कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतीय कुखुरामा कडाइ

‘क्षेत्रमा भारतीय कुखुराको तस्करी रोकिएको छैन,पारिबाट आउने कुखुराले नेपाली व्यापारी मारमा परेका छन्’

रौतहट र सिरहा — प्रशासनले सीमा क्षेत्रमा भारतीय कुखुरा तस्करीमा कडाइ गरेको छ । कडाइ हुँदा पनि रौतहटमा आयात रोकिएको छैन । यसले स्थानीय व्यापारी मर्कामा परेका छन् । सशस्त्र प्रहरीले मंगलबार बिहान परोहा नगरपालिका ५ भेडियाहीमा अबैध रूपमा झन्डै २ सय केजी भारतीय कुखुरा बरामद गरेको छ । 

भारतीय कुखुरामा कडाइ

सशस्त्र प्रहरी बल नेपाल गन हेडक्वाटर रौतहट ११ नम्बर गनबाट खटिएको गस्ती टोलीले बीआर ०५ डि ६८०९ नम्बरको भारतीय बजाज मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थाम अबैध कुखुरा बरामद गरेको हो । सशस्त्रलाई देखेपछि तस्कर भागेको थियो । बोइलर कुखुरालाई पत्रकार, स्थानीय भद्रभलादमी, पशु क्वारेनटाइन र गौर भन्सार कार्यालयको रोहबरमा खाडल खनी नष्ट गरिएको सशस्त्र प्रहरीका एसपी कृष्न ढकालले बताए ।


‘सीमामा कडाइ गरे पनि तस्करले लुकाएर भारतीय कुखुरा ल्याएको अवस्थामा बरामद गरेका हांै,’ उनले भने, ‘भ्याएसम्म पक्राउ गर्ने अभियानमा छौं ।’ नेपाल र भारत सीमा क्षेत्रमा सशस्त्र र भारतीय एसएसबीको संयुक्त गस्ती भए पनि खुद्रे तस्करले कुखुरा भित्र्याउन छाडेको छैन् ।


पछिल्लो ३ वर्षयता सीमा क्षेत्रबाट भारतीय कुखुरा भित्रिने गरेको पाइएको छ । मोटरसाइकल, साइकलमा खुद्रे तस्करले कुखुरा नेपाल भित्र्याउने गरेका हुन् । उनीहरू बिहान र बेलुकीको समयमा सीमा पारिबाट कुखुरा ल्याउने गर्छन् । नेपालमा भन्दा सस्तो पर्ने हँुदा स्थानीय व्यापारीले भारतीय कुखुरा खरिद गर्दै आएका हुन ।


उनीहरू निर्वाध रूपमा सीमापारिबाट कुखुरा ल्याउँछन् । भारतबाट जिउँदो कुखुरा ५०/६० रूपैयाँ (नेपाली एक सय) तिर्छन् । यहाँभन्दा झन्डै दोव्बर सस्तो पर्ने रौतहट कुखुरा व्यवसायी संघका अध्यक्ष रामबिनोद पान्डेले बताए । ‘सीमा क्षेत्रमा भारतीय कुखुराको तस्करी रोकिएको छैन,’ उनले भने, ‘पारिबाट आउने कुखुराले नेपाली व्यापारी मारमा परेका छन् ।’


जिल्लाको रामपुरखाप, ईशनाथ, बंकुल नाकाबाट कुखुराको तस्करी बढी हुने गरेको पाइएको छ । संघका अनुसार जिल्लामा जिउदो कुखुराप्रति किलो २ सय ५० देखि २ सय ७० रूपैयाँसम्म पर्छ । यहाँको अनुपातमा भारतमा निकै सस्तो हुने हुँदा सीमा क्षेत्रका व्यापारीले पारिबाट ल्याउने गरेका हुन् । त्यसरी ल्याइने कुखुरा यहाँ ३ सय रूपैयाँ प्रतिकेजीसम्मा बिक्री गरेको छ । डुमरियादेखि दक्षिनी भेगमा भारतीय कुखुराको बिगबिगी रहेको अध्यक्ष पान्डेले बताए । दक्षिण भेगमा बढ्दो छ । यसले स्थानीय कुखुरा व्यवसायीलाई मार परेको छ । जिल्लामा एक दिनमा ४/५ ट्रकसम्म कुखुरा खपत हुने पान्डेको भनाइ छ ।


