कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हराउँदै हलोखडा

श्यामसुन्दर शशि

जनकपुर — वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको दिन गाउँमा दुई फरक दृश्य देखिन्थियो । विद्यार्थी सरस्वती पूजामा तल्लिन हुन्थे भने किसानको घरमा हलोखडा गर्ने चटारो हुन्थ्यो । 

सरस्वती पूजनोत्मवमा क्रमश: भव्यता थपिए पनि कृषि वर्षको स्वागतमा आयोजन हुने ‘हलोखडा’ गर्ने परम्परा भने विस्थापित हुँदै छ ।


१० वर्षअघिसम्म हंसपुर नगरपालिका २ बघचौडाका कम्तीमा ५० किसानको प्रांगणमा हलोखडा हुन्थ्यिो । ५ वर्ष पूर्व घटेर दशमा झर्‍यो । यस वर्ष भने एउटै किसानको आँगनमा अरिपन बनाइन् । हलोखडा भएन । किसानहरू हलो लिएर खेतसम्म पुगेनन् ।


मिथिलाञ्चलमा श्रीपञ्चमीको दिनदेखि कृषि वर्ष प्रारम्भ हुन्छ । कृषि वर्षको स्वागतमा भूपति (किसान) हरू अ–आफ्ना आँगनमा हलोखडा गर्थे । आँगनमा पिठार (चामलको पिठोको झोल) र सिन्दुरले अरिपन बनाइन्थ्यिो । हलो आकारको अरिपनमा हलो राखिन्थ्यिो ।


हलोलाई धानले पुरिन्थ्यिो । हरवाह हलो उठाएर खेतसम्म पुग्थे । पछिपछि लोटामा पानी र हातमा कोदालो बाकेका कृषक (भूपति) पनि जान्थे । अढाई मोड खेत जोतेर विधिवत कृषि वर्ष प्रारम्भ गरिन्थ्यिो । मिथिलाका तत्कालीन राजा जनकले अढाई मोड हलो जोतेपछि सीताको जन्म भएको मान्यता छ ।


यसै दिनदेखि हलो जोत्ने हरवाह, कृषि उपकरणको मर्मत गर्ने लोहार (काठ र फलामको काम गर्ने), कपाल काट्ने हजाम, लुगा धुने धोवी, पूजा पाठ र बिहे–वारीमा फूल आपूर्ति गर्ने माली, बाँसको सामान आपूर्ति गर्ने डुम लगायतसँग वार्षिक समझदारी पनि गरिन्थ्यिो । वर्षभरि अ–आफ्ना पेसाअनुसारको काम गरे बापत सम्बन्धित किसानसँग वार्षिक अन्न वा नगद दिने समझौता हुन्थ्यिो । जसलाई स्थानीय भाषामा पौनी–पसारी पनि भनिन्छ ।


वर्षभरि एउटै किसानको खेतमा काम गर्ने कृषि मजदुर चारदेखि ६ कट्ठासम्म जग्गा पाउँथे । जग्गाको उत्पादन कृषि मजदुरकै हुन्थ्यो । यसको अतिरिक्त वर्षभरि काम गरेको मजदुरी पनि दिइन्थ्यिो । सम्झौता गरेको मजदुर किसानले काम लगाएसम्म वर्षभरि अरूको खेतमा काम गर्न पाउँदैनन् । स्थानीय भाषामा यसलाई जनौरी वा हरवाह भनिन्छ ।


तर कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै हलो विस्थापित भएको छ । अचेल खेत जोत्न, धान,गहुँ लगायतका अन्न दाइँ गर्न, कृषि उपज ओसार–पसार गर्न ट्रयाक्टरको प्रयोग हुन थालेको छ । सिँचाइ गर्न, बाली गोडमेल गर्न लगायतका अन्य काम पनि आधुनिक औजारकै प्रयोग गरिन थालेको छ ।


कामदारहरू कृषि क्षेत्रमा भन्दा वैकल्पिक रोजगारीलाई प्राथमिकता दिन थालेका छन् । वैदेशिक रोजगारीले कृषि मजदुरको आभाव भएको छ । बघचौडाका लटु कापरले भने, ‘अहिले किसानको गोठमा गोरु छैन । गोरु नै नभएपछि हलो राख्ने कुरै भएन । वैदेशिक रोजगारीले कृषि मजदुरको आभाव भएको छ । हलो र हरवाह (हलो जोत्ने) नै नभए पछि हलोखडा गर्ने कुरै भएन ।’


बहसमा हलोखडा

हलोखडा गर्ने परम्परालाई एकथरि अभियन्ताले हरुवाचरुवा जस्ता कुप्रथासँग जोडेर व्याख्या गर्छन् भने अर्को थरिले मिथिलाको आदिकालीन कृषि संस्कृतिसँग । हरवा–चरवा सशक्तीकरण कार्यक्रमका प्रमुख संजयकुमार साह हलोखडा गर्ने परम्परालाई हरवा–चरवा बनाउने दिनका रूपमा व्याख्या गर्छन् ।


‘यसै दिन हरवा चरवाको वार्षिक समझौता हुन्छ । स्वतन्त्र मानिसलाई वंघुवा मजदुर बनाउने परम्परालाई कसरी राम्रो भन्ने ?’ साहले भने । त्रिभुवन विश्वविद्यालय मैथिली शिक्षण विभागका पूर्वअध्यक्ष प्रमेश्वर कापडि हलोखडा गर्ने परम्परालाई मिथिलाको आदिकालीन कृषि संस्कृतिको निरन्तरता भनेका छन् ।


‘हरवा–चरवा वा जनौरी प्रथा अन्त्य हुनुपर्ने कुरामा दुई मत छैन तर कृषि संस्कृतिलाई निरन्तरता दिने कि नदिने ? भूमि पूजा गर्ने कि नगर्ने ?’ कापडि भने ।

प्रकाशित : माघ २८, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?