कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

घट्दै सशस्त्र समूह

अवधेशकुमार झा

राजविराज — तराई मधेसमा विभिन्न माग राखी सुरु भएका सशस्त्र समूहहरू बिस्तारै निस्तेज हुँदै गएका छन् । जयकृष्ण गोइत बाहेकका अन्य समूहको गतिविधि प्राय:जसो निस्तेज भएको हो । बेलाबखत जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको गतिविधि देखिने गरिएको छ । 

उक्त मोर्चाले केही महिनाअघि विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट गराएका थिए भने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका बेला सप्तरी र सिहाका विभिन्न स्थानमा बम राखेको थियो । केही दिनअघि पनि गोइत समूह ले सिरहामा प्रेसर कुकर बम राखेको थियो । अहिले पनि गोइत सामाजिक सञ्जालमार्फत आफना विचारलाई राख्दै आएका छन् । उनले आफू संगठन बिस्तारमा लागेको बताउँदै आएका छन् ।


खासगरी अहिलेको प्रदेश नम्बर २ मा विगतमा सक्रिय रहेका सशस्त्र समूहहरूका नेताहरूमध्ये केही प्रहरीको कारवाहीमा मारिएपछि समाप्त भए भने केही प्रहरीद्वारा पक्राउपछि निस्तेज भए ।


केही सशस्त्र समूह राज्यसित वार्ता गर्दे हतियार बुझाई शान्तिपूर्ण राजनीति गर्ने घोषणा गर्ने स्वतन्त्र जिवन यापन गरिरहेका छन् । सरकारलाई हतियार बुझाएकामध्ये धेरै सशस्त्र समूहका नेताहरू अहिले कि त मधेसवादी दल कि त नेकपाको नेता कार्यकर्ता भएर राजनीति गरिरहेका छन् । एक महिनाअघि मात्र जनतान्त्रिकको अविनास समूह सरकारी वार्ता टोलीसित वार्ता गर्दै राजविराजमा हतियार बुझाएको थियो ।


पछिल्लो पटक सप्तरी सहित प्रदेश नम्बर २ को जिल्लामा हत्या,चन्दा आतंक मच्चाउँदै आएको प्रगतिशिल तराई मुक्ति मोर्चा सिजन समूहका प्रमुख सिजन उपनामका दीपेन्द्र चौधरी प्रहरीको जवाफी कारवाहीमा गत बुधबार मारिएको र सोही समूहका सैन्य कमाण्डर निशान्त भनिने पशुपति चौधरीलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएपछि निस्तेज हुने सशस्त्र समूहको सूचीमा प्रगतिशिल तराई मुक्ति मोर्चाको नाम पनि जोडिएको छ ।


उक्त समूह पनि गोइतकै नेतृत्वको मोर्चाबाट अलग भई निर्माण भएको प्रहरीको दावबी छ । सप्तरी प्रहरीले प्रविधिको सहयोगमा लामो प्रयासपछि यो समूहको अस्तित्व समाप्त पारेको दाबी गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्ट भन्छन्, ‘पछिल्लो समय यो समूह शान्ति सुरक्षाको सवालमा चुनौती बन्दै थियो,त्यो चुनौतीलाई हामीले निस्तेज बनायौं ।’


उक्त समूहले सप्तरीमा मात्र नेपाल प्रहरीका एक असई र त्रियुगा डिस्टीलरीका सुरक्षा गार्डको गोली हानी हत्या गरेको थियो भने साताअघि मात्र सप्तरीको बिसनपुरमा डयुटीमा रहेका प्रहरी हब्लदार महेन्द्र सतरा यादबलाई पिठयुँमा गोली हानेको थियो । यस्तै चन्दा आतंक समेत चलाइरहेको प्रहरीको भनाइ छ ।


विगतदेखि नै दीपेन्द्र र पशुपति सप्तरीको प्रहरीको सर्वाधिक खोजीको सूचीमा थियो । पछिल्लो पटक हब्लदार यादवमाथि गोली प्रहार भएपछि उनीहरूको खोजीलाई प्रहरीले तीव्र बनाएको थियो । ‘हब्लदारलाई गोली हानिएपछि हामी दिनरात एक गरी अनुसनधान र खोजी गर्‍यौं,’ एसपी बिष्टले भने । प्रहरीका अनुसार सोही क्रममा दीपेन्द्रको जवाफी कारवाहीमा मृत्यु भएको र पशुपतिलाई कोसी ब्यारेज क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

प्रगतिशिल तराई मुक्ति मोर्चाका दुई प्रमुख नेतामध्ये एक प्रहरी कारवाहीमा मारिएको र अर्कोलाई प्रहरीले नियन्त्रणमा लिएपछि सो संगठनको अस्तित्व समाप्त भएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टको ठम्याइ छ । ‘प्रगतिशिल तराई मुक्ति मोर्चाको अस्तित्व समाप्तसँगै सप्तरी सहित प्रदेश २ का जिल्लामा शान्तिसुरक्षाको अवस्थामा सुधार आउने हाम्रो अपेक्षा हो,’ एसपी बिष्टले भने ।


यसअघि प्रदेश नम्बर २ को ८ जिल्लामा सक्रिय गजेन्द्रकुमार मण्डल अनुराग नेतृत्वको तराई जनक्रान्ती पार्टी, जयप्रकास यादव नेतृत्वको मधेसी भाइरस किर्लस पार्टी, स्वामीजी भनिने रामलोचन ठाकुर नेतृत्वको एलटिटिई,रमण सिंह उपनामका जगदीस अधिकारी नेतृत्वको मधेस मुक्ति टाइगर्स सहित जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूह,जनतान्त्रिक तराई मुक्ति मोर्चा उत्कर्ष मुक्ति समूह सहितका अन्य विभिन्न समूहमध्ये केहीले सरकारसित वार्ता गरी शान्तिपूर्ण राजनीतिको बाटो रोजिसकेका छन् भने केही प्रहरीको कारवाहीपछि जेलमा छन् ।


