कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एक वर्षभित्र पुल बनाउन माग

रिले अनशनको एक महिना हुँदासमेत सरोकारवाला निकाय मौन
भरत जर्घामगर

सिरहा — हुलाकी राजमार्गअन्तर्गत सिरहा–धनुषा र सिरहा–सप्तरी जोडने कमला र बलान खोलामा ६ महिनाभित्र पुल बन्नुपर्ने मागसहित सिरहाको महाबीर चोकमा एक महिनादेखि रिले अनशनकारीले पत्रकार सम्मेलन गरेका छन् ।

पुल निर्माणको माग गर्दै हुलाकी सडक संघर्ष समितिका केन्द्रीय संयोजक रामरिझन यादवको नेतृत्वमा पुस १७ गतेदेखि रिले अनशन सुरु भएको हो । एक महिना पुग्दा समेत सरोकारवालाले बेवास्ता गरेको आरोप उनीहरूले लगाए ।


उनीहरूले सरकारले लिखित रूपमा १ वर्षभित्र पुल निर्माण गर्छु भन्ने प्रतिबद्धता नजनाएसम्म रिले अनशन जारी रहने केन्द्रीय संयोजक यादवले जानकारी दिए । सिरहाबाट सुरु भएको रिले अनशन धनुषामा समेत भएको थियो । ‘रिले अनशनकारीको माग सम्बोधन गर्न सरोकारवाला मन्त्रीले लिखित प्रतिबद्धता जनाउनुपर्छ,’ केन्द्रीय संयोजक यादवले भने ।


सरकार र ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माण भएको ८ वर्ष ८ महिना बितिसक्दा पनि निर्माण सम्पन्न नभएको भन्दै ६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने माग गर्दै हुलाकी सडक संघर्ष समितिले पुस १७ गतेबाट रिले अनशन सुरु गरेको थियो ।

काम थालेको ४२ महिनामै हस्तान्तरण गर्नुपर्ने पुल ८ वर्ष ८ महिना बितिसक्दा समेत ठेकेदार कम्पनीले आधामात्र निर्माण गरेर अलपत्र छाडेपछि सिरहा र सप्तरीका तीन दर्जन गाउँका बासिन्दाले बलान खोला तर्न सास्ती व्यहोर्नु परेको छ ।


आर्थिक वर्ष २०६७/६८ मा हुलाकी राजमार्गअन्तर्गत बलान खोलामा पुल निर्माणको ठेक्का लागेर ठेकेदार कम्पनीले काम सुरु गर्दा सिरहा र सप्तरी दुवै गाउँका स्थानीय खुसी भएका थिए । तर ८ वर्ष ८ महिना बितिसक्दा पुल बन्न त परै जाओस्, पुल निर्माणका लागि सिरहाबासीले अनशन सुरु गर्नुपरेको छ ।


मधेसको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत सप्तरी र सिरहाको सीमामा पर्ने बलान खोलामा पुल निर्माणका लागि हुलाकी राजमार्ग परियोजनाले टेन्डर आहान गरेपछि शर्मा–पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार त्यतिखेर ४२ महिनामा काम सम्पन्न गर्ने शर्तमा शर्मा–पप्पु कन्स्ट्रक्सनले २८ करोड हाराहारीमा ठेक्का सकारेको थियो । तर समयमा काम सम्पन्न नभएपछि २ वर्ष म्याद दुई पटक गरी चार वर्ष म्याद थपिसके पनि ५० प्रतिशत मात्र काम भएको छ ।


४ सय ७० मिटर लम्बाइ बलान पुलमा १३ वटा मात्र पिलर निर्माण गरेर ठेकेदार कम्पनीले दुई वर्षदेखि काम छाडेर पुल अलपत्र पारेको स्थानीयको आरोप छ । २८ करोडमध्ये ४७ प्रतिशत रकम कार्यालयबाट रकम भुक्तानी लिइसकेको ठेकेदार कम्पनीले दुई वर्षदेखि काम गर्न छाडेपछि निर्देशनालयले पटकपटक चिठी पठाएको थियो ।


त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत कमला नदीको पुल समेत शर्मा–पप्पु कन्स्सट्रक्सनले अधुरै छाडेको छ । २०६८ जेठ ३१ गते कन्स्ट्रक्सनले ३ वर्ष ६ महिनामा पुल निर्माण सक्ने गरी २८ करोड १५ लाखमा ठेक्का लिएको थियो । त्यतिखेरै ३ करोड ३० लाख रूपैयाँ पेस्की लिएर निर्माण सुरु गरेको कम्पनीले ८ वर्ष बितिसक्दासमेत ५० प्रतिशत मात्र पुलको काम गरेर अलपत्र पारेको छ । २०७१ मंसीर ३१ गते हस्तान्तरण गर्नुपर्ने पुलको कम्पनीले १४ करोड भुक्तानी लिइसकेको छ ।


साढे ३ वर्षमाभित्र पूरा गर्ने गरी पप्पु लुम्बिनी जेभीले पुल निर्माण सम्झौता गरेको थियो । ३० मंसिर ०७१ सम्ममा निर्माण सक्ने गरी पप्पुले ३१ जेठ ०६८ मा सम्झौता गरेको थियो । पुलको फाउन्डेसनदेखि बिम स्ल्याबसम्मको मात्र काम गरेको छ ।


पुल निर्माण अलपत्र छाडेपछि संघर्ष समितिले त्यसअघि ३१ भदौदेखि ७ असोजसम्म सप्तरीको राजविराजदेखि जनकपुरसम्मको ९० किलोमिटर पैदलयात्रा गरेको थियो । त्यसपछि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई हुलाकी सडक र पुल निर्माणको मागसहित ज्ञापनपत्र बुझाएको समितिले २२ असोजमा सिरहामा ‘हुलाकी सडक र कमला पुल’ विषयमा अन्तक्र्रिया गरेको थियो ।

प्रकाशित : माघ १९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?