कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सडकमा चौपाया, दुर्घटना बढ्यो

भरत जर्घामगर

सिरहा — सडक मुख्यत: यातायातका सवारी गुड्नका लागि हो तर, पशुचौपाया सडकै ढाक्ने गरी हिँड्न थालेपछि दुर्घटनामा वृद्धि भएको छ । दुर्घटना न्यूनीकरण र सचेतनाका लागि ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा संकेत चिह्न राख्नेदेखि चालकलाई स्वास्थ्य परीक्षण समेत गर्दै आएको छ । तर पनि दुर्घटना बढदो छ । 

सडकमा चौपाया, दुर्घटना बढ्यो

बढो सवारी दुर्घटनालाई नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले राजमार्ग छेउ संकेत चिन्हसँगै सवारीको प्रकृतिअनुसार दुर्घटना क्षेत्र पहिचान गरी सवारी नै झुन्ड्याउने गरेको छ । अत्यधिक मोटरसाइकल दुर्घटना हुने स्थानमा थोत्रा मोटरसाइकल नै राखिदिएको छ ।


यस्तो चिह्नबाट सचेतिकरण र दुर्घटना न्यूनीकरणमा बल पुग्ने ट्राफिकको उद्देश्य हो जिल्ला ट्राफिक प्रहरी कार्यालयले सिरहाको पूर्वी सिमाना लहान तथा पश्चिमी सिमाना बन्दीपुरमा लामो तथा छोटो दूरीका सवारी चालकलाई उनीहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था सडकमै मिलाएको थियो ।


सडकको किनारामा राखिएको स्वास्थ्य परीक्षण स्थलमा स्वास्थ्यकर्मीहरूको सहयोगमा ट्राफिकले सवारी चालकको आँखा, मुटु तथा ब्लड प्रेसर परीक्षण गर्न थालेको छ ।


सिरहामा गत साउनदेखि पुस मसान्तको पछिल्लो ६ महिनामा मात्रै सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । त्यस अवधिमा भएको ६० वटा सवारी दुर्घटनामा १ सय ५ सवारी साधन क्षतिग्रस्त भएको थियो । सवारी दुर्घटना बढ्दै जान थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको विभिन्न चेकजाँच तथा छड्के जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गरेका १५ हजार ५ सय ५० सवारी साधनलाई कारबाही गरी ८९ लाख ५७ हजार ५ सय जरिवाना असुल गरेको छ ।


‘सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रणका लागि हामीले सडकमा विभिन्न किसिमका चेकजाँचदेखि विद्यालय कलेजसम्म ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम चलायौं,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख ट्राफिक प्रहरी निरीक्षक मिलन बस्नेतले भने, ‘सडकमा सावधानीका लागि विभिन्न संकेतले मात्र नपुगेर थोत्रा सवारीलाई नै राखिदिएका छौं, त्यसबाट पनि दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।’


पहिलो पटक सवारी चालकको स्वास्थ्यलाई नै लक्षित गरेर सडकमै स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम गरेका छौं । ट्राफिक प्रहरीका अनुसार स्वास्थ्य परीक्षणका क्रममा केही सवारी चालकको आँखा, मुटु र ब्लड प्रेसरको स्थिति अनियमित भएको पाइएको छ । त्यस्ता सवारी चालकलाई पहिले आफ्नो स्वास्थ्यको सम्पूर्ण रूपले जाँच गरी सामान्य अवस्था भएपछि मात्र सवारी चलाउन निर्देशन दिएर सवारी चालकबाट खोसेर धनीको जिम्मा लगाइएको छ ।


राजमार्गमा सवारी चाप बढी हुनु, राजमार्ग छेउ नै हाटबजार लाग्नु, छाडा चौपायाका कारण र चालकको सानो लापरवाही, मादक पदार्थ सेवन दुर्घटना निम्त्याउने कारक बनेको ट्राफिक प्रहरीको भनाइ छ ।


स्वास्थ्य परीक्षणमा असफल भएका काठमाडौं जाने एक यात्रुवाहक बसका सवारी चालकलाई सिरहा ट्राफिकले कारबाही गरेर सवारी धनीलाई बुझाएर फिर्ता गर्ने काम भए पनि सडकमा यात्रा गर्ने यात्रुहरूले पनि सुरक्षाका लागि सजग हुनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।


८ वर्षअघि मोटरसाइकलले ठक्कर दिँदा देब्रे कम्मरभन्दा तलको खुटटा भाच्चिएका हनुमाननगरका गंगाधरलाल महतोले सवारी चालकले ट्राफिक नियम पालना नगर्दा आफू जवानीमै अपांग जीवन बिताउनु परेको सुनाए । लहानबाट धनगढीतर्फ साइकलमा जाँदैगर्दा साझ मोटरसाइकलले ठक्कर दिएपछि उनी अपांग भएका थिए । उनले मानवको सानो गल्तीले जीवन बरबाद हुने भएकाले टाफिक नियम पालना गर्न अनुरोध गरे ।


दुर्घटना निम्तिनुमा सवारी चालकमात्र नभई यात्रु र सर्वसाधारण समेत भएकाले हरेक व्यक्तिलाई सचेतना गराउन ट्राफिक संकेत लगायत जेब्रा क्रसिंगहरू बनाइएकाले दुर्घटना न्यूनीकरणमा केही हदसम्म भए पनि सहयोगी हुने ट्राफिक प्रहरीको अपेक्षा छ ।

प्रकाशित : माघ १२, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?