सडकमा दुहुना गाई

शाहीमान राई

जनकपुर — धार्मिक सहर जनकपुरधाममा घरपालुवा गाईवस्तुको बथान सडकभरि छाडिएका छन् । ती पनि दुहुना गाई । दुहुना गाई पनि कस्तो अचम्म ? दूध दुहुने बेला बिहान बेलुकी घरै पुग्छ । फेरि सडकमै आउँछ सडकमै सुत्छ, हिँड्छ, दिसा गर्छ र जताततै गोबरै गोबर फाल्छन् । 

सडकमा दुहुना गाई

गोबरमा कहिले मान्छे, कहिले सवारी साधन चिप्लिने गर्छन् । यस्तो सुबानी गाईपालन कुन देशमा होला ? दुहुना गाई दुहुने बेला घरै आउँछ, दुहिसकेपछि सडकमै जान्छ । दुहुने बेला घर नआए धनीले खोजेर घरमा लैजाने र दुहिसकेपछि छाडिदिने चलन जस्तै भइसकेको जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्रले बताइन् ।

‘गाईवस्तुलाई दानापानी, खोले, नुन केही दिँदैनन्, गाईपालन गर्नेले घाँस पराल किन्नु त परै जाओस्,’ उपमहानगर उपप्रमुख मिश्र भन्छिन्, ‘जनकपुरधाम क्षेत्रमा घरपालुवा जनावर गाईवस्तु सडकमै छाने गर्छन्, नियन्त्रण गर्नै गाह्रो छ, यहाँको विकृति नै भइसकेको छ ।’


जनकपुर उपमहानगरपालिका, ट्राफिक प्रहरी प्रशासनले छाडा चौपाया नियन्त्रण र व्यवस्थापन गर्न सकेका छैनन् । ढल्केबर–जनकपुर राजमार्ग, परिक्रमा सडक, एयरपोर्ट मुरलीचोक, रामचोक, जनकचोक, शिवचोक, भानुचोक, मिल्सएरिया रेलवेस्टेसन लगायत सहरको व्यस्त सडकमा जताततै गाई, गोरु, भैंसी, बाख्रा, खसी, घोडा लगायत सडकमा छाडिएका घरपालुवा जनावर, घरपालुवा चौपायाका कारण ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ रहेको धनुषा जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक दिपककुमार साहले बताए ।


‘छाडा चौपायाका कारण सवारी आवागमनमा अवरोध हुने गरेको छ,’ ट्राफिक प्रहरी निरीक्षक सहले भने, ‘छाडा चौपायाका कारण सडकमा दुर्घटना समेत हुने गरेको छ ।’


उनका अनुसार गत वर्ष छाडा गाईवस्तुका कारण ८ वटा र यस वर्ष एउटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एउटा गाई मरेको छ । जनकपुरको परिक्रमा सडक, आसपासको क्षेत्रमा सयौंको संख्यामा छाडिएका छाडा चौपायाका धनी पत्ता लगाउन मुस्किल छ । छाडा चौपाया नियन्त्रण, न्यूनीकरण र व्यवस्थापनका निम्ति जनकपुर उपमहानगरपालिका कार्यालय परिसरमा कान्जीहाउस (पक्राउ गरिएका छाडा गाईवस्तु राख्ने ठाउँ) निर्माण गरेको छ । ट्राफिक प्रहरी र नगर प्रहरीले संयुक्त प्रयासमा केही दिनअघि नियन्त्रण लिइएका ५ दर्जन गाई लिन पशुधनीहरू कोही आएनन् ।


‘पशुधनी लिन नआएपछि उल्टै घाँस पराल दिएर पाल्नुपर्ने अवस्था आयो,’ जनकपुर उपमहानगरकी उपप्रमुख मिश्रले भनिन्, ‘पक्राउ परेका अर्काको गाई पालेर नगरपालिकाको खर्च गर्नुभन्दा सहरभन्दा टाढाको गाउँसम्म पुर्‍याउन लगाएँ ।’


उपमहानगरपालिकाले सडकमा छाडा चौपाया छाडेबापत प्रतिगाई ५ हजार र बाछाबाछीको ३ हजारका दरले जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ । फौजदारी संहिताअनुसार सडकमा छाडा चौपाया छाडेवापत ५ हजार जरिवाना ३ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।


तर जनकपुरमा आफ्नो गाईवस्तु हराए पनि पशुधनीलाई मतलव नहुने भएकाले नियन्त्रणमा कठिनाइ रहेको ट्राफिक प्रहरी निरीक्षक साहले बताए । जनकपुरधाम उपमहानगर क्षेत्रमा गाईवस्तुले जताततै फालिएको तरकारी, भात, आलु, काउली, बन्दा, केराको बोक्रा, कागज र प्लास्टिक लगायत फोहोरमैला खाने गर्छन् । जनकपुर उपमहानगर क्षेत्रमा दुई हजारभन्दा बढी संख्यामा छाडा चौपाया भएको ट्राफिक प्रहरीले जनाएको छ ।


छाडा चौपाया नियन्त्रण गर्नेे जिम्मेवार निकाय जनकपुर उपमहानगरपालिकाले कार्यालय परिसमा बनाएको कान्जीहाउसमा पक्राउ गरिएका छाडा गाईवस्तु राख्ने ठाउँ साँघुरो छ । जनकपुर उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण प्रयास गरे पनि असफल भएको उपमहानगर उपप्रमुख रिताकुमारी मिश्रले बताइन् । ‘छाडा चौपायाले हैरान पारिसक्यो, सडकमा सवारी आवागमनमा बाधा पुर्‍याउँछन्,’ उपप्रमुख मिश्रले भनिन्, ‘घरपालुवा चौपायाका धनीले वास्ता गर्दैनन् ।’


नगरपालिकाले नियन्त्रणमा लिएका गाईवस्तु जरिवाना तिर्न गाह्रोले लिन नआएपछि घाँस पराल दिएर उल्टै पालिदिनुपर्ने भएकाले लिलाम बिक्री गर्ने व्यवस्था हुनुपर्ने सर्वसाधारणको माग छ । गाईवस्तु छाडा नछाड्न जनचेतना फैलाउन जरुरी रहेको ट्राफिक प्रहरी निरीक्षक दिपककुमार साहले बताए ।

प्रकाशित : माघ १३, २०७५ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?