१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दूषित खानेकुराले हैरानी

शाहीमान राई

जनकपुर — बजारमा पाइने अखाद्य वस्तु तथा दूषित खानेकुरा उपभोगको कारण मानिसलाई क्यान्सर, पक्षघात, हैजा, हेपाटाइटिस, टाइफाइड, आउँ, महामारी जस्ता रोग लाग्ने गरेको खाद्य प्रविधि विज्ञहरूले बताएका छन् ।

खाद्य स्वच्छता, गुणस्तर र जोखिम विश्लेषण नगरी मानिसले दैनिक उपभोग गर्ने रासायनिक पदार्थयुक्त खानेकुरा स्वास्थ्यका लागि हानिककारक रहेको उनीहरू बताउँछन् ।


स्वाभाविक गुणभन्दा कमसल र दूषित सडेगलेको, फोहोरमैला, विशाक्त पदार्थ मिश्रित रसायनयुक्त खानेकुरा मानिसले दैनिक जीवनमा थाहै नपाई खाइरहेकाले सबै किसिमको रोगको मूल कारण खानेकुरा भएको जनकपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।


अत्याधिक कीटनासक औषधि, विषादी प्रयोग गरी उत्पादित खाद्य वस्तु, खाद्यान्न, तरकारी, फलफूल, अखाद्य रङ मिश्रित दूषित खानेकुराले शरीरमा विभिन्न किसिमका रोग लाग्न सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय खाद्य अनुसन्धान अधिकृत मेनस श्रेष्ठले बताए ।


उनका अनुसार अखाद्य योगशिल चम्पाइ रङ, रोडामिन बि, हाइड्रोपाउडर, नङपालिस, पत्रिका छाप्ने मसी, सिल्भर, आल्मुनियम, माटो, पानी, भाँडाकुँडाबाट खाद्य पदार्थमा प्रवेश हुन सक्ने लिड, क्याडमियम, आर्सेनिक, कपर, विषादी, रासायनिक मल, ढुसीनासक, कीटनासक औषधि प्रयोग गरी उत्पादित तरकारी, खाद्यान्न स्वास्थ्यका लागि हानिकारक छ ।


उनले विषादी कीटनासक औषधिको प्रयोग र त्यसको प्रभावले स्श्वासप्रस्श्वास, मुटु तथा रक्तसंचारमा समस्या, स्नायुप्रणालीमा असर, एन्टिबायोटिकको प्रभावमा कमी, एलर्जी, पेट दुख्ने, कलेजो, मृगौला विगार्ने, रोगविरुद्ध लड्ने क्षमतामा कमी भइ मानिसको हार्मोन परिवर्तन, क्यान्सर, शारीरिक अङ्हरू नचल्ने पक्षघात जस्ता दीर्घकालीन रोग लाग्न सक्ने वैज्ञानिक परीक्षणबाट पुष्टि भएको बताए ।


जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यापारी, उपभोक्ता लगायत सरोकारवालासित खाद्य प्रविधि विज्ञले व्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीको माध्यमबाट रोग फैलिने भएकोले किटनासक औषधि, रासायनिक मलको प्रयोग न्यूनीकरण, उत्पादित वस्तुको भण्डारण व्यवस्थापन, प्रशोधन, पकाउने विधि, सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।


हावा, पानी र माटोमा पाइने व्याक्टेरिया कोलिफर्म मान्छेको आन्द्रा प्रवेश गरेपछि टाइफाइड, हैजा, झाडापखाला, आउँ, पेट दुख्ने, वान्ता, ज्वरो, दिसामा रगत आउने, अल्सर हुने खाद्य अनुसन्धान अधिकृत मेन श्रेष्टले बताए । उनले जंगली च्याउमा फाइलोइडिन नामक विषालु प्रोटिन पाइने, खेसरी दालमा बिटा अक्जाइलिज एमिनोएलानाइन एसिड, आलुको हरियो भागमा अल्कालोइड सोलानाइन विशाक्त पदार्थ, ढुंगा, माटो, सिसा, काठ, प्लास्टिक, धातु, रौं, नङ पनि हानिकारक हुने बताए ।


बजारमा मानव स्वास्थ्यका लागि हानिकारक वस्तुको आयात, बिक्री तथा उपभोग भइरहेको पाइएको सरकारी अनुगमनबाट पुष्टि भएको छ । बजारमा अखाद्य पदार्थ मिश्रित खानेकुरा, गुणस्तरहीन पीउनेपानी, माछा, मासु, मदिरा, औषधि, दूध, दही, खाद्यान्न, दाल चिनीमा मिसावत हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ १२, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?