१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मुआब्जाले रोकियो सडक

पर्सा — मुआब्जा वितरणको कामले पूर्णता नपाउँदा पदम रोडको वीरगंजस्थित एकीकृत सुरक्षा जाँचचौकी मोडदेखि परवानीपुरतर्फ जाने ‘टि मोड’ सम्मको सडक खण्ड अझै विस्तार हुन सकेको छैन । 

करिब एक किलोमिटर उक्त सडक खण्डका १ सय ७६ जग्गाधनीले हालसम्म मुआब्जा लगिसकेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले १ सय ७६ जग्गाधनीले हालसम्म ६१ करोड ७७ लाख ७८ हजार ५ सय ८० रुपैयाँ ८९ पैसा मुआब्जा लगिसकेको जानकारी दिए । अब झन्डै डेढ दर्जन जग्गाधनीले मात्र मुआब्जा लग्न बाँकी रहेको उनले बताए । उनीहरू हालसम्म सम्पर्कमा नआएको उनले बताए ।


मुआब्जा वितरणका लागि खटिएका व्यापारिक राजमार्ग पथलैया कार्यालयका कर्मचारी केवल चौधरीले मुआब्जा वितरण प्रयोजनका लागि ६२ करोड ५० लाख रुपैयाँँ केन्द्रबाट आएको र उक्त रकम सक्किन लागेकाले आफूले केन्द्रबाट थप रकम माग्न लागेको उनले बताए । मुआब्जा लग्न बाँकी रहेका केही जग्गा धनीमध्ये केहीको आपसी विवाद, अंश मुद्दा चलिरहेकाले उनीहरू मुआब्जा दाबी गर्न नआएको उनले बताए ।


६ लेनको निर्माण गर्न लागिएको यो सडक खण्ड विस्तारको ठेक्का पप्पु र लुम्बिनी कन्सट्रक्सनले ज्वाइन्ट भेन्चरमा पाएका छन् । स्थानीयले जग्गा खाली नगरेसम्म काम थाल्न समस्या हुने भन्दै ठेकेदारले केही काम गरी हाल काम रोकेका छन् ।


चैत मसान्तदेखि आइसिपि सञ्चालनमा आएपछि यो सडक खण्ड विस्तारको आवश्यकता झनै टड्कारो देखिएको छ । आईसीपीबाट छुट्ने मालबाहक सवारीसाधनलाई यो सडक खण्ड छिचोल्न समस्या हुँदै आएको छ ।


हाल चण्डाल चोकदेखि पश्चिम आईसीपी मोडसम्मको बाटो कच्ची रहेको छ । आईसीपी सञ्चालनमा आएसँगै त्यहाँबाट मालबाहक सवारीसाधन बाहिरिने क्रम पनि दैनिक बढेको छ । सदरमुकाम वीरगंजलाई ग्रामीण भेगसँग जोड्ने जिल्लाकै यो प्रमुख सडक पनि हो जसमा बटुवा, साइकलयात्रीदेखि अन्य सवारीसाधनको चाप पनि उत्तिकै हुन्छ ।

प्रकाशित : माघ १०, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?