कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नाकामै माछाको फरमालिन परीक्षण

केही वर्षयता माछापालनमा अनुदान तथा माछाको बिमा सुविधाका कारण माछापालन गर्न किसान प्रोत्साहित
शंकर आचार्य

पर्सा — वीरगन्ज नाका हुँदै भित्रिने भारतीय माछाको फरमालिनको स्थलगत नमुना परीक्षण यहाँस्थित भन्सार नाकामै गर्न थालिएको छ ।

नाकामै माछाको फरमालिन परीक्षण

पशु क्वारेन्टाइन कार्यालय वीरगन्जको प्राविधिक टोलीले वीरगन्ज भन्सार कार्यालयको ढाँटमै माछामा फरमालिन रसायन रहे नरहेको परीक्षण गरिरहेको छ ।


कार्यालयका बरिष्ठ पशु चिकित्सक डा. हरेराम यादव, पशु चिकित्सकद्वय अरुणकुमार सिन्हा र जयराम दास सहितको टोलीले यो फरमालिन किट प्रयोग गरेर माछा आयातकर्ता व्यापारीलाई स्थलगत रूपमै रिपोर्ट दिन थालिएको हो । भारतको बिहार राज्यको राजधानी पटनामा माछामा फरमालिन रसायन पाइएपछि बिहार सरकारले १४ जनवरी देखि १५ दिनका लागि पटनामा माछाको बिक्री वितरणमै रोक लगाएकाले मुलुकको मुख्य नाकामा यो कडाइ गरिएको डा. यादवले बताए ।


‘बिहीबारदेखि यो अभ्यास थालिएको हो र यसलाई निरन्तरता दिने छांै, विगतमा भारतबाट आयात हुने माछाको हामीले आफ्नै कार्यालयको ल्याबमा परीक्षण गथ्र्यांै, आयातकर्ताले माछा हाम्रो ल्याब सम्म ल्याउथे,’ उनले भने, ‘अहिले हामी आफैं नाकामै बसेर परीक्षण गर्न थालेका हौं, यसले गर्दा फरमालिन प्रयोग गरिएको माछा भित्रिने सम्भावना शून्य हुन्छ ।’ हालसम्मको स्थलगत परीक्षणमा माछामा फरमालिन रसायन नपाइएको उनले बताए ।


स्थलगत परीक्षणका क्रममा फरमालिनसँगै माछा राखिएको बाकसको कोल्ड चेन (चिस्यान राम्रोसँग गरिएको नगरिएको) पनि परीक्षण गर्ने गरिएको उनले बताए । बरफलाई राम्रोसँग धूलो बनाई माछालाई त्यसमा चिस्यान गर्दा माछा बिग्रने सम्भावना कम हुन्छ ।


पछिल्ला दिनमा यो नाका हुँदै १ दिन बिराएर २ टन माछा आयात भइरहेको उनले बताए । वीरगन्ज नाका हुँदै भित्रिने माछा वीरगन्ज बजारमा मात्र नभई हेटौंडा, नारायघाट र पोखरासम्म पनि पुग्छन् । यो नाका हुँदै भित्रिने माछा भारतकै आन्ध्रप्रदेश राज्यमा उत्पादन हुने गरेका छन् । आन्ध्र प्रदेशमा व्यावसायिक माछा पालन फस्टाएको छ ।


नामा गाई भैंसीको क्षयरोग, खोरेत, ब्रुस लोसिस आदिको परीक्षण पनि गर्ने गरिएको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुससम्ममा यो नाका हुँदै भारतबाट १ सय ३१ मे टन माछा आयात भएको छ । गत आवको यसै अवधिमा १ सय ३६ मेटन माछा आयात भएको थियो ।


गत आर्थिक वर्षभरीमा यो नाका हुँदै ७ सय ४१ मेटन माछा आयात भएको थियो । आयातको तथ्यांकले भारतबाट माछाको आयात घट्दो क्रममा रहेको र यसले स्वदेशमा माछाको निर्भरता बढ्दै गएकाले भारतबाट यसको आयात घट्दै गएको हुन सक्ने डा. यादव बताउँछन् । पछिल्ला केही वर्षयता माछापालनमा अनुदान तथा माछाको बिमा सुविधाका कारण माछापालन गर्न किसान प्रोत्साहित हुँदै गएको उनले बताए ।

प्रकाशित : माघ ६, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?