चालकको स्वास्थ्य जाँच

धनुषा — ट्राफिक प्रहरी धनुषाले राजमार्गमा थालेको स्वास्थ्य शिविरमा चेकजाँच गराएका धेरैजसो चालकमा उच्च रक्तचाप भेटिएको छ । लामो दूरीका चालकमा उच्च रक्तचाप बढ्दो छ ।

चालकको स्वास्थ्य जाँच

लामो समयसम्म एकै ठाउँमा बस्दा, समयमै पुग्नुपर्ने तनाव, सडकमा बढ्दो सवारी साधनको चाप र समय अनुकूल खानपान नहुँदा ४० वर्ष माथिका चालकमा रक्त चाप उच्च पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दिपक साहले बताए ।

ट्राफिकले स्वास्थ्यकर्मीको सहयोगमा राजमार्गमै सवारी चालकको स्वास्थ्य परीक्षण गरी दुर्घटना न्यूनीकरणका लागि स्थानीय तहसँगको सहकार्यमा अभियान चलाएको छ, प्रहरी निरीक्षक साहले भने, ‘स्वास्थ्यमा समस्या देखिएकाहरूलाई उपचार गराउन सल्लहा दिएको छाैं ।’ लामो रुटका सवारी चालक सुमो, माइक्रो बसमध्ये ट्रक चालकको रक्त चाप बढी पाइएको छ ।

स्वास्थ्यमा आएको गडबडीले दुर्घटना नहोस् भनेर जानकारी गराएर स्वास्थ्यमा सचेत गराउँदै दुर्घटना न्यूनीकरणका लागि सातामा दुई दिन हुने शिविरमा दैनिक २ सयभन्दा बढी सवारी चालकको स्वास्थ्य परीक्षण भइरहेको छ, साहले भने । राजमर्गमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक धनुषाले नयाँ शैली अपनाएका छन् ।


सडकको दुर अवस्था, चालकको लापरवाही, मापसे, ट्राफिक नियम उल्लंघन र ट्राफिक संकेतको जानकारी अभाव र तीव्र गतिका कारण सडकमा दुर्घटना बढिरहदा धनुषा ट्राफिकले सवारी चालकको स्वास्थ्य परीक्षणसँगै दुर्घटना न्यूनीकरणका लागि चालकसँग परामर्श गरी दुर्घटना न्यूनीकरण अभियान चलाएका छन् ।


समयमा पुग्नुपर्ने हतारका कारण सवारी चालकको रक्तचाप बढ्दा दुर्घटनाको सम्भावना बढ्दा स्वास्थ्य परीक्षण गर्न सुझाव दिइएको छ । चालकको स्वास्थ्यमा समस्याका कारण हुन सक्ने क्षतिबारे सवारी चालकलाई सडकमै स्वास्थ्यकर्मीको सहयोगमा परामर्श दिन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक साहले बताए ।


सामुदायिक प्रहरी साझेदारी कर्यक्रमअन्तर्गत ‘दुर्घटना घटाउँ, ज्यान जोगाऔं’ अभियानअन्तर्गत ट्राफिक प्रहरीले चालकको आँखा, कान, रक्त चाप जस्ता स्वास्थ्य परीक्षण, लामो दूरीका यात्रुवाहक बसमा डस्टबिन अनिवार्य गर्दै सडक सभ्यता र सडक अनुशासनसम्बन्धी जानकारी दिन राजमार्गमा अभियान चलाएको प्रहरी निरीक्षक साहले बताए ।


अभियानका क्रममा मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि समेत चेतनामूलक कार्यक्रम थालएको छ । विद्यालयमा जानकारीमूलक सचेतना कार्यक्रम, सर्वसाधारणलाई गाउँगाउँमा सचेतना कार्यक्रम गरी सडक सुरक्षामा सतर्कता अपनाइएको साहले बताए ।


दुर्घटना न्यूनीकरणका लागि पाछाडि बत्ती नभएका सवारी साधनमा टल्किने स्टिकर लगाइएको, स्थानीय निकायसँग सहकार्य गरी सडकपेटी अतिक्रमण खाली गराउनुका साथै जनकपुरको कालोपत्रे सडकमा थुपारिएको माटो ट्राफिक प्रहरीले हटाएको छ । नबुझनेभन्दा पनि बुझ्नेहरूले नै ट्राफिक नियम पालन नगर्दा दुर्घटना बढेको ट्राफिक प्रहरीले सञ्चालन गरेको शिविरमा स्वास्थ्य जाँच गराउने चालकहरूले बताएका छन् ।

प्रकाशित : माघ ८, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?