विद्यालय व्यवस्थापन चुनावमा तामझाम

ओमप्रकाश ठाकुर

सर्लाही — जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने गोडैता नगरपालिका–८ स्थित वेणी भोला नमुना माध्यमिक विद्यालयमा शुक्रबार भएको व्यवस्थापन समितिको चुनाव कुनै जिल्ला तहको चुनावभन्दा कम थिएन ।

यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकले मात्र व्यवस्थापन समितिमा चुनिने भए पनि जिल्लाको कुनै प्रमुख चुनिए जस्तै झझल्को दिएको थियो । एउटा विद्यालय व्यवस्थापनको चुनावमा हरेक पार्टीका जिल्ला तहका नेताहरू उपस्थित थिए ।


निर्वाचनका लागि उम्मेदवारहरू आ–आफ्नो पक्षमा मत पार्न अन्तिम समयसम्म व्यस्त थिए । उम्मेदवार मात्रै हैन उनलाई सहयोग गर्न माउ पार्टीकै जिल्लाका नेता तथा कार्यकर्ता सक्रिय देखिन्थे । आफ्नो पार्टी निकट विद्यार्थीका अभिभावकलाई मत दिनका लागि बिहानै देखि कार्यकर्ताहरू विद्यार्थीको घरघरमै पुगेर भोट माग्न दबाब दिइरहेका थिए ।


एक सरकारी विद्यालयमा व्यवस्थापन समिति चयन गर्नुपर्ने भए पनि जिल्ला तहको कुनै प्रमुख चयन गर्न लागेकै निर्वाचनको झझल्को दिने गरी मतदानको प्रचारप्रसार व्यापक बनाइएको थियो । नेकपा, नेपाली कांग्रेस र राजपा निकट अभिभावकहरू चुनावी मैदानमा उभिएका थिए ।


माउ पार्टीका जिल्ला तहका नेता कार्यकर्तासहित केही स्थानीय तहका प्रमुख समेत सो विद्यालयको व्यवस्थापन समितिमा आफूनिकट अभिभावकलाई जिताउन लागिपरेका थिए । तामझामका साथ सम्पन्न विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रक्रियामा आफ्नो पार्टीको पक्षमा जनमत पुर्‍याउन उनीहरू आफूनिकट अभिभावकको पक्षमा उभिएका थिए ।


विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा पार्टिगत रूपमा अभिभावक र जिल्ला तहका नेता नै संलग्न हुनुले शिक्षाको स्तर घट्नेमा आफूहरू चिन्तित रहेको पूर्वशिक्षक एवं नागरिक अगुवा रजनिकान्त झाले बताए । उनले विद्यालय व्यवस्थापन समितिको चुनावमा जिल्लाकै नेताहरूले अतिरञ्जीत बनाएको आरोप लगाए ।


‘शिक्षामा सवैको मन शुद्ध हुनुपर्छ, विद्यालय व्यवस्थापन गर्ने नेतृत्वको भिजन राम्रो हुनुपर्छ,’ झाले भने, ‘पछिल्लो समय व्यवस्थापन समितिको नाममा विद्यालयमा राजनीति हुन थाल्यो, यसले विद्यार्थीको पठनपाठनमा असर पुगिरहेको छ ।’


स्थानीय तहअन्तर्गत सामुदायिक विद्यालय आए पनि सामुदायिक विद्यालयको शिक्षामा सुधार आउन सकेको छैन । समितिको चुनावमा स्थानीय तहकै प्रमुख आफ्नो पार्टी निकटका अभिभावक जिताउन लागिपरेका छन् ।


नागरिक अगुवा झाले विद्यालय व्यवस्थापन समितिमा आफ्नो पार्टी निकटभन्दा पनि विज्ञता र काम गर्ने अभिभावक चुनिनेमा जोड दिए । झाले भने, ‘व्यवस्थापन समितिको चुनावमा आफ्नो माउ पार्टीको नेतालाई बोलाउनु र नेताले पनि चासो लिनु जरुरी थिएन, यो दुर्भाग्य हो, दक्षिणी क्षेत्रको सामुदायिक विद्यालयको शिक्षामा आमुल परिवर्तन अहिले सम्भव देखिएको छैन ।’


दस पटकसम्म भएको अभिभावक भेलामा सहमति जुट्न नसकेपछि सर्वपक्षीय बैठकको निर्णयअनुसार समितिको चुनाव भएको हो । विद्यालय परिसरमा आयोजित मतदानमा एक हजार दुई सय ८८ अभिभावकमध्ये एक हजार १६ ले मतदान गरेको निर्वाचन समितिका संयोजक एवं विद्यालय निरीक्षक रामअधार कुशवाहाले बताए । राजनीतिक भागबण्डामा कुरा नमिल्दा जिल्लाकै पुरानो यस विद्यालयमा तीन वर्षदेखि व्यवस्थापन समितिविहीन बनेको थियो ।

प्रकाशित : माघ ६, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?