कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलीय उल्झनमा गाउँपालिका

भरत जर्घामगर

सिरहा — आर्थिक वर्ष सुरु भएको ८ महिना बितिसक्दा पनि दलीय उल्झन र खिचातानीका कारण सिरहाको सीमावर्ती (कोर मधेस) का दुई गाउँपालिकाको गाउँसभा हुन सकेको छैन । गाउँसभा नहुँदा स्थानीय जनता विकासबाट वञ्चित भएका छन् नै । साथै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाभत्ता, बालपोषण भत्ता पाउनबाट समेत वञ्चित छन् ।

तराई मधेसको सुगम जिल्ला भए पनि सदियौंदेखि विकास र शिक्षाबाट वञ्चित रहँदै आएको सिरहाको दक्षिण सीमावर्ती गाउँपालिका भगवानपुर र नरहाका सर्वसाधारण डेढ वर्षअघि भएको निर्वाचनबाट जनप्रतिनिधि चुनिएपछि विकासले गति लिने विश्वासमा थिए ।


तर निर्वाचित जनप्रतिनिधि नै दलीय उल्झन र खिचातानीमा अग्रसर हुन थालेपछि ती गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् । खिचातानी कै कारण आर्थिक वर्ष सुरु भएको ८ महिना बितिसक्दा पनि गाउँसभा हुन सकेको छैन । गाउँसभा नभएकै कारण ती गाउँपालिका विकास निर्माणका काम अवरुद्ध हुन पुगेको छ ।


जनप्रतिनिधि नै दलीय नेकपा र संघीय समाजवादी फोरममा विभाजित भएपछि जुंगाको लडाइँका कारण गाउँसभा हुन नसकेको स्थानीयले गुनासो गरे । उनीहरूले गाउँसभा नहुँदा दुई पार्टीको चेपुवामा परेको र विकासबाट वञ्चित हुनुपरेको गुनासो गरे ।


भगवानपुर गाउँपालिकाका स्थानीय नीलाम्बर यादवले दलीय भागबण्डामा जनप्रतिनिधि विभाजित भएपछि समयमा गाउँसभा हुन नसक्दा सिंगो गाउँपालिकाको विकास प्रभावित भएको बताए । ५ वडामा विभाजित भगवानपुर गाउँपालिकामा गाउँपालिका अध्यक्ष वेचन प्रसाद यादव सहित वडा नम्बर १ र ३ मा वडाध्यक्ष संघीय समाजवादी फोरमले जितेको छ । त्यसैगरी वडा नम्बर २, ४ र ५ मा वडाध्यक्ष एमालेबाट निर्वाचित छन् ।


गाउँपालिका अध्यक्ष यादवसँग बहुमत नभएकै कारण गाउँसभा गराउन सकेका छैनन् । भगवानपुर गाउँपालिका अध्यक्ष वेचनप्रसाद यादवले गाउँसभाका लागि प्रयास भइरहेको जानकारी दिए । उनले समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितसहित मन्त्रालयमा समेत जानकारी गराएर पहल भइरहेको जानकारी दिए ।


त्यस्तै समस्या नरहा गाउँपालिकामा पनि छ । ५ वडा रहेको नरहा गाउँपालिकामा गाउँपालिका अध्यक्ष रामशरण यादवसहित उपाध्यक्ष र वडा नम्बर १ र ४ मा वडाध्यक्ष तत्कालीन एमालेबाट निर्वाचित छन् । वडा नम्बर २ मा कांग्रेस, ३ मा राजपा र ५ नम्बर वडाध्यक्ष तत्कालीन माओवादीबाट निर्वाचित छन् ।


नरहामा समेत बहुमत नभएकैं कारण गाउँसभा हुन सकेको छैन । यद्यपि नरहा गाउँपालिकाले गाउँसभाको तयारी भइरहेको जनाएको छ । नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले गाउँसभाका लागि सहमति पहल भइरहेको जानकारी दिए ।


प्रमुख प्रशासकीय अधिकृत भवेश झाले सहमति प्रयास भइरहेकाले माघ २९ गते गाउँ सभाको बजेट सार्वजनिकीकरणको तयारी भइरहेको जानकारी दिए । नरहा गाउँपालिकामा १९ करोड रुपैयाँ बजेट सार्वजनिकीकरण गरिने उनले जानकारी दिए ।


भगवानपुर गाउँपालिकाका प्रशासकीय अधिकृत दिपेन्द्र यादवले आसरमा नै हुनपर्ने गाउँसभा राजनीतिक खिचातानीको कारण अहिलेसम्म हुन नसक्दा विकास निर्माण लगायत गाउँपालिकाको काम अवरुद्ध भएको बताए । गाउँसभा नहुँदा अर्थिक वर्ष ०७५/०७६ को करिव ३०करोड रुपैयाँभन्दा बढी रकम फ्रिज भएर जाने सम्भावना बढेको छ ।

प्रकाशित : माघ २६, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?