दशकदेखि पोल–तार छ, बिजुली छैन

सन्तोष सिंह

धनुषा — धनुषा, कमला नगरपालिकाको गाउँमा विद्युत् बत्तीका लागि पोल र तार जोडिएको १० वर्षभन्दा बढी भयो । तर, अझै बत्ती बल्न सकेको छैन । गाउँमा बिजुलीको पोल गाडिएको ५ वर्षपछि तार जोडियो । जडान भएको पोल र तार जीर्ण बनेर ढल्न थालेको छ । पूर्वी धनुषाको करिब ६ हजार घर विद्युत्को प्रतीक्षामा छन् ।

दशकदेखि पोल–तार छ, बिजुली छैन

कमला नगरपालिकाको वडा नं. ५, ६ र ७ का करिब ६ हजार घरको बस्तीमा विद्युत् छैन । कमला नगरपालिकाको लक्कर, बलुवाहा, बरेर्वा, सुकोर टरीया, सखुवा मडान, सिंयाही, हथमुण्डा, जगराहा र जागिरका करिब ६ हजार घर विद्युत्बाट वञ्चित छन् । सहितका स्थानीय बिजुली बत्ती बाल्न पाउन सकेको छैन ।


कमला नदीको बाढीले पटकपटक डुबानको समस्या भोगेको यहाँका बस्ती पछिल्लो दस वर्ष बिजुली अभावले विकास गर्न सकेको छैन । बस्ती अझै मट्टितेलले बल्ने टुकीको उज्यालोमा बसेको छ । बिजुली बत्ती नहुँदा सिँचाइ, साना उद्योग र प्रविधिको पहुँचबाट वञ्चित हुनु

परेको छ ।


बैदेशिक रोजगारमा जानेहरूको घरमा मोबाइल चार्ज गर्न सोलार जडान गरिएको छ । गर्मीमा सोलारबाट बत्ती बालिएको भए पनि जाडोमा घाम नलागेपछि मोबाइल चार्ज गर्न समेत समस्या हुने गरेको स्थानीय बताउँछन् । विद्युत् बत्ती नबल्दै पोल र तार ढल्ने थालेपछि गाउँमा बत्ती बल्ने आश समेत स्थानीयले मारिसकेको कमला नगरपालिका–६ का शिक्षक विनोद केसरीले बताए ।


‘पोल र तार ल्याउन ठेक्केदार, राजनीति दल र विद्युतका कर्मचारीले कमिसनको लेनदेनमा गुणस्तरी काम गरेको छैन, शिक्षक केसरीले भने, ‘कति पोल त तार नजोडदै ढल्यो । कति पय पोल तार तन्काउँदा ढल्यो । विकट गाउँमा विद्युत् बाल्ने नाममा नेता, ठेक्केदार र विद्युत्का कर्मचारी मलामाल भए ।’ दलका नेता र कर्मचारीकै स्वार्थका कारण पोल जडान भएको १० वर्ष बित्तिसक्दा गाउँमा बिजुली आउन सकेको छैन, उनले भने ।


‘बिजुली बत्ती नहुँदा मोबाइलको नेटवर्क हुँदैन,’ शिक्षक केसरीले भने, ‘सुगम जिल्लाको बजारमा साँझ उज्यालोका लागि दिनहुँ जेनेरेटर चलाउने बाध्यता छ ।’ मुलुक लोडसेडिङ मुक्त बनाइरहदा सुगम र सहज पहुँच हुने धनुषाबासी विद्युत्को सुविधा समेत पाउन सकेको छैन,’ उनले भने ।


स्थानीय देवु महतोका अनुसार विद्युत् नहुँदा किसानलाई सिँचाइ, विद्यार्थीलाई प्राविधिक पढाइ र व्यवसायीलाई नयाँ व्यापार गर्न समस्या भएको छ । घरघरमा कम्प्युटर र मोबाइल हुनुपर्ने समय आए पनि यहाँ पढ्ने विद्यार्थी कम्प्युटर देख्न पाएका छैनन् । बिजुली बत्ती नभएका कारण सोलारबाट मोबाइल चार्ज गर्दा शुल्क तिर्नु परेको स्थानीय मनोज कुमारले बताए ।


संविधानसभाको पहिलो र दोस्रो चुनावमा यहाँका उम्मेदवारले गाउँगाउँमा बिजुली ल्याउने प्रतिबद्धता जनाएका थिए । गत वर्ष सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारले समेत गाउँमा विजुली ल्याउने प्रतिबद्धता जनाए र मत मागेर विजय भए । तर स्थानीय तहमा निर्वाचित भएको १ वर्षभन्दा बढी भए पनि स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका निर्वाचित जनप्रतिनिधिले विजुलीका लागि कुनै पहल भने गरेको छैन ।


कमला नगरपालिका–५ का वडा अध्यक्ष शिव पासवानले विद्युत् ल्याउन पहल निरन्तर घचघचाइरहेको बताए । वडाको लक्कर, बलुवाहा, बरेर्वा, सुकोर टरिया गरी ५ गाउँका २ हजार घरपरिवार विजुली सुविधाबाट वञ्चित भएको पासवानले बताए । पुरानो पोल र तार काम लाग्ने अवस्थामा नै छैन, वडा अध्यक्ष पासवानले भने, ‘खुद्रा बजेट ल्याएर खुद्रा–खुद्रा काम गरेको भए पनि काम लाग्ने अवस्थामा छैन ।’ विद्युत्का लागि नगरपालिका र विद्युत् कार्यालयमा निरन्तर पहल गरिरहेको उनले बताए ।


सखुवा र मडान २ गाउँ रहेको कमला नगरपालिका–६ मा १५ सयभन्दा बढी घर विजुली बिजुली सेवा पाएको छैन । उनीहरूलाई बैशाख महिनासम्म बिजुली बाल्ने व्यवस्थामा लागेको वडा अध्यक्ष सम्शुल मियाँले बताए । वडा नं. ७ मा पर्ने सिंयाही, हथमुण्डा, जगराहा र जागिरका १ हजार ९ सयभन्दा बढी घर विद्युत्बाट वञ्चित छन् । वडा अध्यक्ष तपेश्वर यादवले विद्युत् ल्याउन पहल गरिरहेको बताए ।


कर्मचारी अभावमा बचेट समेत खर्च गर्न नसकेको कमला नगरपालिकाले विद्युत् सेवाबाट वञ्चित ३ वटा वडाका लागि पहल गरेको छैन । कमला नगरपालिकाका मेयर रामउदगार गोइतले तीन वटै वडामा बिजुली ल्याउन विद्युत् प्राधिकरण ठेक्का प्रक्रिया सुरु गरेको बताए ।

प्रकाशित : माघ २५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?