कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हटेन राजमार्गमा पार्किङ

राजमार्ग मुलसडक तथा बजारहरूमा पार्किङ व्यवस्थित नहुँदा आवागमनमा असहज मात्र होइन दुर्घटनासमेत निम्त्याएको छ । पार्किङ व्यवस्थित बनाउन छोटा अभियान चलाए पनि दीर्घकालीन काम हुन सकेको छैन 
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको अगाडि राजमार्गमै जथाभावी सवारीसाधन पार्किङ गरिए पनि ट्रफिक प्रहरी मूकदर्शक बनेको छ
पवन यादव

सिमरा — जितपुर सिमरा उपमहानगरपालिकाले ऐन नियम मिचेर राजमार्गमै पार्किङ गर्न लगाएको ठेक्का अझै सञ्चालनमा छ । सवारी साधन पार्किङ गर्न जग्गा नै नभएको स्थानमा सवारी साधन पार्किङ गर्न उपमहानगरपालिकाले ठेक्का लगाएको हो । 

हटेन राजमार्गमा पार्किङ

उपमहानगरपालिकाले लगाएको ठेक्काको रसिद लिएर राजमार्गमा गुड्ने मालवाहक सवारी साधन पथलैयास्थित राजमार्गको कालोपत्रे सडकमै लामो समयसम्म पार्किङ हुने गरेको छ । शनिबार पनि झन्डै एक सय भन्दा बढी मालवाहक सवारी राजमार्गमै पार्किङ गरेको पाईयो ।

प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको अगाडि राजमार्गमै जथाभावी सवारी साधन पार्किङ गरिए पनि ट्रफिक प्रहरी मुकदर्शक बनेको छ । राजमार्गमा सवारी साधन पार्किङ गर्न नपाइने कानुनी प्रावधान भए पनि ट्राफिक प्रहरी उक्त सवारीलाई हटाउन सकेको छैन । ट्राफिक प्रहरीले राजमार्गमा पार्किङ गरिएको सवारी साधनलाई हटाउन प्रयास गरे पनि उपमहानगरपालिकाले लगाएको ठेक्काका कारण हटाउन नसकिएको प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता ट्राफिक प्रहरी निरीक्षक रिपेन्द्र सिंहले बताए ।

‘हामीले राजमार्गमा राखिएको सवारीलाई हटाउन खोज्दा सवारी चालकले ठेक्काको रसिद देखाउँछन्,’ उनले भने, ‘ठेक्काको रसिद देखाएपछि पार्किङ हटाउन समस्या भएको हो ।’ सवारी रोक्न ठेक्काको रसिद काटिसकेका सवारीलाई कसरी धपाउने ? ट्राफिक प्रहरी नै अलमलमा परेपछि उक्त उपमहानगरपालिकासँग सवारी पार्किङलाई व्यवस्थित बनाउन समन्वय कार्य भइरहेको उनले जानकारी दिए ।

राजमार्गमा सवारी साधन पार्किङ गर्न कुनै निकायले ठेक्का गर्न पाइँदैन । पार्किङलाई व्यवस्थित गर्न उपमहानगरपालिकालाई आफूहरूले आग्रह गरेको ट्राफिक प्रहरी अधिकारीले बताएका छन । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले पथलैयाको पार्किङ व्यवस्थापन गर्न आफू प्रयासरत रहेको बताए ।

‘हामीले पार्किङ व्यवस्थापन गर्न छलफल थालेका छौं,’ उनले भने, ‘चाँडै नै पार्किङ व्यवस्थापन हुन्छ ।’ पार्किङ समस्या समाधान गर्न निरन्तरको प्रयास जारी रहेको उनले दाबी गरे । ५ महिना अगाडि ‘राजमार्गमा पार्किङ ठेक्का’ समारचारको प्रतिक्रियाका क्रममा मेयर पौडेलले भनेका थिए, ‘ठेक्का लगाइएको पथलैया क्षेत्रको पार्किङ व्यवस्थापन गर्छौं ।’ पार्किङ व्यवस्थापन गर्दै छौं । पार्किङ व्यवस्थापन हुन्छ भन्दै उनी पन्छिएका थिए । शनिबार पनि उनी पहिलाकै ढर्रामा प्रतिक्रिया दिँदै पन्छिए ।