यसैगरी ज्वाला सिंह समूहको गतिविधि पछिल्ला केही वर्षयता देखिएका छैनन् भने रणवीर समूह,तराई संयुक्त जनक्रान्ती पार्टी, मधेस राष्ट्र जनतान्त्रिक क्रान्तिकारी मोर्चा,महान मधेस जनक्रान्ती पार्टी,प्रतिक समूह,बिस्फोट समूह,बिबस समूह लगायतका समूहहरूको अस्तित्व पनि समाप्त भइसकेको प्रहरीको दाबी छ ।


प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले प्रदेश २ का ८ जिल्लामा विगतमा सक्रिय रहेका सशस्त्र समूहहरू बिस्तारै निस्तेज हुँदै गएको बताए । उनले पछिल्ला समयमा केही छिटफुट घटना बाहेक सशस्त्र समूहका गतिविधि नदेखिएको बताए । ‘शान्तिसुरक्षामा खलल पुर्‍याउनेसित कुनै मोलाहिजा हुँदैन,’ डीआईजी पालले भने ।


सशस्त्र समूहको सुरुवात


विगतको समयमा पनि तराईमा बन्दकु उठे पनि ०६१ साल साउन १० गते तात्कालीन नेकपा माओवादी निकटको मधेसी राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक संयोजक जयकृष्ण गोइतले माओवादीबाट अलग भएको घोषणा सहित जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक संगठन खोल्दै सशस्त्र संघर्ष सुरु गरे ।


सशस्त्र समूह गठन गर्नुपूर्व लामो समय बाम आन्दोलनमा लागेर राजनीतिक छवि बनाएका गोइतको सशस्त्र मोर्चामा विभिन्न आपराधिक व्यक्तिहरूको पनि प्रवेश भएपछि उनी बिस्तारै त्यस्तालाई कारवाही गर्दे किनारा लगाए । यसका साथै गोइतलाई नमान्ने भन्दै पनि केही उनीसित छुटे ।


गोइतले कारवाही गरेका र उनीसित विभिन्न समयमा अलग भएकाहरू छुटटाछुटटै सशस्त्र समूह बनाउँदै विभिन्न सशस्त्र गतिविधि गरिरहे । बाम राजनीतिमा लामो समयसम्म रहेका गोइतलाई ०५५ सालको स्थानीय निकायको निर्वाचनमा एमालेले सप्तरी जिल्ला विकास समितिको सभापतिमा टिकट नदिएपछि बिरक्तिएर उनी तात्कालीन बिद्रोही माओवादीतिर लागेका थिए ।


माओवादीमा रहदा उनले मधेस तराईमा संगठन गर्ने जिम्मेवारीमा रहदा भ्रातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक संयोजक भए । तराईमा मधेस तथा थारूवान गरी दुई प्रदेश गर्नुपर्ने माओवादी शीर्ष नेतृत्वको अडानका बीच गोइतले माओवादी परित्याग गरी ०६१ साउन १ गते जनतान्त्रिक तराई मुक्ति मोर्चाको स्थापना गरेको घोषणा गरेका थिए । यसका अतिरिक्त अन्य आन्तरिक कारणहरू पनि गोइत अलग्निुको कारण बनेको थियो ।


उनले जनतान्त्रिक घोषणा गरी सशस्त्र समूह थाल्दा माओवादीभित्रैकै एक ठूलो समूह उनीसँग लागेका थिए । उनले सशस्त्र समूह स्थापना गरेपछि तराई छुट्टै देशको माग राखी संघर्ष चलाए । संघर्षका क्रममा पहाडी समुदायलाई निशाना बनाइयो । मधेसका केही व्यक्ति पनि संघर्षको चपेटामा परे । उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने मधेसका युवा जमात गोइतसित संगठित भए । अपहरण र हत्याको शृंखला पनि चल्यो ।


जनतान्त्रिकले सप्तरीको सीमावर्ती कुनौली क्षेत्रबाट अपहरण गरेका दुरुसञ्चारका कर्मचारीहरूलाई छोडने र नछोडने कुरामा ज्वाला सिंह (नागेन्द्र पासमान) सित बिमति भयो । फलस्वरूप जनतान्त्रिक स्थापना भएको दुई वर्षपछि ज्वाला सिंहले गोइतबाट अलग भएर छुट्टै संगठन बनाए । त्यो पनि लामो समय एकत्रित रहन सकेन । पछि गोइतले नै स्थापना गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा विभिन्न चिरामा विभाजित भयो ।


जनतान्त्रिकका नामबाट झन्डै एक दर्जन समूह अस्तित्वमा आए । यसका अतिरिक्त भाइरस किर्लस, मधेसी टाइगर लगायतका अनेकौं समूहहरू पनि स्वतन्त्र तराईकै मुद्दा भन्दै आए । विभाजित हुँदाहुँदा गोइतको सांगठनिक शक्ति पनि कमजोर भयो । गोइत बाहेकको अन्य समूहमा लागेकाहरूमध्ये धेरै मारिए, धेरै समातिए त धेरै समूह विभिन्न संसदवादी राजनीति दलमा विलय भयो । लागेका युवाहरूमध्ये केही रोजगारीका लागि बिदेसिएका छन् ।

प्रकाशित : माघ १४, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?