१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हत्या आरोपमा पक्राउ

शाहीमान राई

जनकपुर — पुस ३० गते राति जनकपुरमा मृत्यु भएकी २५ वर्षीया सिमा शर्मा र उनकी २ वर्षीया छोरी गौरी मिश्रालाई बिष खुवाएर मारेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको छ ।

माइती पक्षको उजुरीपछि मृतक शर्माका सासु–ससुरालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । मृतकका श्रीमान् भने फरार छन् ।


जनकपुर उपमहानगरपालिका–४ सरञ्चियाकुटीका ६४ वर्षीय श्यामसुन्दर मिश्रा र उनकी श्रीमती ५५ वर्षीया किरणदेवी मिश्रालाई बुहारी २५ वर्षीया सिमालाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृतक सिमाका पति ३५ वर्षीय समिर मिश्रा भने फरार छन् । उनीहरूविरुद्ध मृतक शर्माको दाजु महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमणपुराका ३२ वर्षीय सुजितकुमार शर्माले कर्तव्यज्यान कसुरमा मुद्दा चलाउन किटानी जाहेरी दिएका छन् ।


गत सोमबार साँझ १० बजे शर्माको पति समिर, ससुरा र सासुले निवासमै बिष सेवन गराई हत्या गरेर फरार भएको आरोप लगाउँदै उजुरी दिएका हुन् । पुस ३० गते राति १० बिष खुवाएको र १२ बजे रामजानकी अस्पतालले मृत घोषणा गरे पनि माइती पक्षलाई जानकारी नदिएको सुजितले बताए । अस्पतालमा ड्युटीमा रहेका प्रहरीले खवर गरेपछि राति २ बजे पुग्दा बहिनीका नन्द सुमन ठाकुर र उनका श्रीमान् जितेन्द्र ठाकुर मात्रै रहेकाले बहिनीको हत्या भएको बताए ।


आमासँगै अस्पताल पुर्‍याइएकी २ वर्षीया काखे बालिका गौरीको समेत माघ १ गते राति ९ बजे मृत्यु भएपछि माइती पक्षले बहिनी र भान्जीको विष खुवाएर हत्या गरेकाले न्याय दिलाइदिन माग गर्दै माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बताए ।


माइतीपक्षको किटानीपछि जिल्ला प्रहरी कार्यालयले मृतकका ससुरा र सासूलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । किटानी जाहेरी परेका मुख्य दोषी आरोपित सिमाका पति समिर फरार छन् । उनको खोजी भइरहेको प्रहरी उपरीक्षक थपलियाले बताए ।


जनकपुरका समिर र सिमाबीच २०७० बैशाख २९ गते मागी विवाह भएको थियो । विवाहमा दहेजका लागि ८ लाख नगद, २ लाख ३६ हजार रुपैयाँको पल्सर मोटरसाइकल र २ तोला सुनको औंठी दिएको सुजित शर्माले बताए । विवाहपछि पनि बहिनीलाई घरबाट दाइजो माग गर्दै शारीरिक तथा मानसिक यातना दिन थालेपछि ज्वाइँ समिरलाई थप २ तोला आधा सुनको औंठी र आधा किलो (५ सय ग्राम) चाँदी पनि दिएको बताए ।


तर यतिले पनि नपुगेर केही दिनअघि मात्रै एक लाख रुपैयाँ नगद र एउटा वासिङ मेसिन माग्न लगाएको सुजितले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा दु:खेसो पोखे । ‘थप दाइजो एक लाख नगद र वासिङ मेसिन नदिएकै कारण बहिनीको ज्यान जान्छ भन्ने लागेन,’ सुजितले भने ।


जनकपुरमा डेढ कठ्ठा घडेरीमा २ तले घर भएका मिश्रा परिवारले सिमालाई पटकपटक शारीरिक यातना, कुटपिट, गालीगलौज, मानसिक तनाव दिँदै आए पनि समाजमा बदनाम हुने डरले प्रहरीमा उजुरी दिन नमानेको मृतककी फुफू सरिता शर्माले बताइन् । ‘बेला–बेलामा केटी मन परेन, दाइजो कम भयो भन्दै कहिले सुनको सिक्री माग्ने, कहिले पाउजु माग्न लगाउथे,’ उनले भनिन्, ‘घरवार परिवार राम्रो होस् भन्ने उद्देश्यले माइती पक्षबाट ज्वाइँको माग पूरा गर्दै आएको थियो ।’


उनीहरूविरुद्ध २ जनाको ज्यान लिएकाले अपराधसंहिता परिच्छेद १२ को ज्यानसम्बन्धी कसुर दफा १७७ र १७८ बमोजिम कानुनी कारबाही गर्न जाहेरी परेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक थपलियाले बताए । प्रहरी उपरीक्षक थपलियाले मृतकका सासू ससुरा पक्राउ परे पनि पति फरार हुनुले घटना रहस्यमय भएको बताए ।


पक्राउ परेका श्यामसुन्दर मिश्राको कान्छो छोरा शशि मिश्राले भने घरपरिवारमा राम्रो सम्बन्ध भएको दाबी गरे । ‘सिमा शर्मा आफैंले विष सेवन गरेकी हुन्, सासू–ससुरा कसैले पनि बिष खुवाएको होइन,’ उनले भने, ‘दाजुभाउजू पतिपत्नीबीच झगडा भएको भए थाहा छैन ।’

प्रकाशित : माघ ७, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?