लामो समयसम्म कालोपत्रे सडकमा सवारी रोकिदा सडकमा ड्यामेजिङ फ्याक्टरको प्रभाव बढी पर्ने गरेको डिभिजन सडक कार्यालय हेटौंडाका इन्जिनियर नरेश केसरीले बताए ।

‘राजमार्गको पिच दबिएर फुट्नुको प्रमुख कारण लामो समयसम्म मालवाहक सवारी साधन रोकिनु तथा सडक क्षमताभन्दा बढीका मालवाहक सवारी साधन गुड्नु हो,’ उनले भने, ‘राजमार्गमा सवारी पार्किङ गर्न ठेक्का कसैले लगाउन पाइँदैन ।’ राजमार्गमा लामो समयसम्म सवारी राख्नेलाई कारवाही गरिने कानुनी प्रावधान रहेको उनले जानकारी दिए ।

देशकै प्रमुख रामजमार्गका रूपमा रहेको पूर्व–पश्चिम राजमार्गअन्र्तगत बाराको पथलैयामा राजमार्गमै पार्किङ गर्न जितपुर सिमरा उपमहानगरपालिकाले ऐन नियम विपरीत ठेक्का लगाएको छ ।

राजमार्गमै जथाभावी पार्किङ गरिएको सवारी साधनलाई हटाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराबाट खटिएको टोलीलाई चालकले पार्किङ शुल्क तिरेको रसिद देखाएपछि पार्किङ ठेक्काको रहस्य खुलासा भएको थियो । गएको साउन महिनादेखि लागू हुने गरी उपमहानगरपालिकाले प्रतिस्पर्धाको आधारमा पथलैया निवासी अरुणराज कंसकारलाई १० लाख रुपैयाँमा पार्किङ ठेक्का दिएको थियो ।

राजमार्गमा २४ घण्टा सवारी साधन पार्किङ गरेवापत ठेकेदारले पार्किङ रसिद दिएर प्रति सवारीबाट २५ रुपैयाँको दरले पार्किङ शुल्क उठाउदै आएका छन् । दैनिक एक सय भन्दा बढीको संख्यामा ट्रक, बस, ट्याङकर लगायतका सवारी रामर्गमै पार्किङ गर्ने गरिएको ठेकेदार कंसकारले जानकारी दिएका छन ।

‘दिनमा २५ सय देखी ३ हजार रुपैयाँ पार्किङ शुल्क उठाउछौं,’ उनले भने, ‘पथलैया क्षेत्रको सबै स्थलमा हामीले पार्किङ शुल्क उठाउन पाउछौं ।’ ठेक्का लिएवापतको रकम उपमहानगरपालिकालाई तिरेपछि पार्किङ शुल्क उठाउन पाउनु पर्ने उनको जिकिर छ । ‘राजमार्गमा पार्किङ शुल्क असुल्न मिल्दैन मलाई पनि थाहा छ, तर पथलैयामा पार्किङ स्थल नै छैन,’ उनले भने, ‘ठेक्कामा लगाई सकेको रकम त उठाउनै पर्‍यो नि ?’ पटक पटक उपमहानगरपालिकालाई पार्किङ स्थल किटान गरी देखाउन ताकेदा गर्दा पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।

उनका अनुसार, ठेक्का सम्झौतापत्रमा पार्किङ स्थल किटान गरिएको छैन । पुरै पथलैया क्षेत्रबाट पार्किङ शुल्क उठाउन भनिएको छ । सवारी साधन पार्किङ गर्न पथलैयामा रामाजर्ग बाहेक एक रती पनि जग्गा खाली छैन । सवारी साधन पार्किङ गर्ने राजमार्ग बाहेकको विकल्प नरहेको उनले जानकारी दिए ।