केही समयअघि सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको गस्ती टोलीले ईशनाथ नगरपालिका ४ स्थित चोकमा भारतबाट अवैध रूपमा साइकलमा लोड गरी ल्याउँदै गरेको १२ वटा अन्दाजी २५ किलो कुखुरा बरामद गरेको थियो । सशस्त्र प्रहरीको सीमा क्षेत्रमा तैनाथ पोस्ट र नेपाल प्रहरीले भारतीय चल्ला र कुखुरा बरामद गर्दै आएको दाबी गरेको छ ।


तर पछिल्लो समय यसको तस्करी रोकिएको छैन । सीमापारिबाट भित्रिने कुखुरामा विभिन्न खाले रोग हुन सक्ने भन्दै कुखुरा व्यवसायी संघले चिन्ता व्यक्त गरेको छ । भारतमा पटकपटक बर्डफ्लु रोग देखिने हुनाले संघले भारतीय कुखुराको मासु नखान अनुरोध गरेको छ । स्थानीय व्यापारीलाई समेत बित्रीm वितरन्ण नगर्न संघले अनुरोध गर्दै आएको छ । व्यापारीले मुनाफा हेरी बिक्री गर्न थालेको संघले जनायो ।


पशु अधिकारको उल्लंघन

स्थानीय व्यापारीले कुखुरालाई मोटरसाइकलको पछाडि र लेगार्डमा झुन्डयाएर यातना दिँदै ओसारपसार गर्दै आएको पाइएको छ । यसरी ओसारपसार गर्न पशु अधिकारले दिदैन । संघका अध्यक्ष पान्डेले यातना दिएर कुखुरा लगायका पन्छीलाई ओसारपसार गर्न नपाइने बताउँछन् । ‘हामीले नीति नियम बाहिर गएर यस्ता काम नगर्न भन्दै आएका छाैं,’ उनले भने, ‘स्थानीय कुखुरा व्यवसायी साथीहरूले मान्नु हुन्न । सधैं यस्तै गरी झुन्डाएर कुखुरा बिक्रीका लागि ल्याउनुहुन्छ ।’ यसरी झुन्ड्याइएर कुखुराको ओसारपसार गर्नु दन्डनीय हुन्छ । पशु अधिकारकर्मिले यसको विरोध जनाए पनि व्यवसायीले बेवास्ता गर्दै आएका छन् ।


पशुपन्छीपालन व्यवसायलाई व्यवस्थित, मर्यादित, व्यावसायिक बनाउँदै स्वच्छ, स्वस्थ, गुनस्तरीय पशुपक्षी तथा पशुपक्षीजन्य उत्पादन आमउपभोक्तासमक्ष सहज रूपमा पुग्न सक्ने वातावरण सृजनाका लागि मन्त्रालयले कार्यविधि नै बनाएको छ । तर व्यापारीले यसको पालना गरेको पाइँदैन ।


कुखुराको अवैध आयात

अवैध रूपमा भारतीय चल्लासहित कुखुराको आयात नरोकिँदा सिराहाका कुखुरापालक किसान समस्यामा परेका छन् । आयातित कुखुरा चल्ला र मासुका लागि उत्पादित कुखुराले बजार ओगट्दा यहाँ उत्पादित कुखुरा बिक्री नहँुदा किसान समस्यामा परेका हुन् ।


सरकारले चल्लासहित कुखुरा आयातमा प्रतिबन्ध लगाएको छ । तर खुला सिमानाका कारण भारततर्फबाट अवैध कुखुरा र चल्ला आयात हुने गरेको छ । भारतबाट आयातित चल्ला र कुखुरा सस्तो भन्दै व्यवसायीले नेपालमा उत्पादित कुखुरा खरिद नगर्दा सिरहाका किसान समस्यामा परेका छन् ।


