२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छात्रालाई ‘मिसन साहसी’

स्कुले छात्राहरूलाई शारीरिक तथा मानसिक रूपले मनोबल बढाउन मिसन सञ्चालन
शंकर आचार्य

पर्सा — महिला आत्मरक्षा र आत्मविश्वास वृद्धिका लागि वीरगन्जमा ‘मिसन साहसी’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वीरगन्ज नगर एकाइको आयोजनामा सञ्चालन भइरहेको यस मिसनका प्रशिक्षकहरूको प्रशिक्षण कार्यक्रम आइतबारबाटै वीरगन्जमा सुरु भएको छ । प्रशिक्षणमा ५० सहभागी छन् । 

छात्रालाई ‘मिसन साहसी’

मिसनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिषदकी प्रदेश नम्बर २ की अध्यक्ष लक्ष्मी कर्णले देशभरि बढिरहेको महिला हिंसा र दुव्र्यवहारका घटनालाई न्यूनीकरण गरी स्कुले छात्राहरूलाई यसविरुद्ध लड्न शारीरिक तथा मानसिक रूपले मनोबल बढाउन मिसन सन्चालन गरिएको बताइन् ।


महानगरका सामुदायिक र संस्थागत गरी ५० विद्यालयका कक्षा ७ देखि ९ सम्मका छात्राहरूलाई प्रशिक्षित गर्ने उद्देश्य मिसनको रहको उनले बताइन् । मिसनकी संयोजक डा. सुषमा तिवारी द्विवेदीले यसरी ७ दिने प्रशिक्षणबाट महानगरका विभिन्न विद्यालयका गरी १ हजार २ सय छात्राहरू प्रशिक्षित हुनेछन् । उनीहरू आफूहरूउपर हुने दुव्र्यवहार र हिंसाविरुद्ध लड्न मानसिक र शारीरिक रूपबाट समेत सक्षम हुनेछन् ।


‘हामी सबैले महिला हिंसा र दुव्र्यवहारमुक्त समाजको अपेक्षा गरिरहेका छौं र सबैले प्रयास पनि गरिरहेका छौं,’ उनले भनिन्, ‘तर त्यो सानो प्रयासले मात्र समाजमा नारी सम्मान, सुरक्षा र आत्मसम्मानको वातावरण निर्माण गर्न सक्ने परिस्थिति नहुन सक्छ ।’


समाजमा बढिरहेका महिलामाथिका दुव्र्यवहार, हिंसा र घटनाहरूको न्यूनीकरणका लागि फरक तरिकाले सोच्ने र प्रत्येक नारीलाई आफ्नो रक्षाका लागि आफैं सक्षम बनाउने दिशामा अग्रसर हुन आवश्यक रहेको उनले बताइन् ।

नि:शुल्क दिइने प्रशिक्षणपछि माघ २१ गते प्रशिक्षित छात्राहरूको छात्रा सम्मेलन हुनुका साथै प्रशिक्षण प्रदर्शनीको सार्वजनिक समारोह पनि आयोजना गरिने उनले जानकारी दिइन् ।


छात्राहरूलाई नेपाल प्रहरीकी उपरीक्षक किरण बज्राचार्य लगायतकाले प्रशिक्षण दिनेछन् । परिषदले यसअघि चितवन, गैंडाकोट लगायतका सहरहरूमा यस्तो मिसन सञ्चालन गरिसकेको उनले बताइन् ।

प्रकाशित : माघ ७, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?