अब शुक्रबार पनि दिनभरि स्कुल

अवधेशकुमार झा

राजविराज — प्रदेश २ को सरकारले शुक्रबार पनि अनिवार्य रूपमा ४ बजेसम्म विद्यालय सञ्चालन गर्न प्रदेशका विद्यालयलाई निर्देशन दिएको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले माघ २१ गते प्रदेश भित्रका सबै विद्यालयहरूलाई पत्राचार गरी शुक्रबार पनि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।


‘शुक्रबार पनि ४ बजेसम्म अनिवार्य रूपमा विद्यालय सञ्चालन गरी समुदायमा भएका विभिन्न क्षेत्रका प्रतिभा,अनुभवी र विज्ञहरू समेतको सहयोग लिई सम्पूर्ण शिक्षक,विद्यार्थीको सहभागितामा सहक्रियाकलापहरू सञ्चालन गर्न अनुरोध छ,’ प्रदेश २ को शिक्षा विकास निर्देशनालयले जारी गरेको परिपत्रमा उल्लेख छ । यसअघि शुक्रबार मध्यान्ह साढे १२ बजेसम्म विद्यालयको पढाइ हुने गरेको थियो ।


‘यसअघि पनि विद्यालयहरू शुक्रबार पढाइपछि सह क्रियाकलाप गर्न ४ बजेसम्मै खोल्ने प्रावधान थियो,’ शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख शंकर लुइँटेलले भने, ‘अब कडाइकासाथ कार्यान्वयन गरिनेछ ।’


केही विद्यालयहरूको अनुगमन गर्दा बिहान १० बजे खोलिएको पाइए पनि कक्षा भने साढे १० बजेदेखि मात्र सञ्चालन गरेको पाइएको प्रति पनि निर्देशनालयले पाठ्यक्रममा पाठ्यभार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कक्षा सञ्चालन गर्ने गरी निर्माण गरिएको विषयबारे समेत विद्यालयहरूलाई सचेत गराएको छ ।


प्रदेश नम्बर २ का विद्यार्थीको सिकाइको उपलब्धि वृद्धि गर्न थप समयमा समेत सिकाइको कार्य गर्नुपर्ने निर्देशनालयले औंल्याएको छ ।


निर्देशनालयले बिहान ९ बजेर ४५ मिनेटमा शिक्षक र विद्यार्थी उपस्थित हुनुपर्ने, ९ बजेर ४५ मिनेटमा विद्यार्थीलाई लाइनमा लाग्न जनाउदिने, ९ बजेर ५० मिनेटमा लामबद्ध बनाएर शारीरिक क्रियाकलाप गराउने,राष्ट्रिय गान गाउने भनेको छ । १० बजे कक्षामा शिक्षक र विद्यार्थी उपस्थित भई शिक्षण सिकाइको कार्य सुरुवात गर्न आग्रह गरेको छ ।

प्रकाशित : माघ २९, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?