प्रहरीले मुख्य नाकाहरूमा अवैध आयातमा कडाइ गरे पनि खुला सीमाका कारण कुखुरा नेपाल भित्रिरहेको किसान बताउँछन् । गत पुस २९ गते सिरहाको बुधौरास्थित नाकाबाट ठूलो परिमाणमा कुखुराको चल्ला अवैध आयात गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्‍यो ।


त्यतिखेर प्रहरीले सिरहा नगरपालिका १५ बुधौराबाट १ लाख ९८ हजार मूल्य बराबरको १४ सय कुखुराको चल्ला र चल्ला लोड गरिएको बा. १७ च १२४ नम्बरको म्याजिक भ्यानसहित सिरहा १ का २३ वर्षीय सन्तोष यादवलाई पक्राउ गरेको थियो । चल्लासँगै भारतबाट अवैध रूपमा कुखुरा आयात नरोकिदा यसमा संलग्न व्यवसायी समस्यामा परेका छन् ।


सिरहाको गोलबजार, लहान, सदरमुकाम सिरहा लगायत ग्रामीण क्षेत्रमा व्यवसायीले कुखुराका चल्ला र मासुका लागि कुखुरा पालन व्यवसाय गर्दै आएका छन् । एकातिर चल्लासहित कुखुराको अवैध आयात नरोकिने र दानाको मूल्य बढदै जाने गरेका कारण मारमा परेको कुखुरा पालक व्यवसायीले गुनासो गरे । ‘प्रहरीले कडाइ गरे पनि चल्ला र कुखुराको अवैध आयात रोकिएको छैन,’ लहानका कुखुरापालक किसान उमेश राउतले भने, ‘अर्कोतर्फ दानाको मूल्य प्रत्येक लटमा बढ्ने गरेको छ, यसले कुखुरापालक किसान समस्या छन् ।’


अर्कोतर्फ चल्ला उत्पादनमा लागत बढी लाग्ने र अवैध आयात नरोकिने हो भने यहाँका किसानले विकल्प खोज्नुपर्ने अवस्था आउने उनले बताए । भारतबाट अवैध आयातले यहाँका किसानको कुखुरा मूल्य पाउन सकेका छैनन् । ‘भारतीय कुखुराले यहाँको बजार पाउने हो भने यताका किसान स्वत मारमा पर्छन्,’ उनले भने, ‘मासु बिक्री हुदाँ यहाँका कुखुरा बिक्री भएका छैनन्, किसानको खोरमा अहिले पनि कुखुरा छन् ।’ तर बजारमा मासु बिक्री भइरहेकाले भारतबाट अवैध आयातले बजार ओगटेको सहजै अनुमान गर्न सकिने उनले बताए ।


कुखुरा बिक्रीमा विचौलियाको चलखेल हुने गरेको किसानले गुनासो गरेका छन् । ‘विचौलियाकै कारण अवैध भारतीय कुखुराले बजार पाएको हो,’ उनले भने, ‘भारतमा कुखुरा पाल्नेलाई सरकारले अनुदान दिने गरेको छ, अनुदानका कारण सस्तोमा उत्पादन हुने र नेपालमा बिक्री गर्दा धेरै फाइदा हुने भएकाले पनि विचौलियाको चलखेल बढी हुने गरेको हो ।’ यिनै विचौलियाका कारण यहाँ उत्पादित किसानको कुखुरा बिक्री नभएको कुखुरापालक किसानले बताए ।


अवैध आयात रोक्ने मुख्य काम पशु क्वारेन्टाइन कार्यालयको हो । जिल्लामा एकमात्र माडरमा क्वारेन्टाइन चेकपोस्ट भए पनि जनशक्ति अभाव छ । क्वारेन्टाइन कार्यालयले चेकजाँच गरेर अनुमति दिए भारतीय कुखुरा पनि बिक्री गर्न सकिन्छ । तर रोक्ने नरोक्ने जिम्मेबारी भनेको क्वारेन्टाइनको भएको किसानको भनाइ छ ।


सरकारले कुखुरा आयातमा लगाएको प्रतिबन्ध अहिलेसम्म खोलेको छैन । सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले चल्ला र कुखुरामात्र होइन भारतबाट अवैध आयातमा प्रहरीले कडाइ गरिएको जानकारी दिए ।

प्रकाशित : माघ ९, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?