किशोरीलाई आत्मरक्षा तालिम

अवधेशकुमार झा

राजविराज — नगरपालिकाभित्रका किशोरीलाई आफनो सुरक्षाप्रति सक्षम बनाउन सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले आत्मरक्षा तालिम दिन सुरु गरेको छ ।

किशोरीहरू एक स्थानबाट अर्को स्थान एक्लै जाँदा उनीहरूको सुरक्षामा खतरा हुन सक्ने विभिन्न घटनाहरू मुलुकमा भएकाले आत्मरक्षा तालिम दिन सुरु गरिएको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए ।


हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रभित्र रहेको संस्थागत र सामुदायिक गरी कुल ९ वटा माध्यमिक विद्यालयमा चार सय किशोरीलाई उक्त तालिम दिन सुरु गरिएको प्रमुख साहले बताए ।


हनुमाननगर कंकालिनी नगरपालिका तथा डा. सञ्जयकुमार फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको उक्त तालिममा १० महिनासम्म किशोरीहरूलाई कराँते लगायतका आत्मरक्षासम्बन्धी तालिम दिइनेछ । तालिममा कक्षा ८ देखि १० सम्मका किशोरीहरूको सहभागिता छ ।


तालिमका लागि नगरपालिकाले पाँच लाख विनियोजन गरेको छ । ‘अहिले पाँच लाख दिएका छौं,थप लागे अरू रकम पनि नगरपालिकाका तर्फबाट व्यवस्थापन मिलाउछौं,’ नगरप्रमुख साहले भने, ‘किशोरीहरूलाई आफ्नो सुरक्षाप्रति आफैं सवल बनाउँदै आत्मनिर्भर बनाउने दिशामा एउटा फड्को मार्ने उद्देश्यले तालिम सञ्चालन गरेका छाैं ।’


तालिममा किशोरीहरूले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन् । छोरीले आफ्नो रक्षा आफैं गर्न सक्ने गरी ‘फुल कन्टयाक्ट कराते’ तालिम दिइरहेको तालिमका प्रमुख बैद्यनाथ यादवले बताए । अहिले चारवटा केन्द्रमा उक्त तालिम सञचालन भइरहेको छ ।


कंकालिनी मावि पोर्ताहा, रोयल मावि पोर्ताहा र सरस्वती मावि भारदह तथा एभरेस्ट इंगलिस बोर्डिङ स्कुल हनुमाननगरमा गरी चारवटा केन्द्र तोकी उक्त तालिम सञ्चालन भइरहेको यादवले बताए । विभिन्न फरकफरक समयमा चारवटै केन्द्रमा किशोरीहरूलाई तालिम सञ्चालन गरिएको छ ।


तालिमका लागि एउटा महिला र एउटा पुरुष गरी दुई जना प्रशिक्षक रहेको छ । ‘छोरीलाई कमजोर भन्ने सामाजिक मासिकतालाई चिर्दे उनीहरू पनि आफ्नो सुरक्षा आफैं गर्न सक्छन् भन्ने सन्देश सँगै उनीहरूलाई सवल बनाउने उद्देश्य हो,’ नगरप्रमुख साहले भने, ‘तालिम सञ्चालन भएपछि सहभागी किशोरीहरू त उत्साही छन् नै अभिभावकहरूको पनि राम्रो सहयोग र सद्भाव समेत पाइरहेका छौं ।’ ‘किताबी पढाइसँगै आत्मसुरक्षा र अन्य विषयमा पनि छोरीलाई दह्रो बनाउनु जरुरी छ,’ साहले थपे ।

प्रकाशित : माघ २९, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?