सीमामा संयुक्त गस्ती

सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि, अवैध काराबार, तस्करी रोक्न नेपाल र भारतका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा संयुक्त गस्ती गरेका हुन् ।
शिव पुरी

रौतहट — सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका हुन् ।

सीमामा संयुक्त गस्ती

सीमा क्षेत्रमा केही समययता खुद्रे तस्करको दबदबा छ । खुला सीमा भएकाले आपराधीहरू सजिलै आफ्ना गतिविधि गरी वारिपारि गर्न सक्ने सुरक्षा अधिकारीको ठम्याइ छ ।


सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि, अवैध कारोवार, तस्करी रोक्न दुई देशका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा संयुक्त गस्ती गरेका हुन् । नेपाल भारतबीच खुला सीमा भएकाले यहाँ हुने कुनै पनि गतिविधिले दुबै देशलाई असर पुग्ने सुरक्षा अधिकारीको भनाइ छ । अबैध रूपमा भित्रिने सामानका कारण सरकारी राजस्वमाथि प्रतिकुल असर पारिरहेकाले निरुत्साहित बनाउन संयुक्त पैदल गस्ती सुरु गरिएको सशस्त्र प्रहरीको ११ नम्बर गणका एसपी कृष्ण ढकालले बताए ।


‘दुई सातादेखि हामीले निरन्तरत गस्तीलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘यसले दुबै देशलाई फाइदा हुन्छ । सुरक्षा लगायतको सवालमा सीमामा हुने कुनै पनि गतिविधि निस्तेज पार्न सक्छौं ।’ दुवै देशका सुरक्षाकर्मीले सीमामा गस्ती र चेकजाँचमा कडाइ गरेका छन् ।


भारतसँग रौतहटको पूर्वी बागमतीको ड्यामदेखि पश्चिमको ईशनाथ नगरपालिकाको अन्तिम क्षेत्रसम्म २९ किलोमिटर सीमा जोडिएको छ । खुला नाका भएकाले सशस्त्र प्रहरीको लक्ष्मिपुर बेलविछवा, गौर भन्सार, औरैया, रामपुरखाप र बंकुल गरी पाँच वटा बोर्डर आउट पोस्टले नियमित रूपमा ज्वाइन्ट गस्ती सञ्चालनमा ल्याएको छ ।

यसले आपराधिक क्रियाकलापका साथै सीमा क्षेत्रमा हुने चोरीतस्करी समेत नियन्त्रणमा आएको एसपी ढकालको दाबी छ । सीमा क्षेत्रमा केही समययता खुद्रे तस्करले सुरक्षार्मीको आँखा छलेर साइकल, मोटरसाइकलमा सामानहरू ओसारपसार गर्दै आएको पाइएको छ । उनीहरू रातिको समयमा बढी चलखेल गर्न खोज्छन् । सशस्त्रले यस बीचमा कपडा लगायतका तस्करका सामान बरामद गरेको थियो । गस्ती सुरु भएयता २२ लाखका सामान बरामद गरेको सशस्त्र प्रहरीले जनायो । तस्कर लगायतका आपराधिक गतिविधि हुन नदिन संयुक्त गस्तीलाई प्राथमिकता दिइएको सुरक्षा अधिकारीको भनाइ छ ।


पिलर रेखदेख

एसएसबी र सशस्त्र प्रहरीले दसगजा क्षेत्रमा रहेको सीमास्तम्भको समेत नियमित रूपमा अनुगमन गर्दै आएको छ । सीमा क्षेत्रको ३२ किलोमिटरमा १५ वटा मुख्य पिलर, २९ सहायक र १ सय १५ वटा साना पिलर रहेको छ । तीमध्ये केही जीर्ण भइसकेको छ । नापी विभागको तथ्यांकअनुसार भारत र रौतहटको सीमामा गाडिएका स्तम्भमध्ये १७ वटा हराएको छ ।


जिल्लाको ब्रम्हपुरी र महादेवपट्टीको बीचमा पर्ने ३४४ र ७ नम्बर स्तम्भ हराएको छ । ब्रम्हपुरीस्थित बागमती र महादेवपट्टीस्थित लालबैया नदीमा समेत पिलर हराएको नापी विभागले जनायो । ६ महिनाअघि सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्थाबारे दुवै देशका प्राविधिक टोलीले संयुक्त रूपमा रौतहटको पूर्वी सीमादेखि निरीक्षण अध्ययन सुरु गरेका थिए ।


सेप्टेम्बर १३ देखि १५ तारेखमा भारतको देहरादुनमा सम्पन्न भएको सर्भे आफिसियलस कमिटी (एसओसी) को सातौं बैठकमा तय गरेको कार्यक्रमअनुसार सन् २०१७ र २०१८ को नेपाल–भारत सीमासम्बन्धी संयुक्त फिल्ड कार्यका लागि दुबै देशका सर्भेयर सम्मिलित ४/४ वटा संयुक्त टोली भारतीय सीमासँग जोडिएका नेपालका २६ जिल्लामा टोली खटिएका थिए ।


यसअघि सन् २००६ मा सीमा स्तम्भ अनुगमन निरीक्षण संयुक्त रूपमा भएको थियो । लामो समयको अन्तरालपछि सीमा स्तम्भ निरीक्षण गरिएको हो । भारत र नेपालको सीमा छुट्याइएको दसगजामा कुल ९ सय २७ वटा ठूला अर्थात् जंगे पिलर छ । यी पिलरको संयुक्त गस्तीले निगरानी र अनुगमन गर्दै आएको सशस्त्र प्रहरीले जनायो ।


साना हतियार चुनौती

‘बिहारी शैली’ का कारण मुलुकको राजनीतिमा चर्चित तराईको प्रमुख जिल्लामध्ये रौतहटमा भारतीय सीमा क्षेत्रबाट भित्रिने साना हतियार सुरक्षा चुनौती बनेको छ । खुला सीमाका कारण पेसेवर आपराधिक प्रवृत्तिका मानिस र साना हतियारको ओसारपसार मुख्य चुनौती रहेको सुरक्षा अधिकारीको ठम्याइ छ ।


पछिल्लो समय सुरक्षा गस्ती र चेकजाँचमा कडाइ गरेपछि यस्ता हतियार भित्रिन नपाएको सुरक्षा अधिकारीको दाबी छ । राजनीति आवरणमा निर्वाचनका बेला हुने आपराधिक प्रवृत्तिका मानिस र उनीहरूले पारिबाट ल्याउने साना हतियार रोक्न स्थानीय प्रशासनलाई चुनौती हुने गरेको थियो ।


जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले सीमा पारिबाट साना हतियार आउन नदिन सीमाक्षेत्रमा चेकजाँच कडाइ गर्दै आएको बताए । ‘अहिले साना हतियार भित्रिएको छैन,’ उनले भने, ‘सीमामा सशस्त्र नेपाल प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्तीले यस्ता गतिविधि निस्तेज भएको छ ।’


भारतमा त्यस्ता साना हतियार २ हजारदेखि माथि पर्न जान्छ । स्रोतका अनुसार त्यस्ता हतियार भारतको सितामाढी, ढेङ्ग, बैरगनिया, मोतिहारी, फुलवरीयालगायतका सहरबाट बिक्री हुने गरेको छ ।

प्रकाशित : माघ ७, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?