जनकपुरमा गाई आश्रम

रामचोकस्थित सीताराम गौशाला असहाय गाईवस्तुको संरक्षण, हेरचाह, पालनपोषण, औषधि उपचार लागि ६५ वर्षअघि जनकपुरवासीले स्थापना गरेका थिए 
शाहीमान राई

जनकपुर — वृद्धाश्रम, अनाथ आश्रम, जोगी, साधुसन्त, महन्तको कुटी, योगाश्रमको नाम पर्याप्त सुनिएको छ । तर गाईवस्तु र पशुपक्षीको आश्रम भने कमै जानकारीमा छ । धार्मिकस्थल जनकपुरमा वर्षौंदेखि असहाय गाईवस्तुको आश्रम सञ्चालित छ । बाहिरबाट झट्ट हेर्दा बाँधिएका गाई, घाँस परालको उरुङले आश्रम व्यावसायिक गाई फर्म जस्तै लाग्छ । 

जनकपुरमा गाई आश्रम

जनकपुर उपमहानगरपालिका–४ तिरहुतियागाछी रामचोकस्थित सीताराम गौशाला असहाय गाईवस्तुको संरक्षण, हेरचाह, पालनपोषण, औषधि उपचार लागि ६५ वर्षअघि जनकपुरवासीले स्थापना गरेका थिए । वि.सं. २०१० सालमा स्थापित असहाय गाई आश्रममा घाइते, असहाय, बृद्धा, अङ्गभङ्ग भई हिँड्न नसक्ने, सडकमा अलपत्र गाईवस्तुलाई संरक्षण दिने गरिएको छ ।


सवारीले हिर्काउँदा घाइते र सडकमा अलपत्र गाईवस्तुलाई आश्रममा राखेर पालनपोषण गरिन्छ । आश्रममा गाई मरेपछि सुरक्षित ठाउँमा गाड्ने गरिएको सीताराम गौशाला सञ्चालक समितिका अध्यक्ष निर्मल सिंहानियाले बताए ।


हिन्दु धार्मिक मान्यताअनुसार गाईलाई गौमाता, पवित्र देवी, लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने चलन छ । मठमन्दिरमा पूजाआजा गर्न गाईको दूध र घरलाई शुद्ध बनाउन लिपपोतका निम्ति गाईको गोवर र गहुत (मत्रजल) प्रयोग गरिन्छ । हिन्दु धर्मावलम्बी समुदायलाई गौमुत्र, गोवर र दूध वितरण गर्न र असहाय गाईको आश्रम सञ्चालनका निम्ति आयस्रोत जुटाउन दुधालु गाई पालिएका छन् ।


ऐतिहासिक गौशालामा हरेक दिन ३५ देखि ४० लिटर दूध उत्पादन गरी मन्दिरमा पूजाआजा र बिक्री वितरण गरी आम्दानी गर्दै आएको सञ्चालन समितिका सदस्य कृष्ण कार्कीले बताए । आश्रमको पहिलो मुख्य उद्देश्य असहाय गाईको सेवा गर्नु हो, आयआर्जन होइन, समिति सदस्य कृष्ण कार्कीले भने, ‘दोस्रो उद्देश्य पूजाआजाका लागि नि:शुल्क दूध वितरण गर्ने हो ।’ सात वर्षदेखि तन, मन, धन दिएर गाईको सेवमा लागेको बताउँदै उनले असहाय गाईको सेवा गर्न पाउँदा आनन्द लागेको बताए ।


पूजाआजा र व्रतालुलाई वितरण गरी बचत रहेको दूध मासिक ठेक्कामा बिक्री गर्दै आएको आश्रमका व्यवस्थापक ललित सिंहले बताए । सञ्चालक समितिले लक्ष्मीपूजा, छैट, व्रतबन्ध, ब्रतालु, विरामी असहाय र मरिमराउमा नि:शुल्क दूध उपलब्ध गराउँदै आएको छ ।


उनले गरिब, विपन्न, असहाय परिवारलाई वैतरणी र गौदान विधिका निम्ति गौशालामा जन्मिएका बाछी नि:शुल्क प्रदान गर्दै आएको बताए । उनका अनुसार व्यावसायिक गाईपालन नभएकाले दूध उत्पादनका निम्ति दान धर्म गर्न चाहने विभिन्न व्यक्तिले लैनो गाई किनेर आश्रमलाई दिने गर्छन् । त्यही गाई पालेर दुहुना बनाएर दूध उत्पादन गरी वितरण गर्दै आएको छ । गाई आश्रममा असहाय गाई र दुधालु गाई बाछाबाछीसहित ६६ वटा गाई आश्रित रहेको व्यवस्थापक सिंहले बताए ।


यति बेला सीताराम गौशालामा १६ दुधालु गाईमध्ये नियमित ८ वटा दुहुना गाई छन् । यी गाई हेरचाह, स्याहारसुसार, पालनपोषणका लागि ७ जना कर्मचारी छन् । हरेक दिन बिहान ५ बजे गाई दुहेर गौशालासँगै रहेको फुलेश्वर मन्दिरमा दूध चढाउने गरिएको छ । दूध बिक्री गरेर वार्षिक ७ लाख ५० हजार र सटर भाडावाट वार्षिक ४ लाख गरी १२ लाख ५० हजार आम्दानी हुने गरेको सञ्चालक समितिका लेखापाल रामदयाल कापरले बताए ।


सीताराम गौशालाको नाममा रहेको ९ कठ्ठा जमिनमा वरिपरि टहरामा २८ वटा सटर छन् । उनका अनुसार आश्रममा असहाय गाईलापनका निम्ति हरियो घाँस, दानापानी, चोकर, सख्खर, दाना, नुन, पराल, औषधि उपचार र जनशक्ति गरी मासिक सरदर २ लाख खर्च खुने गरेको छ । गाई आश्रममा वार्षिक आम्दानीले गाईपालन गर्न नपुगेर वार्षिक दस लाखदेखि १२ लाखसम्म घाटा व्यहोर्नुपरेको लेखापाल रामदयाल कापरले बताए । उनले यस वर्षका लागि ३ लाखको पराल र भुस किनिसकेको बताए ।


गाईआश्रम सञ्चालनका निम्ति अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सदस्यसहित ११ सदस्यीय सञ्चालक समिति, व्यवस्थापक, लेखापाल, पशु चिकित्सक र गाईपालक श्रमिकसहित ७ जना कर्मचारी कार्यरत छन् । व्यवस्थापकीय खर्च, कार्यालय सञ्चालन र गाईवस्तुको पालनपोषणका निम्ति आम्दानीभन्दा बढी खर्च हुनाले हरेक वर्ष चन्दा, सहयोग मागेर धार्मिक महत्त्वको असहाय गाईपालन सेवा सञ्चालन गर्दै आएको अध्यक्ष निर्मल सिंहानियाले बताए ।

प्रकाशित : माघ ९, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?