कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

घरेलु मदिरा नियन्त्रण गरिने

अनुगमन टोली पुग्दा मदिरा उत्पादन गर्नेहरू भागाभाग
अवधेशकुमार झा

राजविराज — अवैध घरेलु मदिरा नियन्त्रण गर्न शुक्रबार बिहान जनप्रतिनिधि र प्रहरी सम्मलित टोली राजविराज नगरपालिका वडा नम्बर ६ जेलगार्डस्थित बस्तीमा पुग्दा मदिरा उत्पादन हुने घरहरूमा ठूलो ताल्चा झुन्डयाइएको पाइयो ।

अत्यधिक घरेलु मदिरा खाएका कारण कलेजो खराब भई उक्त बस्तीका पुरुषहरूको मृत्यु हुन थालेपछि राजविराज नगरपालिकाले प्रहरीसितको समन्वयमा उक्त बस्तीमा मदिरा उत्पादनको कार्य नै नियन्त्रण गर्ने अभियान सुरु गरेको हो ।


गत मंगलबार मात्र उक्त बस्तीका ३२ वर्षीय भोला मेहतर र ४० वर्षीय देबु मेहतरको अत्यधिक रक्सी सेवनका कारण कलेजो खराब भई मृत्यु भएको थियो । अत्यधिक घरेलु मदिरा खाएका कारण बस्तीमा ५० वर्ष उमेर पुग्नु अगाबै ज्यान गुमाउनेको संख्या प्रति महिना बढीरहेको छ ।


घरेलु मदिरा खाएकै कारण ज्यान गुमाउनेहरूको संख्या बढदै गएपछि उत्पादन नै नियन्त्रण गर्ने अभियान सुरु गरिएको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले जानकारी दिए ।


शुक्रबार बिहानै राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेम यादवको नेतृत्वको टोली अवैध मदिरा नियन्त्रण गर्न मेहतरबस्ती पुगेको थियो । टोलीमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राजविराजको प्रहरी टोली समेत रहेको थियो । टोली बस्तीका केही घरबाट अवैध घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ । बरामद भएको कच्चा पदार्थमा युरिया खाद्यको मात्रा अत्यधिक देखिएको वडाध्यक्ष यादवले बताए ।


अवैध रूपमा घरेलु मदिरा उत्पादन हुने शंकास्पद घरहरूका जनप्रतिनिधि र प्रहरीको टोली पुग्दा ती घरका व्यक्तिहरू थिएनन् भने घरहरूमा ठुलाठूला ताल्चा झुन्डयाइएको थियो । ‘बाहिरबाट नाकै नदिने गरी गन्ध आइरहेको थियो तर घरमा ताल्चा झुन्डयाइएको थियो,’ वडाध्यक्ष यादवले भने, ‘पहिलो दिन उत्पादन बन्द गर्न भनेर आएका छांै, अभियान निरन्तर रहन्छ, अर्को दिन पुग्दा घरमा ताल्चा लगाइएको पाइए मुचुल्का उठाएर स्थानीयको रोहवरमा घरेलु मदिरा नष्ट गरिनेछ ।’


उक्त बस्तीका कयांै घरमा दैनिक रूपमा अवैध घरेलु मदिरा उत्पादन हुने गरेको सुचना आफूहरूले पाएको वडाध्यक्ष यादवले जनाए । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले सर्वसाधारणको ज्यानै लिने गरी उत्पादन भइरहेको घरेलु मदिराको कारोवार र उत्पादन नियन्त्रणका लागि निरनतर रूपमा अभियान सञ्चालन गरिने बताए ।


विगतमा प्रहरीले नियन्त्रणमा लिएका अवैध घरेलु मदिराको कच्चा पदार्थमा कच्चा पदार्थमा महिलाले प्रयोग गर्ने प्याडदेखि जुत्ता चप्पल समेत फेला परेको थियो । यस्तै फोहोर कपडा,पेन्टी समेत मदिरा बनाउन प्रयोग गर्ने गरेको पाइएको छ ।


यसका अतिरिक्त सडेगलेका खानेकुरा र युरिया लगायतका विभिन्न मलखाद्य समेत घरेलु मदिरा बनाउन प्रयोग गरिदै आएको छ । जसका कारण सेवन गर्ने व्यक्तिको कलेजो लगायत शरीरका महत्त्वपूर्ण अंगहरूमा प्रतिकूल प्रभाव पर्न गई अकालमै ज्यान जाने गरेको छ ।

प्रकाशित : माघ १२, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?