१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नामकरणमा विवाद

सन्तोष सिंह

धनुषा — प्रदेश सरकार मातहतको कृषि ज्ञान केन्द्र धनुषामा तीनवटा सरकारको नाम लेखिएको छ । प्रदेश सरकारले कृषि ज्ञान केन्द्र, सरकारको मातहतमा हुँदा लेखिएको जिल्ला कृषि विकास कार्यालय र आन्दोनमा लेखिएका मधेस सरकारको नाम गेटमा छ । 

कार्यालयमा जिल्ला कृषि विकास कार्यालयको नाम अझै मेटिएको छैन । प्रवेशद्वारमै कालो अक्षरले मधेस सरकार लेखिएको छ । मधेस आन्दोलनका क्रममा कार्यालयहरूको बोर्डमा लेखिएको ‘मधेस सरकार’ अझै मेटिएको छैन । तर, मधेस सरकार लेख्ने अभियान भने आन्दोलनताका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले चलाएका हुन् ।


आन्दोलका क्रममा सरकारी कार्यालयहरू तोडफोड गरी बोर्डमा मधेस सरकार लेखिएको थियो । सरकारी कार्यालयको बोर्डमा मधेस सरकार लेख्ने दलकै सरकार छ प्रदेश २ मा । तर, उनीहरू प्रदेशको नाम पेचिलो हुँदा आयोग बनाएर यो मुद्दालाई जनतामा लगेको छ ।


नामकरणका लागि राजपा र फोरको बहुमतको सरकारलाई दुई तिहाइ आवश्यक छ । आन्दोलनका बेला चर्को नारा लगाउने मधेस केन्द्रित दलले प्रदेशको नाम टुंगो लगाउने स्थान प्रदेशसभामा दुई तिहाइ नपुग्दा नामबारे विवाद बढेको छ । आन्दोलन मधेस प्रदेशका लागि भएको सत्तापक्ष संघीय समाजवादी फोरम र राजपा दाबी गर्छन् ।


प्रतिपक्ष नेकपा र कांग्रेस मिथिला, जनक वा अन्य नाम राख्न सुझाएको छ । प्रदेश सरकारले मधेस पक्षमा र प्रतिपक्ष मिथिला पक्षमा छन् । मधेस मोह भएको प्रदेश सरकारले प्रदेश मन्त्रालय राखेको जनकपुर चुरोट कारखानाको भवनलाई मधेस भवन नाम राखेको छ । तत्कालीन नेकपा एमालेको धनुषा पार्टी कार्यालयको नाम मिथिला भवन छ । मिथिला भवनमै नेकपाको कार्यालय छ । दुई खेमाको दुई मोहले प्रदेशका नाम, राजधानी र कामकाजको भाषा टुंगो लगाउन प्रदेश सरकारलाई सकस परेको छ ।

प्रदेशको नामबारे दल र सांसदको फरक धारण छ । सत्ता पक्षका दल र सांसद मधेस प्रदेशमा एकमत भए पनि विपक्षी दलका सांसदहरूमा जिल्लाअनुसार फरक धारणा छ । विपक्षी दलका सांसदहरू मधेस र मिथिलाका नाममा सहमति नहुँदा मध्य मधेस, जनक र जानकी राख्न समेत सुझाएका छन् । नेकपाका सांसद सुन्दर विश्वकर्माले सत्तापक्ष र प्रतिपक्ष कसैसँग बुहमत नभएको हुँदा दुवै पक्षको समझदारीमै प्रदेशको नामकरण गर्नुको विकल्प नभएको बताउँछन् ।


‘जिल्ला अनुसार फरकफरक सुझाव आएको छ,’ उनले भने, ‘हामी प्रदेशसभामा नामबारे छलफल गरेका छैनाैं । नामका लागि सत्तापक्ष र प्रतिपक्षबीच सम्झौता हुन सक्छ ।’ नेकपाकी सांसद अनिता यादवले जानकीको भूमि जनकपुरमा राजधानी र प्रदेशको नाम जनक वा जानकी राख्न सुझाव दिँदै प्रदेशसभाबाट प्रदेशको नामकारण हुने भएकाले कुनै पक्षले पनि नामका लागि लडाइँ गर्नु गलत हुने बताइन् ।

प्रकाशित : माघ ८, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?