बेर्ना बेचेर लखपति

महोत्तरी — विपन्न परिवारका ५२ वर्षीय बेचु महतो अहिले लखपति भएका छन् । गौशाला नगरपालिका ११ डुमरवनाका उनी तरकारीको बेर्ना बेचेर नसोचेको सफलता पाएका हुन् ।

बेर्ना बेचेर लखपति

दशकदेखि उनी व्यवसायिक रूपमा तरकारीका बेर्ना उत्पादन गर्दै आएका छन् । प्याज, काउली, चाइनिज रायो (चैसम) खोर्सानी र भण्टाको बेर्नासमेत उत्पादन गर्छन् । जरामा लागेको माटोसहित बिक्ने हुँदा बढी फाइदा प्याजको बेर्नाबाट हुने गरेको उनले जनाए । ‘प्याजमा बेर्नाले भन्दा बढी दाम माटोले दिन्छ,’ उनले भेन ।


थोरै जमिन र कम पुँजीमा व्यवसायिक खेती गर्न सकिने उनी उदाहरण बनेका छन् । केवल एक कट्ठामा बेर्ना उत्पादन गरेर लखपति बनेका उनले गर्वसाथ बताए । गत वर्ष यतिकै क्षेत्रफलको उत्पादनबाट उनले ३ लाखभन्दा बढी बचत गरेका थिए । प्याजको बेर्नाबाट मात्रै लाखभन्दा बढी बचेको उनले जनाए । यो वर्ष पनि उनले त्यतिकै जमिनमा प्याजकै बेर्ना उत्पादन गरेका छन् । आधा जति बेचिसके । बाँकी साता दिनभित्र सकिने बताए । केही कान्लामा हुर्कदै गरेका प्याज छन् ।


उनी भन्छन्, ‘यो बेर्नाले माघभरि कमाइ हुन्छ । तरिका जान्यो भने बेर्नामा पैसैपैसा छ ।’ उनका अनुसार एक कट्ठामा प्याजको बेर्ना उत्पादन गर्न ८ केजी बीउेको आवश्यकता पर्छ । बीउ किन्न ८ सय रुपैयाँ लाग्छ । सिँचाइ, मजदुरी र जैविक मल खरिदका लागि २५ सयदेखि ३५ सय जति खर्च हुन्छ । ब्याड राखेको सवा महिनामा प्याजको बेर्ना तयार हुन्छ । बक्री भइसक्दा डेढ महिना लाग्छ ।


यति मिहेनत गरेपछि बेर्ना भने हजार केजी उत्पादन हने गरेको उनले बताए । बजारमा प्रतिकेजी सयका दरले बिक्री हुन्छ । लाख रुपैयाँ बेर्ना बेचेर हन्छ । महतोका अनुसार बेर्ना विकेर खाली भएको जमिनमा हरियो धनिया लगाएर लगत्तै अर्को आम्दानी लिने गरेको उनले जनाए । ‘हरियो धनिया बेचेर ३० हजारसम्म थप आम्दानी हुन्छ,’ि उनले भने, ‘हरियो धनिया सकिदा सकिदै चाइनिज रायो (चैसम) को बेर्ना तयार हुन्छ । त्यहाँबाट अर्को आम्दानी हुन्छ,’ खेतमै पुगेका ग्राहकका लागि प्याजको बेर्ना उखाल्दै गरेका महतोले, धनिया र उम्रदै गरेको चाइनिज रायोको बिरुवा देखाउँदै भने । अनि त्यही खेतमा एकपछि अर्को गर्दै सिजनअनुसारको खोर्सानी, भण्टा र काउलीको बेर्ना उत्पादन गरी उनले एउटै खेतबाट वर्षभर आम्दानी लिँदै आएका छन् ।


