कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

वडाध्यक्षहरूले बुझाए ध्यानाकर्षणपत्र

ध्यानाकर्षणपत्रमा सात दिनभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी

जनकपुर — जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कामप्रति असन्तुष्ट बहुसंख्यक वडाध्यक्षहरूले सोमबार ध्यानाकर्षणपत्र बुझाएका छन् ।

वडाध्यक्षहरूले पुस २५ गते बुझाएको १६ सूत्रीय मागको सुनुवाइ नभएको भन्दै ध्यानाकर्षणपत्र बुझाइएको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले जानकारी दिए ।


ध्यानाकर्षण पत्रमा आगामी सात दिनभित्र मागहरू सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसहित आन्दोलनको कार्यक्रमसमेत उल्लेख गरिएको छ । वडाध्यक्षहरूले बुझाएको ध्यानाकर्षण पत्रमा माघ १४ गते कालोपट्टी बाँधेर आन्दोलन सुरु गर्ने उल्लेख छ । चरणवद्ध आन्दोलनमा कालोपट्टी बाँध्ने, चरणबद्ध धर्ना तथा माघ २८ र २९ गते रिले अनशन गर्ने उल्लेख छ ।

वडाध्यक्षहरूले यसअघि बुझाएको १६ सूत्रीय मागपत्रमा संवैधानिक व्यवस्थाअनुसार अख्तियार प्रत्यायोजन गर्न, बृद्धि गरिएका स्थानीय करहरू पहिलेकै अवस्थामा झार्न, वडा कार्यालयहरू सञ्चालन गर्न स्वायत्त व्यवस्था गर्न, वडा कार्यालयहरूमा आवश्यक मानवीय, भौतिक, आर्थिक स्वायत्त व्यवस्था गर्न, कार्यपालिका बैठकमा आफ्नो एजेन्डा राख्न पाउने व्यवस्था गर्न, कार्यपालिका बैठकलाई पारदर्शी बनाउन बैठकमा सञ्चारकर्मी समेतलाई प्रवेशको व्यवस्था गर्न, वार्षिक बजेटको आयव्यय बारेमा सूचना पाउने अधिकार तथा बजेट बाँडफाँड शीर्षक छनौटमा कार्यपालिकाको सहभागिता तथा बहुमतबाट पारित गर्ने व्यवस्था गर्नुपर्ने प्रमुख थिए ।


ज्ञापनपत्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध वडाध्यक्षका साथै मेयरसाह र उपमेयर रीता देवी झा सहभागी रहेको राष्ट्रिय जनता पार्टी नेपाल सम्बद्ध वडाध्यक्षहरूको समेत सहभागी छन् । मागपत्र बुझाउनेहरूमा जनकपुरधाम उपमहानगर पालिकाका २५ मध्ये १६ जना वडाध्यक्षको हस्ताक्षर थियो । विरोधको स्वरूप निर्धारण गर्न आइतबार विहान वडाध्यक्ष सुदर्शन सिंहको पुरानो बस स्टेन्डस्थित होटलमा असन्तुष्ट वडाध्यक्षहरूको बैठक बसेको थियो ।


वडाध्यक्ष प्रमेश्वर साहले भने, ‘मतदाताले हामीलाई पनि मतदान गरेर वडाध्यक्ष निर्वाचित गरेका छन् । कानुनले वडाध्यक्षलाई पनि केही अधिकार दिएको छ । तर यहाँ एकतन्त्री शासन चल्दैछ ।’


विवादको शृंखला

मेयरको कामकार्यवाहीप्रति असन्तुष्ट जनकपुरधाम उपमहानगर पालिकाका बहुसंख्यक वडाध्यक्षहरूले पुस २५ गते ज्ञापनपत्र बुझाएको २४ घन्टा नबित्दै पुस २६ गते बहुसंख्यक वार्ड सदस्यहरूले अ–आफ्ना वडाध्यक्षहरूको कामकार्यवाहीको विरोधमा ज्ञापनपत्र बुझाएका थिए ।


जनकपुर उपमहानगरपालिकाका २५ मध्ये १६ वडाध्यक्षहरूले पुस २५ गते १६ सूत्रीय मागसहितको ज्ञापनपत्र कार्यकारी प्रमुख उमेश ढुंगानामार्फत बुझाएका थिए भन्ने उपमहानगर पालिकाका ९९ मध्ये ८१ वडा तथा कार्यपालिका सदस्य प्रमुख ढुंगानामार्फत ९ सूत्रीय मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।


वडाध्यक्षहरूले बुझाएको १६ सूत्रीय मांगपत्रमा वडाध्यक्षहरूलाई कानुन अनुसारको अधिकार प्रत्यायोजन गर्न माग गरिएको थियो भने वडा सदस्यहरूले वडा अध्यक्षमाथि वडा सदस्यहरूलाई अधिकारविहीन बनाएको आरोप लगाउँदै अधिकार प्रत्योजन गर्न माग गरेका थिए ।


वडा सदस्यहरूले बुझाएको मागपत्रमा वडाको विकास नीति,कार्यक्रम, योजना तथा बजेट वडा समितिको बैठकबाट पारित गर्न, वडाभित्र हुने विकास निर्माण कार्यको गुणस्तरको परीक्षण वडा समितिबाट पारित भए पछिमात्र भुक्तानी गर्न, वडाध्यक्षहरूले गर्दै आएको एकलौटी निर्णय बन्द गर्न, वडा सञ्चालन शीर्षकमा प्रतिमहिना प्राप्त हुने १५ हजारको खर्च वडा समितिको निर्णयबाट गर्न प्रमुख थिए ।

प्रकाशित : माघ ८, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?