँछौं ।’ एक महिला हुन । यसरी नगद आम्दानी गरेपछि पैसाका लागि छोराको मुख ताक्नु पर्दैन । यही आम्दानीले गर्जो टार्ने गरेको उनले बताइन् ।


सोही ठोलकी शोभा राम पनि अहिले घरमा खाली कामविहीन बस्दै आएको बताइन् । ‘उखुले किसानका लागि मात्र होइन, हामी मजदुरका लागि पनि नगदे रोजगारी बनेको छ,’ उनले भनिन्, ‘५/६ दिनदेखि निरन्तर काम पाइएको छ ।’ ब्रम्पुरी सरेहस्थित २ कठ्ठाको खेतमा उखु सफा गर्न ८ जना महिला मजदुर खटिएको उनले जानकारी दिइन् ।


पहिला पहिला सुरुमा उखु काटिँदा मजदुर राख्नु पर्दैनथ्यो । घासका लागि हरियोपात (गेल्हा) का लागि नि:शुल्क एकै छिनमा घाँस काट्नेहरू उखु सफा गरिदिन्थे । अहिले त उखु सफा गराउन अनिवार्य मजदुर खटाउनुपर्ने बाध्यता आएको खेत धनी ललिता देवी यादवले बताइन् । ‘हामीलाई उखुको भुक्तानी पाउन ६ महिना, वर्षदिन कुर्नुपर्छ, चिनी मिल सञ्चालकको मुख ताक्नुपर्छ ।’ उनले भने, ‘उधारोमा उखु बिक्री गरेर मजदुरलाई ज्याला र उखु ढुवानी खर्च कर्जा लिएर भए पनि नगदै तिर्नुपर्छ ।’


उखु खेती पनि विस्तारै महँगो बन्दै गएको उनले जानकारी दिए । पहिला महिला मजदुर उखुको पात सफा गर्न आउदैनथे । अहिले खेत महिला मजदुरबाट नै भरिभराउन देखिन्छ । उखुले गाउँले महिलालाई नगद आम्दानी गर्ने रोजगारी बनेको उनले जानकारी दिए ।


लामो समय देखि उखुको मूल्य निर्धारण विवादको कारण सञ्चालन हुन नसकेको बाराको श्रीपुरस्थित रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि (चिनी मिल) आइतबारदेखि सञ्चालनमा आएपछि यहाँका किसानसँगै महिला मजदुर पनि खुसी भएका छन ।


चिनी मिल सञ्चालनमा आएपछि यहाँका किसान मजदुर अहिले उखु कटान गर्नमा व्यस्त भएका छन् । चाँडो भन्दा चाँडो आआफ्नो खेतको उखु चिनी मिलसंँबिक्री गर्न किसान अहिले हतार गरिरहेका छन । चाँडो उखु नचलाए वजन घटेर घाटा लाग्ने, गर्मीको बेला मजदुर नपाउने लगायतका समस्या हुने चिन्ताले किसानहरू हतार गर्न थालेका हुन् ।


उद्योगले दिने उखुको मूल्य र सरकारी अनुदान रकम जोडेर यसपाली ५ सय ३६ रुपैयाँ ५६ पैसा उखुको मूल्य निर्धारण गरिएको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष बिरेन्द्र कुशवाहाले जाकारी दिएका छन् ।


नयाँ र पुराना गरी साढे १४ हजार विगाहा क्षेत्रफलमा बारा र पर्सामा उखु खेती गरिएको चिनी मिलले जनाएको छ । गत वर्ष १० हजार ५१ किसानले उखु खेती गरेका थिए भने अहिले त्यो तथ्यांक बढेर १३ हजार ३ सय २४ मा पुगेको चिनीमिलले जनाएको छ ।


‘अहिले नयाँ २ हजार ८ सय ९१ विगाहा क्षेत्रफलमा उखु खेती थपिएको छ,’ केन शाखाका कर्मचारी नन्दलाल कुशवाहाले भने, ‘३ हजार २ सय ९१ नयाँ किसान उखु खेती गर्ने सूचीमा सामेल भएका छन् ।’ उद्योगले गएको सिजनमा बारा र पर्साका गरी १० हजार ५१ जना किसानबाट उखु खरिद गरेको थियो । किसानले गत वर्ष १० हजार ७ सय ७७ विगाहा क्षेत्रफलमा उखु खेती गरेका थिए । उखु उत्पादनमा राम्रो हुन थालेपछि यहाँका किसान उखु खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।


गत वर्ष प्रतिदिन २ हजार ५ सय टन क्षमतामा उखु क्रसिङ गरेको उद्योगले यसपाली १ हजार टन क्षमता थपेर ३ हजार ५ सय टनमा पुर्‍याएको जनाएको छ । अब यसले ३ हजार ५ सयदेखि ४ हजार मेट्रिक टनसम्म प्रतिदिन उखु पेल्ने उद्योग प्रशासनले जनाएको छ ।


यो सिजनमा ३८ हजारदेखि ४० हजार मेट्रिक टन उखु पेल्ने लक्ष्य उद्योगले लिएको छ । गएको सिजनमा चिनी मिलले २९ लाख १ हजार ७ सय क्विन्टल उखु क्रसिङ गर्दा २ लाख ५५ हजार ८ सय ६० क्विन्टल चिनी उत्पादन भएको उद्योग प्रशासनले जनाएको छ ।

प्रकाशित : माघ ६, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?