१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लोकल कुखुराको व्यापार

भरत जर्घामगर

सिरहा — स्थानीय धनगढीमाई ११ नैनपुरका ४५ वर्षीय झरीलाल मण्डल खत्वेको घरमा बाँसको खोरभरि कुखुरा छन् । ती पनि लोप हुन लागेका गाउँघरका रैथाने प्रजातिका कुखुरा हुन् ।

लोकल कुखुराको व्यापार

उनी ती कुखुरा पालन गर्दैनन् तर त्यही स्थानीय प्रजातिको कुखुराको व्यापार गर्छन् । त्यही व्यापारबाट उनले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी लिन्छन् । गाउँघरबाट स्थानीय प्रजातिको कुखुरा संकलन गरी उनी चोहर्वास्थित होटलहरूमा बिक्री गर्छन् ।


होटलहरूमा स्थानीय प्रजातिको कुखुराको माग बढ्दो छ । ब्रोइलरभन्दा मीठो र चखिलो मासु हुने भएकाले पनि स्थानीय जातको कुखुराको माग बढ्दो छ । ‘मागअनुसार स्थानीय जातका कुखुरा पूरा गर्न सकेको छुइन,’ जुँगा पाल्न सौखिन झरीलालले भने, ‘गाउँघरमा ४ सय रुपैयाँ किलोमा कुखुरा खरिद गरी ७ सय रुपैयाँमा प्रतिकिलोमा बिक्री गर्छु’, उनले भने, ‘दिनमा २० देखि २५ किलोसम्म कुखुरा संकलन गरी चोहर्वाका होटलहरूमा बिक्री गर्छु ।’

उनले धनगढीमाई नगरपालिकाको उत्तरवर्ती चुरे क्षेत्र मड्यान, चट्यान, गडमे, सीतारानी लगायत दुई दर्जन गाउँबाट स्थानीयले पालेको कुखुरा खरिद गरी बजारमा बिक्री गर्छन् । उत्तरवर्ती चुरे क्षेत्रमा उनले स्थानीय जातका कुखुरा खरिद गर्न थालेपछि त्यस क्षेत्रमा स्थानीयले कुखुरा पालन सुरु गरेका छन् ।


सीतारानीकी सीता श्रेष्ठले बिक्री हुन थालेपछि कुखुरापालन थालेको सुनाइन् । उनले पालेको कुखुरा उनै जुँगे झरीलाललाई बिक्री गर्दै आएको सुनाइन् । ‘गाउँघरमा कुरा एक केजीदेखि डेढ केजीको हुनै पाउँदैन,’ उनले भनिन्, ‘उनै जुँगे झरीलालले बाँकी बस्न दिँदैनन्, खरिद गरेर लगिहाल्छन् ।’ सीतारानी, गडमे लगायत ती क्षेत्रका स्थानीय झरीलाललाई जुँगे ढाडे बिरालो नामकरण गरिदिएका छन् । जुँगे ढाडे बिरालो कुखुरो लैजान पल्केको स्थानीयले ठट्यौली समेत गर्छन् । ‘ती क्षेत्रमा मेरो पहिचान नै जुँगे भयो,’ झरीलालले भने, ‘म गाउँ घुम्दा जुँगे ढाडे बिरालो कुखुरो लिन आयो भनेर ठट्यौली गर्छन् ।’ झरीलालले जुँगाको रेखी बस्न थालेदेखि नै जुँगा पालेका हुन् ।


बिक्रीका लागि समस्या नभए पनि स्थानीयले माग अनुसार व्यावसायिक रूपमा स्थानीय जातका कुखुरा पालन गर्न किसान अग्रसर हुन नसकेको झरीलालले बताए । स्थानीय जातका कुखुरा ढिलो बढ्ने भएकाले पनि यसको व्यावसायिक पालन गर्न समस्या भएको किसानको भनाइ छ ।


‘ब्रोइलर कुखुरा जस्तो तीन महिनामा स्थानीय जातको कुखुरा खानलायक हुँदैन,’ उनले भने, ‘त्यसकारण पनि यसको व्यावसायिक हुन सकेको छैन, अर्कोतर्फ ब्रोइलर जस्तो खोरमा थुनेर राख्न सकिँदैन । यसको हेरचाहमा पनि समस्या छ ।’ सिरहाको उत्तरवर्ती चुरे क्षेत्रका ती गाउँबाट दैनिक स्थानीय जातका कुखुरा संकलन गरी भोलिपल्ट झरीलाल कुखुरा माग भएको होटलहरूमा पुर्‍याउँछन् ।

प्रकाशित : माघ १३, २०७५ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?