कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

१८ सय परिवारलाई खानेपानी अभाव

उपभोक्ताले खानेपानीको महसुल बुझाउन छाडेपछि संस्थानलाई मासिक ३ लाख ५० हजार रुपैयाँ घाटा
शाहीमान राई

जनकपुर — खानेपानीको पाइपलाइन टुटेपछि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका १८ सय घरपरिवार शुद्ध पिउनेपानीको सुविधाबाट वञ्चित छन् । ढल निकासका लागि ड्रेन नाली, सडक विस्तार, मर्मतसम्भार र कालोपत्रे आयोजना निर्माणकार्य गर्दा उनीहरू पिउनेपानीबाट वञ्चित भएका हुन् । 

१८ सय परिवारलाई खानेपानी अभाव

नेपाल खानेपानी संस्थानले ५० वर्षदेखि जनकपुरधाम उपमहानगरबासीलाई घरघरमा वितरण गर्दै आएको पाइपलाइन आयोजनाको निर्माण कार्य गर्दा ठेकेदार एक्जाभेटरले उखेलेर फालेपछि धारा बन्द भएको छ ।


एसियाली विकास बैंकको एक अर्ब ९० करोड रुपैयाँ ऋण सहयोगमा निर्माणधीन जनकपुर उपमहानगरपालिका सहरी विकास आयोजनाअन्तर्गत सडक विस्तार, मर्मतसम्भार, ग्राभेल, कालोपत्रे, ढल निकासका लागि ह्युमपाइप विस्तार र ड्रेन नालीको निर्माण हुँदै छ । धारामा खानेपानी वितरण बन्द भएको दुई वर्ष बितिसक्दा पनि आयोजनाको निर्माणकार्य पूरा नहुँदा संस्थानले उपभोक्ताको धारामा पानी वितरण गर्न नसकेको संस्थानका प्रमुख विनोद मिश्रले बताए ।


संस्थानले जनकपुरधाम उपमहानगरपालिकाका २५ वटा वडामध्ये वडा नं १ देखि १४ सम्म ४ हजार एक सय घरपरिवारलाई शुद्ध पिउनेपानी वितरण गर्दै आएको थियो । यसमध्ये एक हजार ८ सय घरपरिवार उपभोक्ताको धारामा पानी बन्द भएको दुई वर्ष भइसकेको संस्थानका प्रमुख मिश्रले बताए ।

जनकपुरवासीलाई शुद्ध पिउनेपानी वितरण गर्ने उद्देश्यले भारत सरकारको आर्थिक सहयोगमा खानेपानी संस्थानले २०२४ सालमा जनकपुरधाम उपमहानगरपालिका–३ जानकी मन्दिर नजिकै अरगजापोखरी छेउमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरटेंक निर्माण गरी उपभोक्ताको घरघरमा धारा जडान गरी पानी वितरण शुरु गरेको थियो ।


तर अघिल्लो वर्षदेखि एसियाली विकास बैंकको सहयोगमा जनकपुरधाम उपमहानगरपालिका एकीकृत सहरी विकास आयोजनाअन्तर्गत सडक, ड्रेन नाली निर्माण गर्दा खानेपानीको पुराना पाइपलाइन र धारामा पानी वितरण प्रणालीको पूरै संरचना ध्वस्त भएकाले पुन: सञ्चालनमा ल्याउन कठिनाइ भएको खानेपानी संस्थानका सहायक प्रशाशकीय अधिकृत विनयकुमार झाले बताए ।


खानेपानीको पाइपलाइन ध्वस्त पार्दा खानेपानी संस्थानलाई जनकपुरधाम उपमहानगरपालिका, एकीकृत सहरी विकास आयोजना, एडिबिको परामर्शदाता र ठेकेदार कम्पनी कसैले पनि सम्पर्क समन्वय नगरेकाले खानेपानी वितरण प्रणाली र पाइपलाइनमा अत्यधिक क्षति भएको संस्थानका प्रशासकीय अधिकृत झाले गुनासो गरे । खानेपानी बन्द भएपछि उपमहानगरपालिकाको वडा नं १, २, ३ र ४ का उपभोक्ताको धारामा पानी बन्द भएको छ ।


धारामा पानी नआएपछि उपभोक्ताले खानेपानीको महसुल बुझाउन छाडेका छन् । उपभोक्ताले खानेपानीको महसुल बुझाउन छाडेपछि संस्थानलाई मासिक ३ लाख ५० हजार रुपैयाँ घाटा भइरहेको छ । संस्थानले दुई सय मिटर गहिराइबाट डिप बोरिङ (विद्युतीय पम्पिङ) प्रविधिबाट भूमिगत पानी २४ मिटर उचाइमाथि निर्मित ओभरटेंकबाट खानेपानी वितरण गर्दै आएको थियो ।


