३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घाइतेको शरीरमा अझै गोली

सन्तोष सिंह

जनकपुर — तेस्रो मधेस आन्दोलनमा जनकपुरका सुनिल दासको शरीरमा तीन वटा गोली लाग्यो । काठमाडौँमा लामो समयको उपचारपछि उनको पेट र तिघ्रामा लागेको गोली झिकियो ।

घाइतेको शरीरमा अझै गोली

तर, तेस्रो गोली उनी अझै शरीरमा बोकिरहेका छन् । आन्दोलनको क्रममा ‘चलो जनकपुर, भरो जनकपुर’ अभियानमा मिसिएका दासलाई सुरक्षाकर्मीले चलाएको गोली लागेको थियो । उनको ढाडमुनि लागेको गोली अझै निकालिएको छैन । ढाडमुनिको गोली नशामा च्यापिएकाले जटिल शल्यक्रियाबाट मात्र निकाल्न सकिने चिकित्सकहरूले बताएका छन् ।


‘शरीरमै गोली रहेकाले हिँडडुल गर्न समस्या हुन्छ,’ दासले भने, ‘हेचोउँचो सडकमा हिँड्दा खुट्टा नै भाँचिन्छ । गोलीकै कारण खुट्टा दिनदिनै सुकिरहेको छ । काठमाडौँको वीर अस्पतालमा शल्यक्रिया गरी दुईवटा गोली निकाल्न सफल भए पनि एउटा गोली अझै उनको शरीरमै छ ।


घाइते दासलाई आइतबार प्रदेश २ को सरकारले राहतस्वरुप १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले उनलाई चेक हस्तान्तरण गरे ।


‘शरीरमा गोली रहेकाले निकै स्वास्थ्य समस्या झेलिरहेको छु,’ घाइते दासले मुख्यमन्त्रीसित आग्रह गरे,‘उपचारको प्रबन्ध भए काम गरेर जीविकोपार्जन गर्थेँ ।’ मुख्यमन्त्री राउतले उपचारका लागि चिकित्सकसँग सल्लाह गरिने र प्रदेश सरकारमा रोजगारीको पनि व्यवस्था मिलाउने आश्वासन दिए ।


२०७२ भदौ २५ गते दासलाई जनकपुरमा गोली लागेको थियो । मुख्यमन्त्री राउतले मधेस आन्दोलनको क्रममा घाइते र सहिद भएका परिवारलाई प्रदेश सरकारले राहत र रोजगारी दिइरहेको बताए । उनले सहिद र घाइते परिवारलाई कार्डको बन्दोबस्त गरेर सरकारी सेवा–सुविधामा सहुलियत प्रदान गरिने समेत बताए ।


यता, प्रदेश २ सरकारले मधेस आन्दोलनमा घाइते भएका ९७ जनालाई राहत प्रदान गरेको छ । मधेस आन्दोलनमा सहिद परिवारका ४६ जनालाई रोजगारी प्रदान गरेको छ ।


मधेस आन्दोलनमा ज्यान गुमाएका गरिब, विपन्न सहिद परिवारका एक जना सदस्यलाई जीविकोपार्जनका निम्ति सरकारी निकायमा योग्यता र क्षमता अनुसारको रोजगारी प्रदान गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । उनीहरूलाई प्रदेश सरकारले करार सेवामा नियुक्ति गरेको मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाँलले बताए ।


उनले मुख्यमन्त्री कार्यालयमा प्राप्त तथ्याङ्कमा ५८ सहिद परिवारमध्ये ४६ जनालाई करार सेवाको नियुक्तिपत्र प्रदान गरिएको बताए । प्रदेश सरकारले आन्दोलनमा घाइते ७४ जनालाई राहत स्वरूप करिब एक करोड २७ लाख रुपैयाँ वितरण गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ६, २०७५ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?