अतिव्यस्त उक्त राजमार्गमा सवारी दुर्घटना घटाउन ६ लेनको फराकिलो कालोपत्रे सडक निर्माण गरिएको छ । सवारी साधन गुड्नका लागि बनाइएको कालोपत्रे सडकमा अहिले पार्किङ शुल्क उठाउन सवारी राख्ने गरिएको प्रत्यक्षदर्शीले बताए । प्रदेश नं. २ कै प्रमुख औद्योगिक करिडोर पथलैया–बीरगन्ज सडक खण्डको मूल सडकमै जथाभावी मालवाहक सवारी साधन पार्किङ गर्ने गरिएको छ । राजमार्गमा गरिएको पार्किङले सवारी साधनको आवागमनमा समेत अवरोध पुर्‍याउने गरेको स्थानीयले बताए ।

पार्किङस्थल अव्यवस्थित

पर्सा– वीरगन्ज महानगरको सडकमा अव्यवस्थित रूपमा मोटरसाइकल पार्किङ गर्ने ८३ मोटरसाइकल ट्राफिक प्रहरीले बरामद गरेको छ । यसै साता जिल्ला ट्राफिक प्रहरी कार्यालयले चलाएको अभियानका क्रममा यत्तिको संख्यामा मोटरसाइकल बरामद गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले आइतबार ३७, बिहीबार २५ र शुक्रबार २१ गरी ८३ मोटरसाइकल बरामद गरिएको जानकारी दिए । पार्किङ क्षेत्रमा अव्यवस्थित गरी पार्किङ गर्ने, नो पार्किङ क्षेत्रमा पार्किङ गर्ने, फुटपाथमा समेत पार्किङ भएका मोटरसाइकल बरामद गरिएको उनले बताए ।


वीरगन्ज महानगरको सडकमा अव्यवस्थित रूपमा पार्किङ गर्नेहरूको मोटरसाइकल शुक्रबार बरामद गर्दै ट्राफिक प्रहरी । तस्बिर : कान्तिपुर


घन्टाघरदेखि बिर्ता चोकसम्मको सडक क्षेत्रलाई लक्षित गरी यो अभियान चलाइएको उनले बताए । बरामद गरिएका मोटरसाइकलधनीलाई जरिवाना गराएर उनीहरूलाई पार्किङ विधिबारे जानकारी समेत गराई मोटरसाइकल जिम्मा लगाउने गरिएको छ । विगतमा पनि यो अभियान चलाइएकोमा हाल पुन: अव्यवस्थित रूपमा मोटरसाइकल पार्किङ गर्ने प्रवृत्ति बढ्दै गएकाले अभियान चलाउनु परेको उनले बताए ।

‘हामीले मोटरसाइकलधनीहरूलाई कुनै नयाँ कानुन ल्याएर कारवाही गरेका होइनौं,’ उनले भने, ‘कानुन कार्यान्वयन गरेर कारवाही गरेर वीरगन्जलाई नै व्यवस्थित बनाउने प्रयासस्वरूप यो अभियान चलाएका हौं ।’

शुक्रबार वीरगन्जको फुटपाथबाट ११ साइकल समेत बरामद गरिएको उनले जानकारी दिए । मुलुकका अन्य सहरको तुलनामा वीरगन्ज महानगरमा ट्राफिक समस्या बढी रहेको छ । सवारी चालकहरूले ट्राफिक नियम पालना नगर्ने र सवारी पार्किङ समेत अव्यवस्थित रूपमा गर्ने गरेका छन् । महानगरको मुख्य सडक नै साँघुरो रहेकाले एकतर्फी रूपमै पनि सवारी पार्किङ गर्दा मुख्य सडक झनै साँघुरो हुन जान्छ । जसले प्राय: घन्टाघरदेखि मकालु चोकसम्मको सडकमा नियमित जसो जाम भइरहन्छ ।

प्रकाशित : माघ २०, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?