१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजमार्ग पोस्टमा छैनन् सशस्त्र प्रहरी

सशस्त्रले राति जंगलमा गस्ती गर्न थालेपछि यात्रु र चालकले सुरक्षित महसुस गरेका थिए । एकाएक पोस्ट हटाइयो ।
शिव पुरी

रौतहट — सशस्त्रको बारा, सर्लाहीको बाँके र महोत्तरीको जंगल क्षेत्रमा राजमार्ग सुरक्षार्थ पोस्ट राखिएको छ । रौतहटको लमाहा जंगलमा भएको पोस्ट हटाइएको छ । दुई वर्ष बढी समयदेखि यहाँ खाली रहेको पोस्टमा सुरक्षाकर्मी बसेका छैनन् ।

पोस्ट बेवारिसे भएको छ । दसैं, तिहार, छठ लगायतको पर्वका बेला इलाका प्रहरी चन्द्रनिगाहपुर र सशस्त्र प्रहरीको सन्तपुर बेसले राति र दिउँसो गस्ती गर्दै आएको छ ।


पर्वका बेला बाराको जंगलमा ठाउँठाउँमा सशस्त्रको पोस्ट स्थापना गरिन्छ । चन्द्रनिगाहपुर–धनसार खण्डको जंगलमा पोस्ट राख्न स्थानीय नेताले सशस्त्रलाई अनुरोध गर्दै आएको छ । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । नेकपाका केन्द्रीय सदस्य युवराज भट्टराईले लमाहा जंगल सुरक्षाका दृष्टिकोणले संवेदनशील भएकाले सशस्त्रको एउटा टुकडी राख्न अनुरोध गरेको बताए ।


‘मैले सशस्त्रको एउटा टुकडी भए पनि जंगलमा राखाैं भनेको छु,’ उनले भने, ‘यसबारे सशस्त्रले तयारी गरेको होला । यो क्षेत्रमा सुरक्षाकर्मी राख्न अत्यन्तै जरुरी छ ।’ सशस्त्र प्रहरीको चन्द्रनिगाहपुरस्थित जंगल छेउको बेस पनि हटाइएको छ । बेस हुँदा राजमार्ग गस्ती निरन्तर हुन्थ्यो ।


लमाहा जंगलमा झन्डै ४ वर्षसम्म पोस्ट राखिएको थियो । त्यही बेला पोस्टमा हात्तीले आक्रमण समेत गरेको थियो । हात्तीले सुरक्षाकर्मीको खाद्यान्न नष्ट गरेको थियो । त्यसपछि हात्तीबाट जोगिन पोस्ट वरिपरि स्काभेटर लगाएर खाडल बनाइएको थियो ।


सशस्त्रले जंगलमा राति गस्ती गर्न थालेपछि यात्रु र चालकले सुरक्षित महसुस गरेका थिए । एकाएक पोस्ट हटाइयो । त्यस स्थानमा खानेपानी र विद्युतको अभाव थियो । सशस्त्रले खोलामा कुवा खनेर पानी निकाल्थ्यो । त्यहीं पानी पिउथे । सशस्त्र प्रहरीको २ नम्बर प्रदेशका प्रमुख डीआईजी प्रदिप श्रेष्ठले राजमार्गमा पोस्ट राख्नेबारे छलफल भइरहेको बताए ।


‘पहिला राखिएको पोस्ट किन हटाइयो भन्ने बुझ्दै छु,’ उनले भने, ‘पोस्ट राख्न सकिने वा नसकिने भन्ने गृहकार्य भइरहेको छ ।’ पर्वका बेला सशस्त्रले गाडीबाट राति गस्ती गर्दै आएको छ । पोस्ट रहेको नजिक कैयांैपटक यात्रु लुटिएको थियो । पूर्वको बर्दिबास र पश्चिमको पथलैयासम्मको जंगल यात्रा निकै जोखिम हुन्थ्यो । पछिल्लो समय लुटिने क्रम रोकिए पनि ढुक्क हुने अवस्था नरहेको चालकहरू बताउँछन् ।


चन्द्रनिगाहपुरबाट बाराको सीमा क्षेत्रअन्तर्गत धन्सारको दूरी १३ किलोमिटर जंगल क्षेत्र पर्छ । पूर्वतर्फ बागमती क्षेत्रको दूरी पनि १३ किलोमिटर जंगल पर्छ । यहाँस्थित पौराई क्षेत्रको जंगल सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिँदै आएको छ । पश्चिमको लमाहा र

धन्सार नजिकको लच्का क्षेत्र झनै असुरक्षित मानिन्छ ।


७ वर्षअघि हतियारधारी समूहले लामाहा जंगलमा उद्योगपती दिवाकर गोल्छा सहितको टोलीलाई लुटेको थियो । लुटपाटको घटना थाहा पाउना साथ पुगेको तत्कालीन प्रहरी निरीक्षक जनक भट्टराई सहितको टोलीसितको मुठभेटमा सहनी थरका एक डाँका मारिएका थिए । त्यसपछि यस क्षेत्रमा लुटपाटका घटना रोकिएको थियो ।


भट्टराई हाल एसएसपी छन् । दिनहुँ रात्रि बस लुटिन थालेपछि प्रहरीलाई समेत चुनौती थपेको थियो । पथलैया वा हेटांैडाबाट यात्रु बनेर आउने समूह नै सशस्त्र लुटेरा हुन्थे ।


जंगल क्षेत्र आएपछि उनीहरूले पेस्तोल देखाएर चालकलाई जंगलभित्र बस लैजान लगाउथे । त्यसपछि निर्धक्कले लुट्थे । त्यसै बेलादेखि बर्दिबासदेखि पथलैयासम्मको जंगलमा सशस्त्रले पोस्ट राखेको थियो । सर्लाहीको बाँके जंगलमा समेत पटकपटक लुटपाटको घटना हुन्थ्यो ।


अहिले बाराको धन्सार, सर्लाहीका बाँके र महोत्तरीको जंगलमा तैनाथ पोस्टमा सशस्त्र बसेको छ । यहाँ पोस्टबाट सशस्त्र हटेपछि राखिएको छैन । सशस्त्र प्रहरीको पथलैयामा रहेको रुद्र बाहिनीका प्रमुख रहेको बेला तत्कालीन डीआईजी शैलेन्द्र खनालले राजमार्ग सुरक्षालाई प्राथमिकतामा राखेका थिए ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?