उद्यम कार्यक्रम स्थगित

अजित तिवारी

जनकपुर — मन्त्री–सचिवबिच कुटाकुट गराउने मुख्य कारण मानिएको गरिबी  निवारणका लागि उद्यम कार्यक्रम प्रदेश २ को सरकारले हाललाई स्थगित गरेको छ । मन्त्रिपरिषद्को बैठकले उद्यम कार्यक्रमको प्रक्रिया रोक्दै हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

उद्यम कार्यक्रम स्थगित

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुशील श्रेष्ठले प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई कार्यक्रम स्थगित गरिएको मन्त्रिपरिषद्को निर्णयसहित पत्राचार गरेको छ ।


पुस २९ गतेको मन्त्रिपरिषद्को बैठकले कार्यक्रम स्थगित गरे पनि उद्योग मन्त्रालयले आफू मातहतको जिल्ला कार्यालयलाई स्थगितको खबर गर्न माघ ८ गते मङ्गलवार मात्र पत्राचार गरेको छ ।


सङ्घीय सरकारको सशर्त अनुदानमा गरिबी निवारणको लागि उद्यम कार्यक्रमका लागि प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आशयपत्र आह्वान गरेको थियो । एक सय ९३ वटा एनजीओले आशयपत्र बुझाएकोमा मन्त्रालयले ४० वटा एनजीओलाई छनोट गर्‍यो ।


एनजीओ छनोटकै विषयमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सचिव विद्यानाथ झाबिच कुटाकुट भएको थियो ।


आफूले सिफारिस गरेको एनजीओ नपरेको झोंकमा मन्त्री यादव र सचिव झाबिच विवाद भएकै साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कार्यक्रमको सबै प्रक्रिया स्थगित गरेको खुलेको छ ।


गरिबी निवारणका लागि उद्यम कार्यक्रमअन्तर्गत प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंसिरको दोस्रो साता गैर सरकारी संस्था(एनजिओ)लाई आशयपत्र बुझाउन आह्वान गरेको थियो । मङ्सिर २३ र २४ गते प्रदेश २ को आठवटै जिल्लाका लागि एनजीओले बुझाएको प्रस्ताव खोलियो ।


प्रदेश २ को सरकारले ८ वटै जिल्लामा उद्यमका लागि क्षमता अभिवृद्धि कार्यक्रम लागू गर्न छनोट भएका एनजीओमध्ये धेरैजसो प्रदेश २ बाहिरका परेको र आफूले सिफारिस गरेको एनजीओ नपरेपछि मन्त्रीहरू रुष्ट बनेका थिए ।


त्यही क्रममा मन्त्री यादव र सचिव झाबिच विवाद भएको हो । उद्यम कार्यक्रमकै कारण स्थिति बिग्रन थालेपछि मन्त्रिपरिषद्को बैठकले हाललाई स्थगित गरेको स्रोतको भनाइ छ ।


यो पनि पढ्नुहोस्ः

प्रदेश २ का मन्त्रीले कुटे सचिव

मन्त्री–सचिव कुटाकुट : कर्मचारी आन्दोलनमा, समितिले छानविन थाल्यो

सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न का‌ंग्रेसको माग

प्रकाशित : माघ ९, २०७५ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?