कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बालसुधार गृहमा छानबिन

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति 

पर्सा — वीरगन्जस्थित बालसुधार गृहबाट एक बालक भागेको घटनामा छानबिन समिति गठन गरिएको छ । शुक्रबार साँझ गृहमा आश्रित भारत बिहार बेतिया नगरपालिका १२ का १६ वर्षीय आनन्द गोड भागेको घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल संयोजकत्वको ४ सदस्यीय समितिले छानबिन जारी राखेको हो ।

बालसुधार गृहमा छानबिन

समितिमा नेपाल प्रहरीका नायब उपरीक्षक अनन्तराम शर्मा, सशस्त्र प्रहरीका नायब उपरीक्षक विकास भुजेल र राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत रामबाबु चौधरी छन् ।


समिति संयोजक पौडेलले प्रमुख जिल्ला अधिकारीको आदेशमा गठित छानबिन समितिलाई दिइएको म्यान्डेटअनुसार समितिले हाल पनि छानबिन जारी राखेको बताए । छानबिन समितिले स्थलगत निरीक्षण तथा अवलोकन गरी सकेको उनले बताए । गृहमा खटिएका सुरक्षाकर्मी र त्यहाँको प्रशासनसँग केही कुरा बुझ्न बाकी रहेको छ ।


‘समितिलाई घटना हुने कारण, त्यसको दोषी को र भविष्यमा यस्ता घटना नहुन सुझाव समेत दिन म्यान्डेट दिइएको छ,’ उनले भने, ‘शुक्रबार राति १० बजे समिति गठन भएको हो, हामीलाई छानबिनका लागि बढीमा ७ दिन म्याद दिइएको छ, म्यान्डेट अनुसार नै आवश्यक छानबिन गरी रहेका छौं, सम्भवत: मंगलबार वा बुधबार सम्ममा प्रतिवेदन तयार पारेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरी सक्छौं ।’


गृहबाट भागेका बालकलाई खोज्दै सुरक्षाकर्मीको एक टोली भारतीय प्रहरीसँगको समन्वयमा उनको भारत बेतियास्थित घरसम्मै पनि पुगेको सूचना आफूले पाएको पौडेलले बताए । ‘हाम्रो सुरक्षाकर्मीको टोली शनिबार सखारै उनको घरमा पुग्दा उनी बुवा आमा सहित त्यहाँबाट १ घण्टाअघि भागिसकेका थिए,’ उनले भने, ‘उनको खोजीमा भारतीय प्रहरीले सक्दो समन्वय गरी रहेकाले उनी छिट्टै फेला पर्नेमा हामी आशावादी छौं, उनी ढिलो चाँडो फेला पर्छन् ।’


हाल उनी अभिभावकहरू सहित भारतको महानगर दिल्ली, मुम्बईमा गएर लुकेको हुन सक्ने उनले अनुमान गरे । गोडलाई यही पुस १९ गते राजधानीबाट स्थानान्तरण गरी वीरगन्जको बाल सुधार गृहमा ल्याइएको थियो । उनी ज्यान मार्ने उद्योग मुद्दाका आरोपी हुन् ।

प्रकाशित : माघ ८, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?