कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्ती नियन्त्रणमा मन्त्रालयको चासो

‘जिल्ला तहबाट हात्ती नियन्त्रण नभएपछि केन्द्रलाई गुहारेका छौं, मन्त्रालयको निर्देशनमा हात्ती नियन्त्रण गर्न टोली खटिएको जानकारी पाएका छौं’
ओमप्रकाश ठाकुर

सर्लाही — लामो समयदेखि आफ्नो क्षेत्रमा आतंक मचाइरहेको जंगली हात्ती नियन्त्रणको माग गर्दै ईश्वरपुर नगरपालिकाले वन मन्त्रालयको. ध्यानाकर्षण गराएको छ ।

हात्ती नियन्त्रणमा मन्त्रालयको चासो

नगर प्रमुख मनोज देवकोटाको नेतृत्वमा वन मन्त्रालय पुगेको टोलीले सोमबार वन मन्त्री शक्तीबहादुर बस्नेतलाई भेटी जंगली हात्ती नियन्त्रण गरिदिन आग्रह गरेका हुन् ।


भेटपछि मन्त्री बस्नेतले वन विभागका अधिकारीमार्फत पर्सा वन्यजन्तु आरक्षका प्रमुखलाई तत्काल सर्लाहीमा विशेषज्ञ टोली पठाएर हात्ती आतंक नियन्त्रण गर्न आदेश दिएको नगरप्रमुख देवकोटाले बताए । जिल्ला स्तरबाट हात्तीलाई वन्यजन्तु आरक्षतर्फ लान पहल नभएपछि आफूहरू केन्द्रीय मन्त्रीलाई भेट्न राजधानी पुगेको नगर प्रमुख देवकोटाको भनाइ छ ।


‘हाम्रो क्षेत्रतिर दैनिकजसो हात्तीले क्षति पुर्‍याइरहेको छ, जंगली हात्तीको स्थानीयमा आतंकनै छ,’ मेयर देवकोटाले भने, ‘जिल्ला तहबाट हात्ती नियन्त्रण नभएपछि केन्द्रलाई गुहारेका छौं, हामी टोली नै बनाएर वन मन्त्रालयमा आफ्ना दु:खेसो पोखेका छौं, मन्त्रालयको निर्देशनमा हात्ती नियन्त्रण गर्न टोली खटिएको भनी जानकारी पाएका छौं ।’


पर्सा वन्यजन्तु आरक्षबाट तुरुन्त हात्ती विशेषज्ञ टोली आउने जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख माधव प्रसाद देवले बताए । सर्लाहीमा करिव दुई महिनाअघि देखापरेको जंगली हात्तीले सागरनाथ वन विकास परियोजना आसपास ईश्वरपुर नगरपालिकाको विभिन्न बस्तीमा प्रत्येक राति घर भत्काउने, घरभित्र राखिएको अन्नपात खाइदिने र किसानको खेतमा लगाएको उखु तथा तरकारीवाली नष्ट गर्ने गरिरहेको छ ।


जंगली हात्तीको समूहले अहिलेसम्म करिव एक सयभन्दा बढी घर भत्काइसकेको छ । हात्तीले घरमा क्षति पुर्‍याउनुका साथै घरमा राखिएको अन्नपात समेत खाने गरेको छ । चिसो मौसममा हात्तीले घर भत्काउँदा स्थानीयको बिजोग छ । हात्तीले घर भत्काएका कारण कतिपयको ओत लाग्ने ठाउँ समेत छैन । ज्याला मजदुरी गरेकाको घर हात्तीले भत्काउँदा घर बनाउन उनीहरूलाई सकस भइरहेको छ । उनीहरू अर्काको घरमा सहारा लिएर बस्दै आइरहेका छन् ।


दुई महिनाअघि चुरे बस्तीमा देखा परेको हात्ती आतंकका कारण लालबन्दी नगरपालिकाको हिरापुर, रानीगञ्ज, परवानीपुर, रञ्जीतपुर, जब्दी र ईश्वरपुर नगरपालिकाको गौरीशंकर, राइटरखोर लगायत जंगल छेउका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । कहिले जंगल छेउको बस्ती छिर्ने त कहिले घनाबस्तीमा हात्तीले आतंक मच्चाउने गरेका कारण स्थानीय त्रसित छन् । जंगल छेउका स्थानीयले वन जंगलमा घाँसदाउरा गर्न जान समेत समस्या भइरहेको बताएका छन् भने घना बस्तीमा छिरेको हात्ती आतंकका कारण स्थानीय खेतबारी समेत जान डराइरहेका छन् ।


हात्ती आउने बित्तिकै गाउँले मिलेर भाँडा ठटाउने, आगो बाल्ने, पटा पडकाउने जस्ता काम गर्दै आएका छन् । हात्तीबाट बच्न गाउँलेहरू समूह बनाएर राति गस्ती समेत गर्दै आएका छन् । हात्ती आतंक सुरु भएको दुई महिना बित्न लाग्दा समेत आतंक नियन्त्रण गर्न र क्षतिपूर्ति दिन सम्बन्धित निकायले कुनै सक्रियता नदेखाएको स्थानीयको गुनासो छ । जिल्लास्तरबाट जंगली हात्ती नियन्त्रण गर्ने संयन्त्र नरहेको र पीडितलाई क्षतिपूर्ति दिलाउन लगत संकलनको काम भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?