घाइते प्रहरीको उपचार खर्च सरकारले व्यहोर्ने

जनकपुर — ड्युटीमा रहेका बेला गोली लागेर घाइते भएका सप्तरीमा कार्यरत प्रहरी हवल्दार महेन्द्र यादवलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले भेटेका छन् ।

घाइते प्रहरीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत्त प्रहरी हवल्दारलाई मन्त्री यादवले भेटेर उपचार अगाडि बढाउन आग्रह गरेका छन् ।


सप्तरीको खडग नगरपालिकाको बिसनपुर चोकमा बुधबार साँझ ड्युटीमा खटिएका प्रहरी हवल्दार यादवमाथि गोली प्रहार गरिएको थियो । ३ वटा मोटरसाइकलमा आएको समूहले उनीमाथि गोली प्रहार गरेको गरी दक्षिणतर्फ भागेका थिए । मन्त्री यादवले ढाडमा लागेको गोलीले उनको खुट्टाको तलको भाग समेत अचेत बनेको बताए ।


‘उपचारका लागि काठमाडौंमा रहेका प्रहरी हवल्दारलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसित आग्रह गरेको छु,’ मन्त्री यादवले आइतबार कान्तिपुरसँग भने, ‘सम्भव सबै उपचार गर्न र उनको उपचार खर्च हुने सबै पैसा प्रदेश सरकारले व्यहोर्ने भनेको छु ।’


मन्त्री यादवले प्रहरी हवल्दारको ढाडमा रहेको गोली निकाल्न समस्या भएको र जटिल शल्यक्रिया गर्नुपर्ने भएकाले समय लागेको बताए । एमआरइ गरेर गोलीको अवस्था बुझ्ने चिकित्सकको प्रयास असफल बनेको छ ।


एमआरआइको चुम्बुकीय दबाबले गोली अन्तै सर्ने र अवस्था जटिल हुने भएकाले चिकित्सकहरूले प्रहरी हवलदार यादवको ढाडमा रहेको गोली निकाल्न सकिरहेका छैनन् ।


‘बाहिरबाट डाक्टर ल्याउनु परे पनि ल्याउनुस् । तर, उपचारमा कुनै कमी नहोस् भनेको छु,’ मन्त्री यादवले भने, ‘प्रहरी हवल्दारलाई नै भेटन काठमाडौं गएकाले लहानमा आयोजित बलिदानी दिवसमा सहभागी हुन सकिन ।’ गोली लागेर गम्भीर बनेका प्रहरी हवल्दार यादवको उपचार विराटनगरमा सम्भव नभएपछि बिहीबार हेलिकप्टरमा काठमाडौं लगिएको थियो ।


उनलाई गोली हानिएको ठाउँमा प्रगतिशिल तराई मुक्ति मोर्चाको पर्चा समेत भेटिएको थियो । आफूलाई प्रगतिशिल तराई मुक्ति मोर्चाका सैन्य प्रमुख बताउने निशान्तले प्रहरीमाथि गोली प्रहार गरेको दाबी गरे । मन्त्री यादवले प्रहरी हवल्दारमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको बताए । उनले घाइते प्रहरी हवल्दारको उपचारका लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।

प्रकाशित : माघ ७, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?