चिनी मिलका मजदुर अनशनमा

महोत्तरी — रामनगरस्थित एभरेस्ट चिनी मिलका मजदुरले कारखाना परिसरमा आमरण अनशन सुरु गरेका छन् । कारखानाको प्रशासन शाखाअगाडि बिहानैदेखि १० मजदुरले सामूहिक आमरण अनशन सुरु गरेका हुन् ।

बिहीबारदेखि सुरु अनशन शुक्रबार पनि जारी छ । भुक्तानी विवादले उखु किसान र उद्योगीबीच कटुता बढ्दै गएको बेला खाईपाई आएका सुविधा कटौती गरेको भन्दै उनीहरू अनशन बसेका हुन् ।


आमरण अनशन बस्नेमा एभरेस्ट चिनीमिलको आधिकारिक औद्योगिक मजदुर संघ एकाइ समितिका काबा अध्यक्ष नीरबहादुर अधिकारी, सचिव जीवनहरि उपाध्याय, सहसचिव केदार सुसलिङ, कोषाध्यक्ष फेकन साह, तथा सदस्यहरू रामहरि दुलाल, दशरथ महतो, राजकुुमार यादव, उपेन्द्र पासवान, लीलाधर महतो र रामसेवक महतो छन् ।


अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा एभरेस्ट चिनी मिलका पुराना कर्मचारी मुरारि दुलालका अनुसार तलब समायोजन गर्ने नाममा मिलले वर्षौंदेखि खाईपाई आएको विशेष भत्ता कटौती गरेपछि कर्मचारी आन्दोलनमा उत्रेका हुन् । उनीहरूले ६ सूत्रीय माग राखी माघ १३ गते कालो पट्टी बाँधेर काम गरेका थिए । १४ देखि १६ गते रिले अनशन बसे । त्यसपछि पनि माग सुनवाइ न हुदा १० जना कर्मचारीले एकसाथ आमरण अनशन बस्ने कठोर निर्णय गर्नुपरेको दुलालले जनाए ।


आन्दोलनकारीले उठाएका मागमा खाईपाई आएको भत्ता सबै पाउनुपर्ने, ज्यालादारीका कर्मचारीलाई अस्थायी नियुक्ति दिनुपर्ने, रोकिराखेको बोनस अविलम्ब वितरण गर्नुपर्ने, श्रम शोषण रोक्नुपर्ने, कार्य मूल्याङ्कनको आधारमा जिम्मदारी दिनुपर्ने, विभेदकारी

नीति त्याग्नुपर्ने छन् ।


दुलालका अनुसार कारखानाले यसअघि कार्य सम्पादन मूल्यांकनको आधारमा कर्मचारीलाई प्रोतसाहन गर्न विशेष भत्ता दिंदै आएको थियो । यस्ता भत्ताको रकम २ सयदेखि हजार रुपैयाँसम्म थियो । सरकारले बजेट भाषणमा कामदारको तलब ३ हजार ७ सय रुपैयाँ वृद्धि गरेपछि कारखानाले पनि तलब समायोजन गरी सराकरले तोकेको तलबमान कायम गर्‍यो ।


तर, विशेष (प्रोतसाहन) भत्ता भने परामर्शसमेत नगरी आफूखुसी कट्टा गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको अनशनकारीले जनाए ।

प्रकाशित : माघ २१, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?