खानेपानी वितरणको लागि संस्थानले जानकी मन्दिर नजिकै अरगजापोखरी छेउमा निर्मित ४ लाख ५० हजार लिटर क्षमताको पूरानो टेंकी र रामानन्दचोकमा निर्मित ४ लाख ५० हजार लिटर क्षमताको नया ओभरटेंकमा दैनिक ९ लाख लिटर पानी भण्डारण गरी उपभोक्तालाई शुद्ध खानेपानी वितरण गर्दै आएको छ ।


खानेपानीको धारा जडान गरी पानी उपभोग गरेबापत उपभोक्ताले प्रतिधारा न्यूनतम एक सय दस रुपैयाँ बुझाउनुपर्ने व्यावस्था छ तर उपभोक्ताले न्यूनतम महसुलसमेत तिर्न छाडेपछि संस्थानको असुल गर्नुपर्ने बक्यौता रकमको अंक बढेको छ । खानेपानीको महसुल नयाँ पुराना गरी विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, मठमन्दिर र उपभोक्ताबाट दुई करोड रुपैयाँ महसुल बक्यौता असुल्न बाँकी रहेको सहायक प्रशासकीय अधिकृत झाले बताए ।


संस्थानले खानेपानी उपभोक्ताबाट मासिक महसुल सात लाख रुपैयाँ असुल हुने जनाएको छ । खानेपानीको महसुल बक्यौता बढेपछि उपभोक्तालाई घरघरमा गएर महसुल बुझाउन अनुरोध गर्ने, पत्राचार गर्ने र त्यसपछि पनि अटेर गर्नेको धारा काटिदिने गरेको छ ।


खानेपानी संस्थानको पुरानो पाइपलाइन र खानेपानी वितरण प्रणालीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि एकीकृत सहरी विकास आयोजनाले दुई करोड ५० लाख रुपैयाँ खर्च गरी कालोपत्रे गरिएको ९ किलोमिटर सडकको दायाँबायाँ पाइपलाइन ४ इन्च, एक सय दस एमएमको नयाँ एचडीपी पाइप विस्तार गरिदिएको आयोजनाको परामर्शदाता संस्था जेडआईईसी शर्मा–रमन कन्स्ट्रक्सन कम्पनीका परियोजना व्यावस्थापक शत्रुघ्नप्रसाद चौधरीले बताए ।


खानेपानीको पाइपलाइन ३० वर्ष पुरानो भइसकेको र पुरानो प्रविधिको फलामे पाइप मर्मतसम्भार गर्दा ४० लाख खर्च भएको बताए । आयोजना निर्माण कार्य भइरहेको बेला आयोजनाले खानेपानी संस्थानलाई पटकपटक समन्वय गरे पनि बेवास्ता गरेकाले तिव्रगतिमा सडक विस्तारको काम गर्दा बढी क्षति पुगेको जनकपुरधाम उपमहानगरपालिकाका योजना प्रमुख एवं एकीकृत सहरी विकास आयोजनाका सहसंयोजक इन्जिनियर वीरेन्द्रकुमार यादवले बताए ।


उनले संस्थानका पुराना कर्मचारी सरुवा भएर गएकाले खानेपानी संस्थानका नयाँ कर्मचारीले नबुझेको बताए । आयोजनाले क्षतिग्रस्त खानेपानीको पाइपलाइन पुनर्निर्माण गरिदिएकोले टेंकीबाट वितरण प्रणालीको पाइपमा पानी जोडेपछि घरघरमा धारा सुचारु हुने इन्जिनियर यादवले बताए ।


आयोजनाले क्षतिपूर्तिस्वरूप विस्तार गरेको पाइपलाइनमा धारा जडान गर्न कठिनाइ हुने संस्थाले जनाएको छ । पाइपबाट उपभोक्ताको घरको धारासम्म पुग्ने कनेक्सन सिस्टम नै पत्ता लगाउन नसकिने प्रशासकीय अधिकृत झाले बताए । धारामा पानी नआएपछि उपभोक्ताले पानीका लागि चापाकल (पम्पको धारा) जडान गरी वैकल्पिक व्यवस्था गर्न थालेका छन् । पानी उपभोग नगरी न्यूनतम महसुल तिर्न बाध्य उपभोक्ताले संस्थानको धारा कट्टा गर्न निवेदन दिन थालेका छन् ।


संस्थानले धारा कट्टा गर्न माग गर्ने ६० जना उपभोक्ताको धारा काटिएको जनाएको छ । एकीकृत सहरी विकास आयोजनाले अन्तिम चरणको निर्माण पूरा गरेपछि खानेपानीको पाइपलाइन जडान गरी बन्द रहेको धारामा वितरण गर्ने संस्थानले जनाएको छ । खानेपानी संस्थानलाई महसुल असुल गर्न नसक्दा पानी तान्दा मासिक दुई लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल तिर्न मुस्किल छ ।

प्रकाशित : माघ २४, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?