‘खेतबारी दुहुनु गाई जत्तिकै हुन्,’ उनले भने, ‘जाँगर चलायो भने वर्षभरि आम्दानी गर्न सकिन्छ ।’ महतोले तराईका फाँटमा उत्पादन गरेका प्याजका अधिकांश बेर्ना पहाडी भेग भिमान, सिन्धुली र खुर्कोटसम्म पुर्‍याएर बिक्री गर्दै आएका छन् । उनको घर छेउमै गौशाला, इमली बजार, वीरेन्द्र र कान्ति बजारजस्ता चल्तीका व्यापारिक केन्द्र नभएका हैनन् । तर पहाडका ग्राहकबाट पाइने सहयोग र सद्भावले आफूलाई आकर्षित गरेको उनले बताए । तराईको उत्पादनले पहाडसँग साइनो गासेकोमा गर्व गर्छन् । मौका पर्दा उताका सुन्तला, जुनार र हरिया तरकारी जस्ता पहाडका कोसेली पनि यता ल्याउने गरेको उनले बताए । ‘सुरुमा जाँदा हेप्छन् कि भन्ने लागेको थियो,’ उनले भने, ‘तर त्यहाँ पुग्दा सवैले सहयोग गरे । लगे जति बेर्ना विके, दाम र भाउमा यता जस्तो किचकिच पनि गर्दैनन् ।’ गरिवीमा हुर्केका महतोले नजिकै माध्यमिक तहको विद्यालय भएर पनि ७ कक्षाभन्दा माथि उक्लन पाएनन् । अंशवण्डा हुँदा ७ कट्ठा जमिन उनको फाटमा पर्‍यो । त्यसको आम्दानीले खाना समेत नपुगेको उनले अतित सम्झे ।


त्यसै ताका गाउँमा केयर नेपाल नामको संस्था आएर करेसाबारीको तालिम दिएपछि उनी व्यावसायिक खेती गर्न प्रेरित भएको बताउँछन् । त्यसको केही वर्षपछि जिल्ला कृषि विकास कार्यालयबाट वीउविजन उत्पादन गर्ने तालिम लिएर आएदेखि उनले पछाडि फर्केर हेर्नु परेन । ‘बेर्ना बेचेको पैसाले १ विगाहा खेत जोडिसकें’, उनले आफ्नो प्रगति सुनाए । ‘ऋण सापट नलिएरै दुई छोरीको विहे पनि गरें ।’ आफूले पढ्न नपाए पनि एक छोरा र एक छोरीलाई अंग्रेजी स्कुलमा भर्ना गरेको उनले बताए । लेखपढ गरेर छोराछोरीलाई कृषिकै हाकिम बनाउने उनको धोको छ । तरकारी खेती र बेर्ना उत्पादनका लागि सिँचाइ महत्त्वपूर्ण हुन्छ । तर उनले खेतमै खनेको इनारबाट पर्याप्त पानी नआउनाले र गर्मी याममा सुकने गर्नाले चाहेजस्तो उत्पादन लिन नसकेको सुनाए ।


‘डिप बोर्डिङका लागि प्रयास गरें तर कसैले वास्ता गरेन,’ उनले गुनासो पोखे, ‘सरकारले कृषकका लागि लोभ लाग्दो नारा दिन्छ तर हामी जस्ता किसानका समस्या सुनिदिने कोही पनि छैन ।’ गाउँगाउँमा विद्युत् सेवा पुगिसकेकाले सरकारले खेत खेतमा सिँचाइको प्रबन्ध मिलाए नेपाली किसानले विदेसिनु नपर्ने उनको अनुभव छ । कृषि कार्यालयको रेकर्डअनुसार महोत्तरीमा वार्षिक २ सय २५ हेक्टरमा प्याज खेती हुन्छ । प्रतिहेक्टर उत्पादकत्व १५ दशमलव ४ मेटनको दरको वार्षिक ३ हजार ४ सय ६५ मेट्रिक टन प्याज उत्पादन हुने गरेको कृषि प्रविधिकले जनाएका छन् ।

प्रकाशित : माघ १३, २०७५ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?